१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपा र नाउपा किन गएनन् सरकारमा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दुई दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारमा आफ्ना प्रतिनिधि पठाएनन्। 

प्रतिनिधिसभामा जसपाका १२ र नाउपाका ३ सांसद छन्। नाउपाले संस्थापक सल्लाहकार रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने नीति लिएको छ। ‘उहाँ (रेशम चौधरी) जबसम्म रिहाइ हुनुहुन्न, त्यतिबेलासम्म हामी सरकारमा जान्नौं,’ नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्, ‘यो पार्टीको नीति हो। यद्यपि यस विषयमा पार्टीले औपचारिक निर्णय गरेको छैन।’ नाउपाले मंगलबार पार्टीको बैठक बोलाई सरकारको विषयमा औपचारिक निर्णय गर्ने उनको भनाइ छ। अध्यक्ष श्रेष्ठले मंगलबार चौधरी बसेको ठाउँ केन्द्रीय कारागार डिल्लीबजार पुगी चौधरीलाई भेट गरेकी थिइन्। त्यसअघि उनी प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी भएकी थिइन्।

जसपाले भने सरकारमा कसलाई पठाउने भन्ने विषयमा टुंगो नलागेकाले सरकारमा सहभागी भएन। जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका छन्। ‘अध्यक्षज्यू सरकारमा नगएपछि अरू कसलाई पठाउने भन्ने विषयमा टुंगो नलागेकाले हामी सरकारमा गएनौं,’ जसपाका एक नेताले भने। तर जसपाका प्रवक्ता मनीष सुमनले भने पार्टीभित्र छलफल नभएकाले तत्काल कसैलाई सरकारमा नपठाएको बताए। सरकारमा जाने नीति जसपाले लिएको उनको भनाइ छ।

प्रकाशित: १२ पुस २०७९ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App