६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाल एमसिसी स्कोरकार्डको १६ सूचकमा उत्तीर्ण

काठमाडौं– यस वर्ष अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का २० सूचकमध्ये १६ वटा उत्तीर्ण  गरेको छ । एमसिसीमा नेपालको अवस्था गत वर्ष पनि यही नै थियो ।

एमसिसीले यसै साता आर्थिक वर्ष २०१७ का लागि स्कोरकार्ड प्रकाशित गर्दै यस वर्ष नेपालले सरकारको प्रभावकारितासम्बन्धी सूचकमा अन्य देशको तुलनामा राम्रो नतिजा ल्याउन नसकेकोे जनाएको छ । नेपालले नियमनकारी गुणस्तर सूचकमा भने सुधार गरेको छ । एमसिसी सञ्चालक समितिले स्कोरकार्ड नतिजा र अन्य सान्दर्भिक सूचनाका आधारमा नेपाललाई फेरि चयन गर्नुपर्नेछ ।

यो स्कोरकार्ड वार्षिक प्रतिस्पर्धात्मक प्रक्रिया हो, जुन एमसिसीको विकास सहयोग कुन देशले प्राप्त गर्छ भन्ने कुराको निर्धारण गर्ने प्रमुख माध्यम हो । यस वर्ष एमसिसीले स्कोरकार्डका लागि चयन गरेका ८२ देशमध्ये ३३ मात्र उत्तीर्ण हुन सफल भएका छन्  ।

एमसिसीको सहयोग प्राप्त गर्न कुनै पनि राष्ट्रले पहिले त्यसको स्कोरकार्ड उत्तीर्ण गर्नुपर्छ । यो स्कोरकार्ड खुला रुपमा तेस्रो पक्षले देशको आर्थिक स्वतन्त्रता, नागरिकमा लगानी र न्यायपूर्ण राज्य सञ्चालनमा गरेका २० भिन्न सूचकको आधारमा निर्धारण गरिन्छ ।  

एमसिसीले मौलिक हकहरूमा प्रतिबद्ध रहने, भ्रष्टाचार नियन्त्रण पहल गर्ने, लोकतान्त्रिक अधिकारसँगै महिला अधिकारको सम्मान गर्ने राष्ट्रहरूसँग मात्र सहकार्य गदै आएको छ ।

गत असोज १० मा एमसिसीले मिलेनियम च्यालेन्ज कार्यालय, नेपालले प्रस्ताव गरेका विद्युत् क्षेत्रका विभिन्न परियोजनाको सम्भाव्यता अध्ययन सुरु गरेको थियो ।

एमसिसी आर्थिक विकासमार्फत विश्वव्यापी विपन्नताको न्यूनीकरणका लागि कार्यरत स्वतन्त्र अमेरिकी सरकारी निकाय हो । सन् २००४ मा स्थापित एमसिसीले भ्रष्टाचारविरुद्ध संघर्ष गर्नेदेखि लोकतान्त्रिक अधिकारको सम्मान गर्नेसम्मका केही विकासोन्मुख देशलाई अनुदान र सहायता प्रदान गर्दै आएको छ ।

प्रकाशित: २० कार्तिक २०७३ ०३:०४ शनिबार

नेपाल एमसिसी स्कोरकार्डको १६ सूचकमा उत्तीर्ण