नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पार्टीको १४औं महािधवेशनमा सभापति उम्मेदवार बन्न चाहन्थे। १३औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि इतरसमूहको नेतृत्व पौडेलले गरेका थिए।
त्यही बलमा पौडेलले १४औं महाधिवेशनमा देउवाविरुद्ध फेरि सभापतिमा प्रतिस्पर्धा गर्न चाहेका थिए। त्यो वातावरण बनाउन इतरसमूहको नेतृत्व गर्दै पौडेल देउवाको सबैभन्दा आलोचकका रूपमा प्रस्तुत भए। तर १४औं महाधिवेशनको सँघारमा २०७८ मंसिर २३ गते पौडेललाई इतरपक्षका नेताहरू नै सभापतिको उम्मेदवारमा स्वीकार गर्न तयार भएनन्। विशेषगरी १४औं महाधिवेशनमा प्रकाशमान सिंहले सभापतिको प्रतिस्पर्धामा उत्रिने अडान लिए। इतरपक्षका शेखर कोइरालासहितका केही युवा नेता पनि पौडेललाई नेता मान्न हिच्किचाए। पौडेललाई सिंह र कोइराला दुवैले सभापतिको उम्मेदवार मान्न चाहेनन्।
राजनीतिक जीवनको उत्तराद्र्धमा पुगेका पौडेललाई निकटस्थहरूले नै सभापतिको उम्मेदवार हुन असहयोग गरे। त्यसबाट बिरक्तिएका पौडेल सक्रिय राजनीति मात्र होइन, कांग्रेससँग पनि अलग हुने निष्कर्षमा पुगे। मंसिर २४ गते सुरु हुने पार्टीको १४औं महाधिवेशनमा समेत सहभागी नहुने निष्कर्षमा पौडेल पुगे। सक्रिय राजनीतिबाट विश्राम लिने पौडेलको तयारीको सूचना पाएलगत्तै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा मंसिर २३ गते साँझ नै पौडेल निवास पुगे।
देउवाले भेटमा पार्टी र मुलुकका लागि पौडेलको सक्रियता चाहिएको भन्दै स्वास्थ्यको ख्याल गर्न सुझाए। लोकतान्त्रिक आन्दोलनमा पौडेलले पुर्याएको योगदान मूल्यांकन गर्ने बताउँदै देउवाले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आग्रह गरे। पौडेल निकटस्थहरूले पनि उनलाई महाधिवेशनमा सहभागी हुन आग्रह गरे। पौडेल १४औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भए। तर महाधिवेशनको अन्य प्रक्रियामा उनी सहभागी भएनन्। त्यसपछि पौडेलकै समर्थक र शुभेच्छुकले उनको आलोचना गरे। पहिलो चरणबाट सभापति निर्वाचित हुन नसकेपछि दोस्रो चरणमा भएको निर्वाचनबाट देउवा पुन: सभापतिमा निर्वाचित भए। त्यसपछि देउवाविरोधी गुटका नेताहरू पौडेलसँग टाढिँदै गए। तर देउवाले पौडेललाई सत्ता साझेदार दलहरूको संयन्त्रको संयोजक बनाउँदै राजनीतिक सक्रियतामा उनलाई जोड्दै गए। गत मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसे।
पार्टीको १३औं महाधिवेशनमा पनि सभापतिका लागि देउवासँग पौडेल प्रतिस्पर्धामा उत्रिएका थिए। सभापतिको निर्वाचनमा उनी पराजित भए। त्यसपछि संसदीय दलको नेताका लागि भएको निर्वाचनमा पनि देउवाले पौडेललाई पराजित गरे। सधैं ‘लभ र हेट’को सम्बन्धमा रहेका यी दुई नेतामध्ये पौडेल अहिले देउवाकै चाहनामा मुलुकको सर्वोच्च पद राष्ट्रपतिको उम्मेदवार बन्न पुगेका छन्। अहिलेको समीकरणमा कुनै उलटफेर नभए २००१ असोज ३० गते तनहुँको रिस्ती–२ बाहुन पोखरामा जन्मेका पौडेल मुलुकको तेस्रो राष्ट्रपति बन्ने निश्चितप्राय: छ। राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको ३१ हजार बढी मतभार अहिले उनको पक्षमा छ। पौडेललाई राष्ट्रपतिमा अघि सार्ने देउवाको निर्णयले कांग्रेसभित्रको एकतालाई बलियो बनाएको छ। देउवा पाँचपटक प्रधानमन्त्री बन्दा पौडेलले एकपटक पनि अवसर नपाएको भन्दै पार्टीभित्रैबाटै आलोचना हुँदै आएको थियो। देउवाको पछिल्लो निर्णयले पार्टीलाई एकताबद्ध बनाएर लैजान बल पुगेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले यसले नेता पौडेललाई पनि न्याय भएको बताए। ‘रामचन्द्र दाइलाई जीवनको उत्तराद्र्धमा उहाँको छविअनुसारको जिम्मेवारी मिलेको छ,’ खतिवडाले भने, ‘यसले शेरबहादुर दाइ (सभापति देउवा) को पनि उचाइ बढाएको छ। कांग्रेसमा कसैले कसैलाई पनि अन्याय हुँदैन र गर्दैन भन्ने मान्यता स्थापित भएको छ।’
