४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यस्ता थिए प्रधानमन्त्री दाहालका चुनावी बाचा, पुरा होलान् त गोरखावासीको आशा ?

गोरखा २ बाट प्रतिनिधि सभामा निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका बाचा अहिले मतदाताले सम्झिरहेका छन्।

आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालदेखि चिया पसल र चोकहरूमा दाहालले गरेका प्रतिबद्धता सर्वसाधारणले स्मरण गराउँदै आशावादी रहेको बताईरहेका छन्। 

दाहालले मत माग्ने क्रममा मतदातालाई आश्वस्त पार्ने गरी कयौँ पटक भनेका थिए ‘म अहिले धेरै धुले बाटो हिँडिरहेको छु, पाँच वर्ष भित्र यी सबै बाटोलाई पिच बनाउने र यहाँका जनताको जीवनमा परिवर्तन ल्याउने छु।’ 

दाहालले सडक राम्रो भयो भने, चिल्लो भयो भने गाडी सलल कुद्ने बताउँदै जति गाडी छिटो दौडिन्छ, विकासको गति पनि त्यति नै छिटो हुन सडक कालोपत्रे हुनुपर्ने बताएका थिए। 

दाहालले आफू गोरखा २ बाट चुनाव लडे पनि गोरखा आफू सिङ्गो गोरखा आएको महसुस भएको बताएका थिए। ‘प्राविधिक रुपमा मेरो निर्वाचन क्षेत्र गोरखा २ हो तर मैले गोरखा आएको ठानेको छु।’ दाहालले गोरखा २ होस् या गठबन्धन दल काँग्रेसका उम्मेदवार राजेन्द्र बजगाईँलाई मत माग्न गोरखा १ का मतदाता सँग होस् उनले गोरखा १ को विकासका लागि पनि आफू लागिपर्ने बचन बाँडेका थिए। 

दाहालको अर्को प्रमुख मुद्दा थियो १२ सय मेघा वाटको बूढी गण्डकी जलविद्युत आयोजना जसरी पनि निर्माण गर्ने। उनले आफ्नो जीवनको बाँकी समय आर्थिक क्रान्तिका लागि भएको बताउँदै भनेका थिए ‘गोरखाको मात्र होइन सिङ्गो राष्ट्रको गौरव भएकाले यो बूढी गण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ, बन्छ।’ आयोजना निर्माण अघि बढ्नेमा यहाँका स्थानीय आशावादी छन्।

बूढी गण्डकी आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकाल भन्छन् ‘चुनावमा प्रतिबद्धता गरे अनुसार प्रधानमन्त्रीले काम गर्नुभयो भने आयोजना बन्छ, तर जनताका सबै समस्या हल गर्नुपर्छ।’ आयोजना निर्माण गर्दा यस अघि जनतासँग गरिएको प्रतिबद्धता, आयोजनाले गरेको सहमति कार्यान्वयन गरेर अघि बढ्नुपर्ने उनले बताए। ‘अन्यथा जनता नै प्रतिवादमा उत्रिने अवस्था पनि आउन सक्छ’ संयोजक ढकालले भने।

दाहालले प्राथमिकताका साथ बाचा गरेका अर्को विषय हो पालुङटार एयरपोर्ट। 

पालुङटार एयरपोर्टलाई प्रशिक्षण केन्द्र सहित संचालन गर्ने दाबी उनको थियो। तनहुँ, लमजुङ, मनाङ र गोरखालाई सहज हुने गरी उक्त एयरपोर्ट जसरी पनि संचालन गर्ने उनले बताएका थिए। 

आफ्नै निर्वाचन क्षेत्रमा पर्ने गोरखकाली रबर उद्योग नयाँ ढंगले संचालन गर्ने घोषणा दाहालले चुनावमा गरेका थिए। उद्योग संचालन गरेर गोरखालीलाई रोजगारीको नयाँ अवसर सिर्जना गर्ने उनको आश्वासन थियो। धेरैले दाहालको यो घोषणा महत्त्वाकाङ्क्षी रहेको बताउँदै आएका छन्। प्रधानमन्त्री बनेका दाहालले उद्योग पुन सुचारु गराउनेमा केही भने आशावादी छन्।

बेनिघाटदेखि लार्के (रुईला नाका) सम्मको सडक सुचारु गराउने, उत्तरी गोरखामा जडीबुटी संरक्षणमा जोड दिँदै संकलन र प्रशोधन केन्द्र निर्माण गर्ने, चुमनुब्री र धार्चे गाउँपालिकालाई समेटेर स्वायत्त क्षेत्र घोषणा गर्न पहल दाहालले घोषणा गरेका थिए।

तिब्बत सँग सिमाना जोडिएका चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा भन्छन् ‘प्रधानमन्त्री गोरखा पाउनु गौरवको कुरा हो, भोट माग्दा उहाँले गरेको बाचा पुरा गर्नुहुनेछ भन्नेमा आशावादी छु।’ तिब्बत सँगको नाका खोल्ने, उत्तरी दक्षिण लोक मार्ग निर्माण गर्ने, चुमनुब्रीलाई छुट्टै जिल्लाको माग समेत आफूहरूले गरेको लामाले बताए।

‘शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकासकालागि पनि हामीले माग गरेका थियौँ’ उनले भने ‘दाहालले प्रतिबद्धता जनाए अनुसार भएन भने हामी फेरी स्मरण गराउनेछौँ।’

गोरखा २ माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईको पनि गृह क्षेत्र हो। यी दुबै नेतालाई रिझाउन पनि दाहालले उनीहरूकै सुझाव अनुसार चुनावमा बाचा गर्दै हिँडेका थिए।

चुनावी सभामा दाहालसँगै गोरखा २ घुमेका भट्टराईले दाहाल देशको प्रधानमन्त्री बन्ने बताएका थिए। त्यसो त दाहाल आफैँले पनि आफू प्रधानमन्त्री बन्ने संकेत रहेको भन्दै मतदातासँग मत मागे। अन्ततः गोरखा २ बाट चुनाव जितेर गएका दाहाल एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका छन्।

चुनावमा भएको सत्ता समीकरण भने अहिले बद्लिएको छ। दाहाल गोरखा २ आएपछि प्रतिनिधि सभाको दाबी छाडेर प्रदेश सभामा झरेका काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउने घोषणा दाहालले गरे। प्रधानमन्त्री र मुख्यमन्त्री दुबै गोरखा २ ले पाउने भन्दै दाहाल, भट्टराई, पाण्डे समेतले मत मागे। दाहाल र पाण्डे दुवैले चुनाव जिते। अन्ततः सत्ता समीकरण बद्लियो। दाहाल प्रधानमन्त्री भए भने पाण्डेको मुख्यमन्त्री हुने संभावन क्षीण भएको छ।

प्रकाशित: ११ पुस २०७९ ०९:२७ सोमबार

पुष्पकमल दाहाल गोरखा २