राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु। सर्वसाधारणले दुःख पाउने गरी कुनै कार्य गर्नेछैन।’ नेपाली कांग्रेसका तत्कालीन नेता रामचन्द्र पौडेलले फागुन २५ गते राष्ट्रपतिमा मत माग्दै गर्दा दिएको अभिव्यक्ति हो यो। संघीय संसद्बाट भारी मतसहित राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार मुलुकको सर्वोच्च पद राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार दिउँसो आयोजना गरिएको विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। त्यसलगतै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदा गर्दै पौडेलले राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
२०६५ जेठ १५ गते मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि तेस्रो राष्ट्रपतिको जिम्मेवारीमा पुगेका पौडेलका लागि अब सबैभन्दा ठुलो चुनौती फागुन २५ गते आफैंले दिएको अभिव्यक्ति पूरा गर्नु हुनेछ। पहिलो र दोस्रो राष्ट्रपति संवैधानिक सीमाभित्र बस्न नसकेको र राजाकै भद्दा नक्कल गरेको भन्दै आलोचना हुँदै आएको छ। २४० वर्ष लामो राजतन्त्र अन्त्यपछि आम जनताले मुलुकको राष्ट्राध्यक्ष (राष्ट्रपति) सामान्य र सरल हुने आम बुझाइ थियो। गणतन्त्र आएपछि पनि तत्कालीन राजाहरूकै कार्यशैलीलाई राष्ट्रपतिहरूले अवलम्बन गर्दै आएका छन्। राष्ट्रपतिको सवारीका नाममा घन्टौं बाटो बन्द गरेर जनतालाई दुःख दिएको भन्दै त्यसको तीव्र आलोचना हुँदै आएको छ। नयाँ राष्ट्रपति पौडेल सार्वजनिक कार्यक्रममा जाँदाआउँदा विगतको परम्परालाई निरन्तरता दिन्छन् कि परिवर्तन गर्छन्, त्यो नै राष्ट्रपतिका रूपमा उनको पहिलो परीक्षा हुनेछ।
पौडेल ६ दशक लामो कांग्रेस राजनीतिमा सक्रिय रहे। उनले कुनै बेला पार्टीभित्र गुटको समेत नेतृत्व गरे। राष्ट्रपतिको जिम्मेवारीमा पुगेका पौडेलका लागि पुरानो पार्टीभित्रको गुट वा पार्टीको होइन, सबैको साझा बन्ने चुनौती छ। पहिलो र दोस्रो राष्ट्रपतिमाथि सबैको साझा बन्न नसकेको आरोप लाग्दै आएको छ। पार्टीगत स्वार्थमा संविधान र कानुनको बेवास्ता गर्दा दुवै राष्ट्रपतिको कार्यकाल विवादरहित बन्न सकेन।
पहिलो राष्ट्रपति रामवरण यादवले मन्त्रिपरिषद्को निर्णयलाई उल्ट्याउँदै तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई थमौती गरेका थिए। तत्कालीन सरकारको नेतृत्व गरेको माओवादीबाहेक २२ दलको आग्रह र शक्तिकेन्द्रहरूको दबाबमा यादवले राजनीतिक निर्णय लिँदै मन्त्रिपरिषद्को निर्णय उल्ट्याएका थिए। त्यसले दोहोरो सरकारको अभ्यास भएको जनाउँदै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गरेका थिए। प्रधानमन्त्रीबाट राजीनामा गरेपछि दाहाल राष्ट्रपति यादवलाई भेट्न पाँच महिनासम्म शीतल निवास फर्केनन्। त्यसपछि पनि यादवलाई हेर्ने माओवादी दृष्टिकोण सकारात्मक बन्न सकेन। संविधान निर्माण र संविधान जारी गर्नेक्रममा पनि तत्कालीन राष्ट्रपति यादवको भूमिकालाई लिएर सरकार र राजनीतिक दल सन्तुष्ट थिएनन्।
दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वपार्टी एमालेभित्रको पनि गुटको पक्षमा काम गरेको आरोप लाग्दै आएको छ। संविधान र कानुनको संरक्षक र पालकभन्दा त्यसको विपक्षमा आफूलाई प्रस्तुत गरेको आरोप उनीमाथि लाग्दै आएको छ। प्रतिनिधिसभा विघटन गर्ने केपी ओली नेतृत्व सरकारको सिफारिसलाई भण्डारीले सदर गरेपछि शीतल निवासमै आयोजना गरिएका कतिपय कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनसमेत उपस्थित भएनन्। प्रतिनिधिसभा विघटन गर्ने दोस्रो निर्णयलाई सर्वोच्च अदालले बदर गरिदिएको थियो। अदालतको आदेशअनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र शपथ गराएकी भण्डारीले बधाई पनि नदिई आफ्नो असन्तुष्टि सार्वजनिक रूपमै प्रकट गरेकी थिइन्।
