२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारमा जानुको कुनै औचित्य छैनः मोर्चाका नेताहरू

रौतहट– यथास्थितिमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारमा जानुको कुनै औचित्य नभएको मधेसवादी नेताहरुले बताएका छन्। तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशी मोर्चा सरकारमा नजाने बताएका हुन्। माओवादीको नेतृत्वमा सरकार बने पनि मधेशको माग सम्बोधन हुने वा नहुने कुनै आधार नदेखिएकोले मोर्चा सरकारमा जाने प्रश्न नै नरहेको ठाकुरको भनाइ छ।

तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता राम नरेश राय सरकारमा जाने औचित्य नभएको बताउँदै मोर्चा सरकारमा नजाने स्पष्ट पारेका छन्। उनी स्पष्ट शब्दमा भन्छन्– 'मोर्चा सरकारमा जाँदैन। जबसम्म मधेसको मुद्दा सम्बोधन हुँदैन तबसम्म मोर्चा सरकारमा जाँदैन।' पहिले नै राजीनामा दिनुपर्ने माओवादीले राजीनामा नदिएको र मधेशीलाई अधिकार समेत नदिएको आरोप लगाउँदै नेता राय भन्छन्, 'माओवादीले मधेश आन्दोलनको क्रममा सहिद भएकालाई सम्मान गरेन, घाइतेलाई क्षतिपूर्ति दिएन।' मोर्चालाई अधिकारसित सरोकार भएको र सरकारसित कुनै सरोकार नभएको पनि स्पष्ट पारेका छन्।

सदभावना पार्टीका महासचिव मनीष कुमार सुमन मधेशी जनता मधेशी दललाई प्रतिपक्षमा हेर्न चाहेको  बताएका छन् । मधेशी पार्टी र मोर्चाको समर्थन र विरोध कसैलाई चाहिन्छ भने पहिले मोर्चाले अगाडि सारेको मागको सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु पर्छ । माओवादी र कांग्रेसले नै संविधान जारी गरेर मधेशलाई अधिकारबाट वञ्चित गराएकोले मोर्चा सरकारमा जाने सम्भावना नभएको महासिचव सुमनको भनाइ छ।
 

प्रकाशित: २८ असार २०७३ ११:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App