९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सभामुखका लागि दौड सुरु

प्रतिनिधिसभाको सभामुखको निर्वाचनको मिति तोकेसँगै सभामुखमा उम्मेदवारी दिनका लागि एमालेका नेताहरूबीच दौडधुप सुरु भएको छ। आगामी माघ ५ गते हुने निर्वाचनका लागि माघ ४ गते उम्मेदावारी दिने समय तोक्ने गरी संसद सचिवालयले कार्यतालिका बनाउन लागेको छ। प्रतिनिधिसभामा बहुमत सांसदको समर्थनबाट सभामुखको निर्वाचन हुनेछ। नयाँ गठबन्धनबाट एमालेलाई सभामुख दिने निर्णय भएकाले एमालेका नेता मध्येबाट एकजना सभामुखको उम्मेदवारी पर्ने छ। यसका लागि पार्टी अध्यक्ष केपी ओलीसँग उनीहरूले लबिङ गरिरहेका छन्। सभामुखका लागि पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, विद्या भट्टराई, छविलाल विश्वकर्मा र अन्य केही नेताहरूबाट दौडधुप सुरु भएको स्रोतले बताएको छ।  

यसअघि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङलाई नयाँ सभामुख बनाउने चर्चा गरिए पनि जनजातिबाट अर्को सभामुखमा नपुगोस् भनेर नेम्वाङ लागेको आरोप एमालेका नेताहरूले लगाउन थालेका छन्। पार्टीभित्रबाट सकारात्मक संकेत नपाएपछि गुरुङ पछि हटेको जनाउँदै सचिव विश्वकर्माको नाम पनि सभामुखमा चर्चामा छ। गुरुङलाई रोकेर नेम्वाङले विश्वकर्माको नाम अघि सारेपछि पार्टी महासचिव शंकर पोखरेलसहितका नेताले देवराज घिमिरेको नाम भावी सभामुखका रूपमा अघि सार्नसक्ने बताइएको छ। पार्टी अध्यक्ष ओलीले राष्ट्रपति र सभामुखको उमेदवारको एकैपटक निर्णय गर्ने तयारी गरेको स्रोतले बतायो।  

माओवादी केन्द्रबाट प्रधानमन्त्री पाएपछि राष्ट्रपति र सभामुख एमालेले पाउने भएको छ। ‘एमालेमा राष्ट्रपति र सभामुख कसलाई बनाउने बारेमा निर्णय गरेपछि मन्त्रिपरिषद् विस्तार तर्फ काम अघि बढ्नेछ,’ स्रोतले भन्यो। यता कांग्रेसको समर्थनमा एकीकृत समाजवादीले पनि सभामुखमा उम्मेदवारी दिने तयारी भए पनि पछिल्लो घटनाक्रमअनुसार सभामुखमा उम्मेदवारी दिने नदिने टुंगो नभएको स्रोतले बताएको छ।  

कांग्रेसले सभामुखको निर्वाचन माघ ९ गते गर्न प्रस्ताव राखे पनि एमालेको दबाबका कारण माघ ५ गते निर्वाचन गर्न लागिएको छ। तर, नयाँ गठबन्धन तत्काल टुट्ने सम्भावना नभएकाले सभामुखमा विपक्षी गठबन्धनले नाम मात्रको उमेद्वारी उठाउने छ, त्यसका लागि सभामुखमा यस अघि तोकिएका एकीकृत समाजवादीका नेता भन्दा एकीकृत समाजवादीका लामो राजनीतिक पृष्ठभूमि नभएका नेतालाई उठाउने तयारी गरिएको स्रोतको भनाइ छ। तर, पुस २२ गते बोलाइएको सर्वदलीय बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखको निर्वाचन माघ ९ गते गर्न प्रस्ताव गर्दा गठबन्धनलाई भत्काउन सकिन्छ कि भन्ने उद्देश्यका साथ प्रस्ताव आएको आशंका एमालेले गरेको थियो।

छिटो सभामुख निर्वाचन नगरे ‘रात गए अग्राख पलाउँछ’ भन्ने नेपाली उखानअनुसार पनि एमाले सभामुखको छिटो निर्वाचन गर्नुपर्ने पक्षमा थियो। प्रधानमन्त्रीले विश्वासको मत मंगलबार लिए लगत्तै सभामुखको निर्वाचनको प्रक्रिया अघि बढाउनका लागि एमालेले ज्येष्ठ सदस्य पशुपति शमशेर जबरासँग छलफल गरेको थियो। तर, सभामुखको उमेदवारको टुंगो आफैले नलागेका कारण एमालेबाट माघ ५ गते प्रस्ताव गरेको स्रोतले बतायो। कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर नयाँ गठबन्धन भत्काउने खेल खेलेको थाहा पाएदेखि एमाले नयाँ गठबन्धनसँग सशंकित बन्दै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेस र एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले नयाँ गठबन्धन भत्काउने खेलमा लागेको भए पनि अब सभामुखको निर्वाचनसम्म गठबन्धन नभत्कने एक नेताले बताए ।

प्रकाशित: २९ पुस २०७९ ०१:३८ शुक्रबार

सभामुख