राजनीतिक पृष्ठभूमिबाट आएका राष्ट्रपतिले आफूलाई संविधानको संरक्षक र पालकका रूपमा प्रस्तुत गर्नुपर्ने हो, मन्त्रिपरिषद्को सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने हो। तर विगतका राष्ट्रपतिले सरकारको विस्तार र संवैधानिक अंगहरूमा भाग मात्र होइन, पूर्वपार्टी र अझ गुटको राजनीतिमा समेत हस्तक्षेप गरेको आरोप भण्डारीले खेप्नुपरेको छ।
नयाँ राष्ट्रपति पौडेललाई दलीय र संवैधानिक दायराभित्र रहेर राष्ट्राध्यक्षको जिम्मेवारी निर्वाह गर्ने चुनौती छ। संविधानको धारा ६१ को २ ले राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्था गरेको छ। निजले यस संविधान र संघीय कानुनबमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ भनी त्यसमा उल्लेख गरिएको छ। साथै उपधारा ३ ले राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने पनि जनाएको छ। राष्ट्रपति निर्वाचनमा पौडेलको विपक्षमा उभिएको नेकपा एमालेका साथै मतदानमा सहभागी नभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता–कार्यकर्ताको मात्र होइन, उक्त दलको भावनालाई प्रतिनिधित्व गर्ने दलसँग जोडिएका जनताको पनि राष्ट्रपति बन्न सक्नुपर्छ। संविधानसभाबाट संविधान जारी गर्दाकै बेला असन्तुष्ट आदिवासी जनजाति, मधेसी, महिला, दलितसहितको समुदायको पक्षमा पनि राष्ट्रपतिले आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ।
व्यवस्था फेरिए पनि जनताको अवस्थामा कुनै परिवर्तन आएको छैन। आम जनतामा अहिलेको नेतृत्व र शासन व्यवस्थाप्रति वितृष्णा तीव्र बन्दै गएका बेला नयाँ राष्ट्रपतिले संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, संवद्र्धन मात्र होइन जनतामा आशा र भरोसाको सञ्चार भर्न सक्नुपर्छ। सरकारको काममा हस्तक्षप होइन देश, जनता र परिवर्तनको पक्षमा सकारात्मक सुझाव राष्ट्रपतिले दिन सक्छन्। कांग्रेस महामन्त्री गगन थापाले भनेजस्तो राष्ट्रपतिले राजनीतिमा चकचक होइन, मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट ‘ब्रिफ’ लिने र सुझाव दिने परम्पराको विकास राष्ट्रपति आफैंले गर्न सक्नुपर्छ।
संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिको भूमिकामा पुगेका पौडेल अब सिक्ने होइन, विगतमा बसेका गलत परम्परालाई सच्याउने हिसाबले अघि बढ्न सक्नुपर्छ। राष्ट्रपति देशका लागि ‘सेतो हात्ती’ होइन जनताको साझा चौतारीका रूपमा विकास गर्न सके मात्र संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधानको सुदूर भविष्य सुनिश्चित हुनेछ। संवैधानिक राष्ट्रपति भए पनि देश र जनताको हितमा मुलुकको राष्ट्राध्यक्षका रूपमा राष्ट्रपतिसँग सुषुप्त अधिकार हुन्छ, त्यसको दुरूपयोग गरेर शक्ति आर्जन गर्ने नभई व्यवस्था र जनताको अवस्था परिवर्तन ल्याउनमा राष्ट्रपति अग्रसर हुनुपर्छ।
पौडेलले लिए शपथ, भण्डारी छोरीको घरमा
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका छन्। संवैधानिक व्यवस्थाअनुसार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथलगत्तै पौडेलले राष्ट्रपति कार्यालयमा राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेका छन्। राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै पौडेलले सहिद पार्क आएर सहिदहरूप्रति सम्मान प्रकट गरेका छन्।
