२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कोहलपुर नगरपालिकामा सुरु गरियो ‘ऐलानी’ जग्गा नाप जाँच

कोहलपुरमा ऐलानी जग्गा नाप जाँचमा खटिएको टोलीसँगै जनप्रतिनिधि। तस्बिरः नागरिक

कोहलपुर नगरपालिकामा ‘ऐलानी’ जग्गा नाप जाँच कार्य काम सुरु गरिएको छ। भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउन भन्दै नगरपालिकाले जग्गा नाप जाँच कार्य सुरु गरेको हो। नगर प्रमुख पूर्णप्रसाद आचार्यले ऐलानी जग्गा नाप जाँच कार्य चलिरहेको जानकारी दिए। 

नगरको वडा नम्बर २ मा ऐलानी जग्गा नाप जाँच कार्य सम्पन्न भएर मंगलबारदेखि वडा नम्बर १२ मा पनि नाप जाँच सुरु गरिएको उनले बताए। 

अव्यवस्थित बसोबासमा फाराम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नाप जाँच गरिने बताइएको छ। ‘अब यो काम द्रुत गतिमा अघि बढ्छ,’ आचार्यले भने। 

नगर उपप्रमुख संगिता सुवेदीले अब नगरका भूमिहीन दलित, सुकुम्वासी र जमिन भएर पनि स्वामित्व नभएका अव्यवस्थित बसोवासी नागरिकलाई जग्गा उपलब्ध गराइने बताइन्। ‘चुनावका वेला जनतासँग लालपुर्जा वितरण गर्ने वाचा थियो, त्यही वाचा अनुरूप हामी निरन्तर जनताको काममा जुटेका छौँ,’ उनले भनिन्। 

नगरको वडा नम्बर १२ मा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित १ हजार ६ सय ८० कित्ता रहेको छ। उक्त वडाका वडाअध्यक्ष वीरेन्द्र बहादुर शाहले ऐलानी जग्गा नाप जाँचमा २१ जनाको अमिन टोली खटिएको बताए। उनका अनुसार नगरपालिकाबाट ९, भूमि आयोगबाट ६ र जिल्ला नापी कार्यालय बाँकेबाट टोली प्रमुख सहित ६ जना गरी कुल २१ जना अमिन खटिएका छन्। 

नगरपालिका कार्यालयका अनुसार वडा नम्बर १ मा एक हजार ५ सय ६६ कित्ता नाप जाँच भएको थियो। वडा नम्बर २ मा  मुक्तिनगर, शक्तिनगर र बिकास नगरको १ हजार ७३० कित्ता नाप जाँच भएको थियो। वडा नम्बर २ मा मात्रै अहिले एक हजार ८४९ कित्ता जग्गा नाप जाँच सम्पन्न भइसकेको छ । 

वडा नम्बर २ मा ऐलानी जग्गा नाप जाँच कार्य मंगलबार पुरा भइसकेको वडाअध्यक्ष हरिसिंह कठायतले बताए। आफुहरु निर्वाचित भएर आएपछि भूमिहीन, दलित र सुकुम्वासीलाई जग्गाको स्वामित्व दिने गरिऐलानी जग्गा नाप जाँच गर्ने पूर्व प्रतिबद्धता अनुसार अहिले काम गरिएको उनले बताए। अबको २/३ महिनामा नाप जाँचको काम सक्ने योजनामा रहेको  नगरपालिका कार्यालयले जनाएको छ । 

तत्काल वडा नम्बर १० मा पनि ऐलानी जमिन नाप जाँच सुरु गर्ने कार्यालयको योजना छ। ‘जमिन भएका, तर वर्षौदेखि लालपुर्जा विहीन अव्यवस्थित बसोवासीलाई जमिनको मालिक बनाउँछौँ, भूमिहीन दलित र सुकुम्वासीलाई समेत जमिन धनी बनाउँछौँ,’ नगर प्रमुख आचार्यले थपे। नगरभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी  र अव्यवस्थित बसोवासी समेत गरेर करिब १७ हजार रहेको बताइएको छ।

प्रकाशित: २४ माघ २०७९ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App