२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘नयाँ गठबन्धन बनाए पनि ढुक्क हुने अवस्था छैन’

फाइल तस्बिर।

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको रक्षक एमाले मात्र भएको बताएका छन्। अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रियताको पहरेदार एमाले राष्ट्रिय हितलाई छाडेर जतासुकै लत्रिएर नजाने बताएका हुन्। ‘सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छाडेर, लत्रिएर एमाले जतासुकै जाँदैन। राष्ट्रियताको रक्षक हो एमाले,’ उनले भने।  

अघिल्लो सत्ता गठबन्धन फुटाएर अहिलेको गठबन्धन बनाउनु सफलता भएको बताएका ओलीले यसमा ढुक्क हुन भने नसकेको बताए। ‘चुनावअघिको पाँचदलीय सत्ता गठबन्धन फुटाएर नयाँ बनाउन सफल भए पनि ढुक्क हुन सकिएको छैन, ढुक्कले बस्ने अवस्था छैन,’ ओलीले भने, ‘नयाँ गठबन्धनबाट आमरूपमा पार्टीका साथीहरू प्रसन्न भएको देखिन्छ, प्रसन्न हुनुपर्छ तर कथं यो स्थिति फेरियो भने अस्थिरता हुनेछ।’  

ओलीले स्वदेशी र विदेशी अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील रहेको पनि बताए। ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ। एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ’, उनले भने, ‘हामीले पाँचदलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौं। यो सफलताको कुरा हो।’ ओलीले अहिलेको संसद्को बनावट नै अस्थिरताको कारक भएको बताए। ‘संसद्मा बहुमत कसैको छैन । हाम्रो पार्टीसँग पनि छैन। हाम्रो पार्टी एमालेसँग बहुमतभन्दा निकै तल सिट छ,’ उनले भने।  

ओलीले अनेरास्ववियुको नेतृत्वका लागि दाबी गरिरहेका विद्यार्थी नेताहरूतर्फ संकेत गर्दै सर्वसम्मतरूपमा नेतृत्व चयन गर्न र उन्नत प्रकारको लोकतन्त्रको उदाहरण दिन आग्रह गरे। काम गर्ने परिस्थिति प्रतिकूल भए अर्कालाई नेतृत्व छाड्नु बुद्धिमानी हुने ओेलीको निर्देशनात्मक भनाइ थियो। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। ‘हामी प्रतिस्पर्धा गर्छौं। त्यसको विभिन्न स्वरूप हुन्छ। प्रतिस्पर्धामा आफूभन्दा अर्को साथीले सहज ढंगले काम गर्नसक्ने परिस्थिति छ भने उसलाई छाडिदिनुपर्छ। प्रतिस्पर्धाबाट हटेको होइन। प्रतिस्पर्धालाई उन्नत स्तरबाट स्विकारिएको हो। आफ्नोभन्दा अर्को साथीको अवस्था अनुकूल छ भने उसैलाई छाड्दिनुपर्छ’, ओलीले भने। अनेरास्ववियुको नयाँ अध्यक्ष पदको आकांक्षीमा वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू झपेन्द्र खत्री, लोकेश निरौला, महासचिव समीक बडाललगायत छन्।

प्रकाशित: ३ फाल्गुन २०७९ ००:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App