२०१७ सालदेखि नै संगठित राजनीतिमा सक्रिय पौडेलले पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापतिका साथै कार्यवाहक सभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। उपप्रधानमन्त्रीका साथै विभिन्न मन्त्रालयको पटकपटक नेतृत्व गरेका पौडेल २०५१ को मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभाको सभामुख भएका थिए। २०५९ सालमा माओवादीविरुद्ध संकटकाल लगाउने वा नलगाउने भन्ने विवाद हुँदा संसद् विघटनका साथै पार्टी विभाजन हुने अवस्थामा पनि देउवा र पौडेल एकै ठाउँमा थिए।
विभाजित पार्टीको सभापति पौडेललाई बनाएर अघि बढ्न देउवा त्यतिबेला पनि तयार थिए। तर अन्तिम समयमा नेत्री शैलजा आचार्यले विभाजित पार्टीमा जान पौडेललाई रोकेकी थिइन्। माओवादी शान्तिप्रक्रियामा आएपछि पौडेल मन्त्री बने। संविधानसभाको पहिलो निर्वाचनपछि पौडेल कांग्रेस संसदीय दलको नेता बने पनि प्रधानमन्त्री हुन सकेनन्। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि पौडेल बहुमतीय सरकारको प्रधानमन्त्री बन्न दुईपटक उम्मेदवार भए। प्रधानमन्त्री चयन प्रक्रिया सात महिना लम्बियो। प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले उम्मेदवारी फिर्ता लिएपछि पनि संसद्मा १७ पटकसम्म प्रक्रिया अघि बढ्यो। त्यसपछि नियमावली संशोधन गरेर भएको निर्वाचनमा माओवादीको समर्थनमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भए। खनाललाई प्रधानमन्त्री बनाउन एमालेका तत्कालीन नेता नेपाल र केपी ओली दुवै चाहँदैनथे। तर खनाल माओवादीको समर्थनमा प्रधानमन्त्री भए, पौडेल पछि परे।
दोस्रो संविधानसभा निर्वाचनपछि पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्री बने। १३औं महाधिवेशनको सँघारमा सुशीलको निधन भएपछि पौडेल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै त्यतिबेलाको संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बने। तर संस्थापन पक्षबाट तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौलाले विद्रोह गरेर सभापतिमा उम्मेदवारी दिए। दोस्रो चरणमा गएको सभापति निर्वाचनमा सिटौलाले देउवालाई समर्थन गर्दा पौडेल पराजित भए।
१२औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै सुशीलले उपसभापति पौडेल र महामन्त्री सिटौलाको नाम केन्द्रीय समितिमा प्रस्तुत गरेका थिए। सिटौलासहित आफ्नो पनि नाम एउटै प्रस्तावमा ल्याउँदा केन्द्रीय समितिबाट उपसभापति मनोनयन रोकिएको अभिव्यक्ति पौडेलले दिए। पौडेलको त्यस भनाइप्रति सिटौलाले चित्त दुखाएकाले सभापतिमा सहयोग नगरेको उनी निकटहरूको दाबी छ। होलेरी काण्डपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा गर्ने तयारी गरेकै बेलामा उपप्रधान तथा गृहमन्त्रीबाट पौडेलले राजीनामा दिए। पौडेलले उपप्रधानमन्त्रीबाट राजीनामा गर्दा कोइराला रुष्ट बनेको र त्यसपछि उनले अविश्वास गर्दा प्रधानमन्त्री बन्ने अवसर चुकाएको जानकारहरूको दाबी छ।
प्रकाशित: १४ फाल्गुन २०७९ ००:२३ आइतबार