५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचन जित्नेगरी तयारी गर्नुस्: सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकाय निर्वाचन पार्टीले जित्ने गरी तयारीमा जुट्न भ्रातृ संगठनहरुलाई निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको पद हस्तान्तरण कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘निकट भविष्यमा हुने स्थानीय निकाय निर्वाचन कांग्रेसले जित्नैपर्छ अब सबै त्यसको तयारीमा जुट्नुहोस्।’

संविधान कार्यान्वयन नै अहिलेको सबैभन्दा ठूलो चुनौति रहेको जनाउँदै सभापति देउवाले भने, ‘२०७४ माघ ७ भित्रै तीनै निकाय(स्थानीय, प्रदेश र केन्द्र)को निर्वाचन नगराएसम्म संविधानको कार्यान्वयन हुँदैन।’ संविधानले नै गाउँ देखि केन्द्रसम्म महिलाको अधिकार र प्रतिनिधित्व सुनिश्चित गरेको उल्लेख गर्दै देउवाले समानुपातिक समावेसीसहित महिलाको हक, अधिकारका साथै सम्मान र अवसर प्रदान गर्न पार्टी तयार रहेको जनाए।

संविधानको व्यवस्था अनुसार केन्द्रीय संसदमा ३३ र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने भएकाले पार्टी र संघका सामु थप चुनौति रहेको औल्याए। ‘गाउँ देखि केन्द्र हुँदै राष्ट्रपति/उपराष्ट्रपतिसम्म महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ,’ देउवाले भने, ‘तपाईंहरु(महिला) प्रधानमन्त्री हुने दिनपनि आउँछ, महिलाको सक्रियताले पार्टीकै जित हुन्छ अब लाग्नुस्।’

सरकारका उपप्रधानमन्त्रीसमेत रहेका पार्टी नेता विमलेन्द्र निधिले दलहरुबीच भएको सात र तीन बुँदे सहमतिकै आधारमा सरकार संविधान संशोधन गरेर तीनै तहको निर्वाचन गर्ने गृहकार्यमा रहेको बताए। संविधान कार्यान्वयलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरी रहेको जनाउँदै उनले भने, ‘तीनै तहको निर्वाचनलाई सम्पन्न गर्ने पूर्वसर्तकारुपमा असन्तुष्ट दलहरुलाई सन्तुष्ट बनाउनु पर्ने जिम्मेवारी छ।’

तीनै तहको निर्वाचनमा पार्टीलाई जिताउन लाग्न सबैलाई आग्रह गर्दै उनले भने, ‘हार वा जित होइन सबै एक भएर पार्टीलाई निर्वाचनमा जिताउन आजैदेखि सक्रिय हुनुहोस्।’

अर्को पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले स्थानीय निकाय देखि सबै निर्वाचनको तयारीमा जुट्न महिला संघलाई आग्रह गरे। संबैधानीक सीमा अनुसार निर्वाचन गराउन धेरै समय बाँकी नरहेको जनाउँदै सिटौलाले तत्काल निर्वाचन घोषणा गर्नु पर्ने जनाए। 

कार्यक्रममा पार्टी नेता रामचन्द्र पौडेलसहितका नेताहरु भने उपस्थीत रहेनन्। पौडेलनिकट मानिने शान्तिमन्त्रीसमेत रहेकी कोषाध्यक्ष सीतादेवी यादव, कल्याण गुरुङ, धनराज गुरुङसहितका नेताहरु देखिएपनि महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुको उपस्थीति थिएन। भदौ ३१ गते सम्पन्न महिला संघको निर्वाचनमा सभापति देउवा निकट प्यानल निर्वाचित भएको थियो भने पौडेल पक्षबाट एक जना मात्र केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन्।

प्रकाशित: ५ आश्विन २०७३ १३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App