५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

विगतमा संविधानको रक्षकको भूमिका निर्वाह भएन, पौडेल राष्ट्रपति भएपछि हुन्छ: देउवा

फाइल तस्बिर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका निर्वाह हुन नसकेको उल्लेख गर्दै रामचन्द्र पौडेल राष्ट्रपति भएपछि संविधान विरोधी काम नहुने धारणा राखेका छन्।  

राष्ट्रपतिको निर्वाचनको सँघारमा बिहीबार काठमाडौंमा आठ दलले आयोजना गरेको संघीय संसद् सदस्यहरूको अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरूले पौडेललाई राष्ट्रपतिमा निर्वाचित गर्दा ‘संविधान च्यात्ने’ जोखिम नहुने बताएका हुन्।

राष्ट्रपतिका लागि पौडेल सबैभन्दा उपयुक्त उम्मेदवार भएको धारणा राख्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विगतमा राष्ट्रपतिबाट संविधानको रक्षकको भूमिका निर्वाह हुन नसकेको गुनासो गरे। पौडेल राष्ट्रपति भएपछि संविधानविरोधी काम नहुने धारणा राख्दै उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र अहिलेको संविधानको रक्षाका लागि उहाँ ९रामचन्द्र पौडेल० ले भूमिका खेल्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।’

अहिले राष्ट्रपति पदका लागि सबैभन्दा योग्य व्यक्ति पौडेल भएको बताउँदै देउवाले थपे, ‘विगतमा हामीले राष्ट्रपतिको विषयमा निकै नमिठो अनुभव सँगाल्यौं। तर अब रामचन्द्रजीलाई राष्ट्रपति बनाएपछि त्यस्तो जोखिम रहँदैन।’  

पौडेललाई पार्टी र शेरबहादुरले कहिल्यै केही दिएन भन्ने परेको भन्दै देउवाले भने, ‘हामी धेरै पुराना साथी हौं। मलाई पनि उहाँका बारेमा सोच्दा खटपट भइरहन्थ्यो। अत्यन्तै महत्वपूर्ण घडीमा महत्वपूर्ण पदमा उहाँलाई अघि सारेका छौं।’

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द«का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको ठुलो दल कांग्रेसलाई राष्ट्रपति दिन गरेको प्रस्ताव एमालेले स्वीकार नगरेको बताए। प्रतिनिधिसभाबाट प्रधानमन्त्रीमा विश्वासको मत लिएकै दिन विगतमा प्रतिनिधिसभा विघटन गरेको कुरालाई गल्ती स्वीकार गर्नुको साटो ठिक थियो भन्ने एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिले आफूलाई झस्काएको उनले बताए। प्रधानमन्त्री पदका लागि राजनीतिक मूल्य, मान्यता र विचारलाई तिलाञ्जली दिन नसकेकाले संविधानको रक्षाका लागि नयाँ गठबन्धनमा आएको दाहालको भनाइ थियो। एमालेसहितका दलहरूसँगको गठबन्धनलाई केही दिन अलमल भएको बताउँदै दाहालले भने, ‘केपीजीले मलाई प्रधानमन्त्री बनाइदिनुभयो। तर म प्रधानमन्त्रीका निम्ति आफ्नो राजनीतिक विचार, मूल्यमान्यतालाई तिलाञ्जली दिन सक्दिनँ। मेरा लागि विचार, राजनीति, संविधान र गणतन्त्र मूल कुरा हो भनेर प्रस्ट भनेको थिएँ।’

पौडेलको पक्षमा मत माग्दै दाहालले आफूले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्दै गर्दा नेपालका राजनीतिक दल, तमाम सदस्यको विचार र भावना एउटा राष्ट्रिय सहमतिका रूपमा व्यक्त भएको पाइएको बताए। त्यसलाई राष्ट्रिय एकताको नयाँ उचाइमा व्यक्त भएको बताउँदै दाहालले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र, राष्ट्रिय एकताको रक्षा र शान्तिप्रक्रियाको समग्र हितका निम्ति एक भएका हौं।’ निर्वाचनअघि अहिलेको गठबन्धन एकै ठाउँमा रहेको धारणा राख्दै दाहालले भने, ‘सबै पार्टीभित्र एकअर्कामा हामी सबै छौं। हामीले पाएको मत सिंगै कसैको पनि होइन, हामी सबैको साझा हो।’  

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ राष्ट्रपतिले राष्ट्रिय हितको प्रवद्र्धन, देशभक्ति र राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले संविधानको रक्षा र संरक्षण गर्ने कुरालाई केन्द्रबिन्दुमा राखेर निर्वाचित राष्ट्रपति अघि बढ्नुपर्ने उनले जोड दिए। उनले भने, ‘रामचन्द्र पौडेलको प्रस्तावक भएकाले उहाँलाई विजयको शुभकामना दिन्छु।’

कार्यक्रममा गठबन्धनमा रहेका अन्य दलका शीर्ष नेताहरूले पौडेलले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको जनाउँदै राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेका छन्। राष्ट्रपतिका उम्मेदवार पौडेलले सांसदहरूलाई पत्र लेख्दै संविधानको रक्षाका लागि आफू तयार रहेको भन्दै मत मागेका छन्।

नेपाली कांग्रेससहित आठ राजनीतिक दलका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्रसहित संविधानको रक्षाका लागि नयाँ गठबन्धन निर्माण गरेको जनाउँदै राष्ट्रपतिमा रामचन्द« पौडेलको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई आग्रह गरेका छन्।

प्रकाशित: १९ फाल्गुन २०७९ ०७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App