८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश १ का प्रदेशसभा सदस्यहरूले लिए सपथ

प्रदेश १ को प्रदेश सभामा सपथ ग्रहण गर्दै प्रदेश सभा सदस्यहरू। तस्बिरः चुमन बस्नेत /नागरिक

प्रदेश १ का प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्। सोमबार प्रदेश १ को प्रदेशसभा भवनमा प्रदेश १ का नव निर्वाचित सांसदहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्।

प्रदेशसभाका ज्येष्ठ प्रदेशसभा सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईले प्रदेशसभाका सदस्यहरूलाई  पद तथा गोपनीयताको शपथ ग्रहण गराए। प्रदेश प्रमुखको कार्यालयमा गनगाईलाई सोमबार नै प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। बाँकी ९२ सांसदलाई प्रदेश सभा बैठक कक्षमा शपथ गराइएको हो। जसमध्ये पाँच जनाले लिम्बू भाषामा र एक जनाले थारु भाषामा शपथ लिएका छन्।

लिम्बू भाषामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगु, नेपाली काँग्रेसका खगेनसिं हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले यक्थुम लिम्बू भाषामा र नेपाली काँग्रेसकी सुनिता गच्छदारले थारु भाषामा शपथ ग्रहण गरिन्।  बाँकी ८६ जनाले नेपाली भाषामा शपथ लिएका छन्।

प्रदेश १ मा प्रत्यक्ष तर्फ ५८ र ३७ समानुपातिक गरी ९३ सांसद छन्। प्रदेश १ मा अघिल्लो कार्यकालका १३ जना सांसद पुनः निर्वाचित भएर आएका छन्। सपथग्रहण पछि प्रदेशसभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित प्रदेशसभा सदस्यहरूलाई खादा र अविर लगाएर स्वागत गरेको थियो।  

प्रकाशित: ११ पुस २०७९ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App