१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री कुन दलको हुने अझै अन्यौल

प्रदेश प्रमुखले सरकार गठन गर्न तोकेको समयावधि ३ दिन मात्र बाँकी रहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कुन दलको हुने भन्ने कुरा अन्यौलता नै रहेको छ।

केन्द्रमा सत्तारुढ दलका शीर्ष नेताहरु बिच प्रदेशहरूमा सरकार गठनमा बारेमा छलफल चलिरहे पनि अझै टुङ्गो लागेको छैन। शीर्ष नेताहरुको भागबण्डाका आधारमा नै प्रदेश सरकार गठन हुने छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्रको मुख्यमन्त्रीमा दाबी रहेको छ, भने रेशम चौधरीको रिहाइलाई मुख्य एजेन्डा बनाएर सत्तारुढ गठबन्धनमा बस्ने कि नबस्ने निर्णय गर्न अलमलमा रहेको नागरिक उन्मुक्ति पार्टीको पनि सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीको कुर्सिमा नजर रहेको देखिन्छ।

सुदूरपश्चिम प्रदेशमा एक्लै सरकार बनाउन कुनै दलको बहुमत छैन। यसैले प्रदेश प्रमुख देवराज जोशीले गत पुस २० गते बुधवार ७ दिन भित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई मुख्यमन्त्रीका दाबी पेश गर्न आह्वान गरेका थिए।

पुस २७ गते बुधवार साँझ ५ बजेसम्म बहुमत सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागी दाबी पेश गरिसक्नुपर्ने छ। ६ राजनीतिक दलको प्रतिनिधित्व रहेको सुदूरपश्चिम प्रदेश सभामा सत्ता गठबन्धनका ४ राजनीतिक दल रहेका छन्। नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपा रहेका छन्।

नेकपा एमालेको भागमा परेमा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्नेछन् भने माओवादी केन्द्रको भागमा परे माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्री बन्नेछन्।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरिरहेको छ। नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन्। माओवादी केन्द्रले कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा सरकारको नेतृत्व दाबी गरिरहेको सत्तारुढ गठबन्धन दलका एक नेताले बताए।

माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७ र राप्रपा १ गरेर सत्ता गठबन्धन दल सँग २९ सांसद छन्। ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सांसद आवश्यक हुन्छ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस १९, नेकपा एस ४ र एक स्वतन्त्र सांसद छन्।

प्रकाशित: २४ पुस २०७९ १६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App