१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर राईको मृत्यु

त्रियुगा नगरपालिकाको पहाडी वडा खाँबुका एक स्थानीयको बुधबार रुखबाट लडेर ज्यान गएको छ। बाख्रालाई घाँस काट्न गएका त्रियुगा नगरपालिका १५ खाँबु बरुवा डहरका ५५ वर्षीय दलबहादुर राईको लडेर मृत्यु भएको हो। 

स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार बिहान ११ः०० बजे घरनजिकै घोत्लीको घाँस काट्न रुख चढेका राई अकस्मात लडेर घाइते भएका थिए। बाँया नली खुट्टा र टाउकोमा गम्भीर चोट लागेर गम्भीर घाईते भएका उनलाई उद्धार गरी जिल्ला अस्पतालमा उपचारार्थ ल्याइएको थियो।

दिउँसो १ः०० बजे अस्पताल ल्याइपुर्याएका राईको उपचारकै क्रममा ३ः०० बजे मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्ररहीले जनाएको छ। अस्पतालले एक्सरे, इसिजी सबै जँचाएर अप्रेसनको तयारी हुँदाहुँदै अकस्मात मृत्यु भएको उपचारमा संलग्न चिकित्सक हाडजोर्नी विशेषज्ञ डा. सशीभूषण प्रधानलाई उद्धृत गर्दै अस्पताल बिटका प्रहरी जवान काशी राईले बताए।

अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानेन्द्र झाका अनुसार गम्भीर घाइते भए पनि अस्पताल भर्ना हुँदा उनी सामान्य देखिएका थिए। टाउको र खुट्टाको अप्रेसन गर्ने तयारी भइरहँदा उनको मृत्यु भएको उनले बताए। डा. झाका अनुसार बाहिरी चोट हेर्दा अप्रेसन गरेर निको हुने खालको देखिए पनि भित्री चोट गम्भीर (इन्टरनल ब्लिडिङ) भएकाले बचाउन नसकिएको हो। 

‘खुट्टा र टाउकोको चोट उपचार गर्दा सहजै निको हुने खालको थियो’ डा. झाले भने ‘एक्सरे, इसिजी, प्रेसर र रगत जाँचका सबै रिपोर्ट सामान्य देखिएकाले अप्रेसन गर्न लाग्दा उनको प्राण गयो।’ डा. झाले अस्पतालमा सिटी स्क्यान र एमआरआई सुविधा नहुँदा यस्ता बिरामीको भित्री चोट पत्ता लगाउन नसकेर बचाउन नसकिएको बताए।

जिल्ला अस्पतालमा पछिल्लो समय धेरैखाले उपचार सुविधा उपलब्ध भए पनि सिटी स्क्यान र एमआरआई सुविधा भने नभएको डा. झाले बताएका छन्। सिटी स्क्यान र एमआरआई सेवा पनि सञ्चालन गर्न सके बिराटनगर र धरानजत्तिकै उपचार सेवा गाईघाटमै दिन सकिने झाले बताए। त्यसका लागि प्रदेश सरकार र संघीय मन्त्रालयसँग अनुरोध गरेको तर, अहिलेसम्म उपलब्ध नभएको डा. झाले बताए।

अस्पतालका प्रशासन अधिकृत योगेश्वर खनालले उदयपुृर अस्पतालमा पछिल्लो चरण दक्ष जनशक्ति, हाडजोर्नी, हर्निया, एपेन्डीसाईटिस, हाईड्रोसिल र जटिल खाले गर्भवतिको अप्रेसन (सिएस) द्वारा प्रसुति गराउने सुविधा छ। तर, सिटी स्क्यान र एमआरआई तथा पर्याप्त आइसियु र भेन्टिलेटर शैय्या नहुँदा भनेजस्तो उपचार गर्न नसकिरहेको खनालले बताए। सरकारले सिटी स्क्यान र एमआईआई सेवाका लागि आवश्यक यन्त्र उपकरण उपलब्ध गराए जिल्ला अस्पताललाई धरान, बिराटनगर र जनकपुरजत्तिकै उपचार सेवा दिन सक्षम हुने खनालले बताएका छन्।

उदयपुर अस्पतालमा हाल हाडजोर्नी, एनेथेसिया, बाल रोग विशेषज्ञ, आकस्मिक सेवासहित ९ जना विशेषज्ञ डा. कार्यरत रहेका छन्। त्यसैगरी ८ जना मेडिकल अधिकृत कार्यरत रहेको अस्पताललाई छिट्टै २ सय शैय्यामा स्तरोन्नति गर्ने गरी डिपिआर (विस्तृत परियोजना प्रतिबेदन) तयार गर्ने काम भइरहेको खनालले बताएका छन्।  

प्रकाशित: १३ पुस २०७९ १२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App