आम निर्वाचनबाट नयाँ नेतृत्व चयनसँगै बागमती प्रदेशसभाको दोस्रो कार्यकाल चलिरहेको छ। यसअघि क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनलाई प्रदेशसभा सचिवालय बनाइएको थियो। दोस्रो कार्यकाल सुरु भैसक्दा पनि पुरानै भवनबाट प्रदेशसभा बैठक सञ्चालन भैरहेको छ। विगत २ वर्षदेखि निर्माण सुरु गरिएको प्रदेशसभा सचिवालयको भवनले अझै पूर्णता पाउन सकेको छैन।
प्रदेश सरकार गठनको ५ वर्ष पूरा भैसक्दा पनि प्रदेशसभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदेश सभाको दोस्रो कार्यकालको बैठक साँघुरो भवनमा नै सञ्चालन भैरहेको हो। देश संघीय संरचनामा गएपनि गठन भएको प्रदेश सभाको पहिलो पाँचवर्षे अवधिमा समेत प्रदेशसभा भवन निर्माण सम्पन्न हुन नसक्दा प्रदेशसभाको दोस्रो कार्यकालको काम पनि साँघुरो भवनबाटै भैरहेको हो।
तत्कालीन शिक्षा निर्देशनालयको भवनमा डोरमणि पौडेलको अध्यक्षतामा २०७४ माघ १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो। प्रदेशसभाको पहिलो कार्यकालको पाँच वर्षको अवधिमा यही प्रदेशसभाबाट तीनवटा सरकार परिवर्तन भएको थियो। प्रदेशसभामा रहेका कुनै पनि दल र कर्मचारीमा व्यवस्थित भवन बनाउने कार्य प्राथमिकतामा पर्न भने सकेन। सरकार र मातहतका निकायले चासो नदिँदा प्रदेशसभा भवन निर्माण कार्य सुस्त भैरहेको हो।
हाल सञ्चालनमा रहेको संसद सचिवालयको भवन छेउमै नयाँ भवन निर्माण भैरहेको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण कार्यालय मार्फत अर्घाखाँची/सगुन पारामाउन्ट जेभीले निर्माणको जिम्मा लिएको नयाँ सभाहलको हालसम्म करिब ८० प्रतिशत मात्रै काम भएको छ। विगतमा प्रदेशसभा बैठक सञ्चालन गर्दै आएको तत्कालीन शिक्षा निर्देशनालयको भवनबाट साँधुरो र व्यवस्थापकीय चुनौति भएपछि गत २०७७ बाट संसद् भवनको संरचना निर्माण थालिएको थियो। निर्माण कार्य सुरु गरको २ वर्ष पूरा भइसक्दा समेत ट्रस्टको उक्त भवन अधुरो नै रहेको छ। २०७९ को वैशाख १ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको प्रदेशसभा सचिवालय परिसरमै निर्माण सुरु भएको सभाहल निर्माण कार्य ठेक्का अवधि समाप्त भएको १० महिना पूरा हुँदासम्म ८० प्रतिशत मात्रै काम भएको हो।
सम्झौता अनुसार निर्धारित समयमा सभाहल निर्माण नभएपछि कार्यालयले २०८० जेठ ३० गतेसम्मको लागि निर्माण कम्पनीको म्याद थप गरिएको छ। २०७७ साल कात्तिक १९ गते ४ करोड ९४ लाख ९ हजार ९ सय ९ रुपैयाँमा प्रदेशसभा भवन निर्माणको सम्झौता भएको थियो। निर्माण कम्पनीले अब केही महिनाभित्रमा निर्माण कार्य सम्पन्न हुने जानकारी दिएको छ। २५० जना अट्ने क्षमता रहेको निर्माणाधीन सभाहलको अब भवन फिनिसिङको मात्रै काम बाँकी रहेको निर्माण पक्षको दावी छ।
प्रकाशित: १२ फाल्गुन २०७९ १३:१७ शुक्रबार