नयाँ राष्ट्रपतिमा पौडेलको शपथ लिएलगत्तै २०७२ कात्तिक १२ गते पहिलोपटक राष्ट्रपतिको जिम्मेवारीमा पुगेकी विद्यादेवी भण्डारी दोस्रो कार्यकाल पूरा गर्दै शीतल निवासबाट बाहिरिएकी थिइन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उपहारसहित बिदाइ गरेका थिए। निवर्तमान राष्ट्रपतिलाई बिदाइ गर्न राष्ट्रपति पौडेल, प्रधानमन्त्री दाहालसहितका विशिष्ट व्यक्ति गाडीसम्म पुगेका थिए। भण्डारीलाई नेपाली सेनाको रिसल्लासहितको टोलीले राष्ट्रपति कार्यालयको गेटसम्म छाडेको थियो। राष्ट्रपतिको कारगेटले भण्डारीलाई छोरीको निवास बालुवाटारमा छाडेको थियो। भण्डारीको निजी निवासको मर्मत भइरहेकाले केही समय भण्डारी छोरीकै घरमा बस्नेछिन्।
२०७४ फागुन २९ गते राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हालेकी भण्डारीको कार्यकाल सकिन लागेपछि निर्वाचन निर्वाचन आयोगले फागुन २५ गते नयाँ राष्ट्रपति निर्वाचन गरेको थियो। निर्वाचनमा आठ दलीय गठबन्धनको समर्थन पाएका पौडेल एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै राष्ट्रपति निर्वाचित भएका थिए। संवैधानिक व्यवस्थाअनुसार भण्डारीको पाँच वर्षे कार्यकाल सकिएलगत्तै सोमबार शीतल निवासमा नयाँ राष्ट्रपतिको शपथ आयोजना गरिएको थियो। शपथ कार्यक्रममा उपराष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष, कामु प्रधानन्यायाधीश, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक अंग, कूटनीतिक नियोगका प्रमुखसहितका व्यक्तिहरूको उपस्थिति थियो।
विगतको तुलनामा शपथ ग्रहण कार्यक्रम निकै संक्षिप्त रह्यो। नवनिर्वाचित राष्ट्रपति पौडेल शपथ लिने क्रममा अलमलमा परेका थिए। कामु प्रधानन्यायाधीशले शपथ सुरु गरे पनि पौडेल भने नरोकीकन अघि बढेका थिए। नेपाली सेनाका अधिकारीले उनलाई सम्झाएपछि फेरि शपथ सुरु गरिएको थियो। माइकमा पनि प्राविधिक समस्या देखिएपछि केही अलमल भएको थियो।
नयाँ राष्ट्रपतिको शपथलगत्तै निवर्तमान भएकी भण्डारीले कुर्सी साट्दै कार्यक्रमस्थलबाट बाहिरिने संकेत गरेकी थिइन् तर राष्ट्रपति कार्यालयको व्यवस्थापन कमजोरीले त्यहाँ पनि केही अलमल देखिएको थियो। कुर्सी नै नसाटी नेपाली सेनाको टुकडीले नयाँ राष्ट्रपतिका लागि सलामी दिएको थियो। त्यसपछि भण्डारी आफैं पौडेललाई बधाई दिँदै बिदा हुने तर्खर गरेकी थिइन्। त्यसपछि मात्र राष्ट्रपति कार्यालयले भण्डारीलाई उपहारसहित बिदा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।
विगतमा जस्तै शपथ ग्रहण गरेको स्टेजमा राष्ट्रपतिले बधाई ग्रहण गरेनन्। शपथ समारोहमा उपस्थित विशिष्ट व्यक्ति भएकै ठाउँमा नयाँ राष्ट्रपति पौडेल घुमेर बधाई ग्रहण गरेका थिए। प्रथम राष्ट्रपति रामवरण यादवबाहेक पौडेलले अरूसँग हात मिलाएनन्। शीतल निवास सर्नुअघि पौडेलले बिहान आफ्नो निवासमा पूजापाठ गर्नुका साथै छिमेकी र टोलवासीको बधाई र बिदाइ ग्रहण गरेका थिए।
पौडेललाई शक्तिराष्ट्रको बधाई
नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीयसहित विभिन्न देशबाट बधाईं तथा शुभकामना आएका छन्। सोमबार पौडेलले कार्यकार सम्हालेलगतै भारतीय समकक्षी द्रौपदी मुर्मूले बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। घनिष्ठ र मित्रवत् छिमेकीका रूपमा, भारत र नेपालबीच रहेको सौहार्दपूर्ण र बहुआयामिक सम्बन्ध स्मरण गराउँदै भारतीय राष्ट्रपति मुर्मूले भारत सरकार, भारतीय जनता र व्यक्तिगत तर्फबाट पौडेललाई बधाई दिएकी हुन्।
त्यस्तै चीनका साथै अमेरिका, अस्ट्रेलियालगायत देशका नेपालस्थित राजदूतहरूले पनि पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित: ३० फाल्गुन २०७९ ००:३८ मंगलबार