१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

पौडेललाई आठ दलको समर्थन, एमालेबाट नेम्वाङ

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले फागुन २५ गते हुने नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिन तोकेको समयसीमाभित्र शनिबार पौडेल र नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। पौडेलले आफ्नो दल नेपाली कांग्रेस, माओवादी केन्द्रसहित आठ दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।  

पहिलो संविधानसभा निर्वाचनपछि २०६५ साउन पहिलो साता कांग्रेसका रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए। समयमा संविधान बन्न नसक्दा सात वर्ष यादव राष्ट्रपति भए। २०७२ असोजमा संविधान जारी भएसँगै कांग्रेसबाहेकका दलहरूको समर्थनमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी कात्तिकमा दोस्रो राष्ट्रपतिमा निर्वाचित भइन्। २०७४ मंसिरमा भएको निर्वाचनपछि राष्ट्रपतिमा फेरि भण्डारी निर्वाचित भइन्। भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिँदैछ। नयाँ राष्ट्रपतिका लागि कांग्रेस नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसहितका समर्थनमा उम्मेदवारी दिएका हुन्। पौडेलको उम्मेदवारीको प्रस्तावकमा कांग्रेस सभापति देउवा, नेकपा एसका अध्यक्ष नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ छन्। उनको उम्मेदवारीको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे छन्।

निर्वाचनअघिको पुरानो पाँच दलीय गठबन्धनलाई शुक्रबार साँझ ब्युताउँदै थप तीन दललाई समेटेर आठ दलीय गठबन्धन निर्माण गर्ने सहमति भएको थियो। आठ दलले कांग्रेसलाई राष्ट्रपति दिने निर्णय गरेका थिए। राष्ट्रपति निर्वाचनपछि दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेका आठ दल उपराष्ट्रपति जसपालाई दिन सहमत भएका छन्।सरकारको पाँच वर्षे कार्यकालमा माओवादी, कांग्रेस र नेकपा एसले आलोपालो नेतृत्व गर्ने सहमति भएको बताइएको छ। राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुपूर्व संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आठ दलको बैठक बसेको थियो। आठ दलबीच शुक्रबार साँझ भएको सहमतिअनुसार शनिबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको थियो।  

निर्वाचनपछि गत पुस १० गते एमालेसहितका दलको समर्थनमा माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भएका थिए। त्यसबेला एमालेले राष्ट्रपति पाउने सहमति भएको बताइएको थियो। तर प्रधानमन्त्री दाहालले परिस्थिति फेरिएको जनाउँदै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका थिए। एमाले त्यसका लागि तयार नभएको भन्दै दाहालले शुक्रबार प्रतिनिधिसभाको ठुलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्न अन्य दललाई आग्रह गरेका थिए। राजनीतिक समीकरण बदलिएपछि सत्ता साझेदार एमालेले राष्ट्रपतिमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको हो।  

एमाले अध्यक्ष केपी शर्मा ओली, नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विकलाई प्रस्ताव राखेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। नेम्वाङको उम्मेदवारीको समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के छन्। नेम्वाङको पक्षमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका एमालेबाहेक अन्य दल अहिलेसम्म खुलेका छैनन्। राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थन पाउनेमा एमाले विश्वस्त छ। आठ दलीय गठबन्धन निर्माण भएलगत्तै शनिबार बिहान बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ। तर राप्रपा नेता पशुपतिशमशेर राणासहितका नेताहरू राष्ट्रपतिमा एमालेका उम्मेदवार नेम्वाङलाई समर्थन गर्न नहुने र नयाँ गठबन्धनसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा छन्।

एमाले सचिवालयको शनिबार बिहान बसेको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। पुस १० गतेको गठबन्धन कायमै रहेको अवस्थामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल वा अर्को नेतालाई उम्मेदवार बनाउने पक्षमा रहेका ओलीले अन्तिम समयमा नेम्वाङलाई अघि सारेका हुन्। नेम्वाङलाई उम्मेदवार बनाउँदा जनजाति सांसदसहित अन्य केही मत तान्न सकिन्छ भन्ने आकलनका आधारमा उनलाई अघि सारिएको एमाले निकटहरूको दाबी छ। एमाले सचिवालय बैठकले दाहाल नेतृत्वको सरकारबाट राष्ट्रपति निर्वाचनअघि अलग नहुने निर्णय गरेको छ। एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले पुस १० को सम्झौताअनुसार नै राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउने बताएका छन्। आठ दलीय गठबन्धन नबनेको तर्क गर्दै ओलीले चिया खान गएका सबै समर्थक नहुने दाबी गर्दै भने, ‘उहाँ (दाहाल) ले सम्झौताअनुसार हामीलाई भोट हाल्नुहुन्छ भन्ने लगभग यकिन छ, कहाँ आठ दलको समर्थन थियो, आठ दललाई बोलाएको थियो, चिया खान बोलाएजति सबै भोट हुन्छ ?’ एमालेले राष्ट्रपतिमा सघाउन कांग्रेसबाहेकका सबै दललाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

गणतन्त्र संस्थागत गर्छु : पौडेल

कांग्रेस नेता पौडेलले गणतन्त्र संस्थागत गर्न राष्ट्रपतिमा आफ्नो उम्मेदवारी भएको बताएका छन्। संविधान र परिवर्तनको उपलब्धि रक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्र्दै पौडेलले संविधानको पालना गर्ने, रक्षा गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने चुनौती मुलुकसामु रहेको बताए। ‘नेपाली जनताको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नुपर्ने छ,’ उनले पत्रकारसँग भने, ‘परिवर्तन संस्थागत गर्दै नेपालको उन्नतिका लागि अघि बढ्ने र राष्ट्रिय एकता तथा अखण्डतालाई जोगाउने काममा मेरो सहयोग हुन्छ।’

पौडेलले एमालेसहितको सहयोगमा राष्ट्रपतिमा आफू निर्वाचित हुने बताए। एमाले अध्यक्ष ओली आफूसँगै जेल बसेको पुरानो मित्र रहेको बताउँदै पौडेलले भने, ‘राष्ट्रपति सबैको साझा पद हो। मलाई जिताउन उहाँले योगदान गर्नुहोला भन्ने लागेको छ।’ प्रतिनिधिसभाका पूर्वसभामुख पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई भेटेर राष्ट्रपति निर्वाचनमा सघाउन आग्रह गरेका छन्। पौडेलले लामिछानेबाट सकारात्मक जवाफ आएको बताए।

प्रतिस्पर्धालाई सम्मान गर्छु : नेम्वाङ

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेपछि एमाले उपाध्यक्ष नेम्वाङले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै निश्चित कुलको जेठो छोरा शासक हुने/राष्ट्राध्यक्ष हुने व्यवस्था बदलिएको बताउँदै आफू राष्ट्रपति भए जनताले अनुभूति गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘हामीले जुनसुकै कुलघरानामा जन्मिएका छोरा वा छोरी पनि राष्ट्रपति हुने व्यवस्था संविधानमा गरेका छौं। जनताको छोरा राष्ट्रपति हुने व्यवस्था गरेका छौं,’ नेम्वाङले पत्रकारसँग भने, ‘प्रतिस्पर्धालाई सम्मान गर्छु। राष्ट्रपतिको निर्वाचनमा म सम्मानका साथ अगाडि बढेको छु।’ नेम्वाङ पूर्वसभामुख र संविधानसभाका अध्यक्ष हुन्।

प्रकाशित: १४ फाल्गुन २०७९ ००:१६ आइतबार

रामचन्द्र पौडेल सुवासचन्द्र नेम्वाङ