१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धन टिकाउन दौडधुप

फाइल तस्वीर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको पहिलो अढाइ वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने प्रस्ताव गरेपछि धर्मराएको सत्ता गठबन्धनलाई जोगाउन शनिबार दिनभर नेताहरूले दौडधुप गरे। विगत डेढ वर्षदेखि सत्ता साझेदारीमा रहेका कांग्रेस-माओवादी केन्द्रबीच अब बन्ने नयाँ सरकारको सुरुको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटाउन नेताहरूको दौडधुप चलेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सरकारको पहिलो आधा कार्यकाल आफूले नेतृत्व गर्ने र त्यसपछि माओवादीलाई छोडिदिने भनेपछि दाहाल बिच्किएका छन्। देउवा अहिले पनि गठबन्धनबाट प्रधानमन्त्री छन्।

दाहालले पहिलो आधा कार्यकालका लागि प्रधानमन्त्री नपाए एमालेसँग सहकार्य गर्ने मनस्थिति बनाएपछि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेता रामचन्द्र पौडेलले भेटेर गठबन्धनबाट बाहिर नजान आग्रह गरेका छन्। उनीहरूले शनिबार माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपाललाई भेटेर सहमतिमा धेरै विषय टुंग्याउन सकिने भन्दै गठबन्धनबाट बाहिर नजान आग्रह गरेका हुन्।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल वर्तमान सत्ता गठबन्धनलाई कायम राखेर अघि बढ्नुपर्ने पक्षमा छन्। वर्तमान गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्दा नेपाललाई साथमा लैजान सकिने हो या होइन भन्ने द्विविधामा दाहाल छन्। यसैकारण दाहालले एमालेलाई वचन दिन सकिरहेका छैनन्। कांग्रेसले पनि सुरुको कार्यकाल दाहाललाई प्रधानमन्त्री दिने सम्भावना कमजोर बन्दै गएपछि उनी थप अन्योलमा छन्।

गठबन्धन दलको शनिबार साँझ बसेको बैठकमा पनि कुरा मिल्न सकेन। बैठकमा देउवा र दाहाल दुवैले प्रधानमन्त्रीमा दाबी गरे। दाहालले हिजो प्रतिनिधिसभामा ६३ सिट जितेको कांग्रेसलाई बोकेर सत्तामा पुर्‍याएको र अब बन्ने सरकारको पहिलो आधा कार्यकाल आफूले नेतृत्व गर्न पाउनुपर्ने अडान राखेपछि कुरा मिल्न सकेन। बैठक आइतबार पुनः बस्नेगरी टुंगिएको छ। सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार शनिबारको बैठक बिनानिष्कर्ष टुंगिएको र आइतबार पुनः बस्ने भएको हो। नयाँ सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दिएको सातदिनको समयसीमा आइतबार साँझ ५ बजेसम्म छ।

कांग्रेसले वामपन्थी दलबाहेकको सरकार बनाउने कसरत गरेसँगै माओवादी केन्द्रका अध्यक्ष दाहालले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने र आफू प्रधानमन्त्री बन्ने प्रस्ताव राखेर कांग्रेसभित्रै खेल्न खोजेका छन्। कांग्रेस सांसदले वामपन्थी दलबाहेकको सरकार बनाउन हस्ताक्षर संकलन गरेको स्रोतले बतायो।

प्रतिनिधिसभामा गैरवामपन्थी दल कांग्रेसका ८९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १४, जनता समाजवादीको पार्टी (जसपा) का १२, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ३ गरी १४८ सांसद छन्। सरकार बनाउन १३८ सांसदको समर्थन चाहिन्छ। गैरवामपन्थी दल मिलेको अवस्थामा सरकार गठन गर्न सकिन्छ। यही अंक गणितका आधारमा कांगेस सांसद अघि बढिरहेको स्रोतको दाबी छ।

कांग्रेसकै नेतृत्वमा सरकार बन्ने तर माओवादी केन्द्र र नेकपा एस बाहिर बस्ने अवस्था आए एमालेले विश्वासको मत दिने कांग्रेस नेताहरूकोे दाबी छ। ‘माओवादी केन्द्र र नेकपा एस सरकार बाहिर बस्ने अवस्था आए एमालेले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा कांग्रेसका केही सांसदले देउवालाई सुनाएका छन्’, स्रोतले भन्यो। नेकपा एस भने वर्तमान सत्ता गठबन्धनलाई टिकाएर लैजानुपर्ने र त्यसका लागि कांग्रेस र माओवादी केन्द्र मिल्नुपर्ने पक्षमा देखिएको छ।

कांग्रेसका केही सांसदले गैरवामपन्थी दलबाहेकको सरकार बनाउन कसरत थालेपछि माओवादी केन्द्रका नेताहरू एमालेसँग सहकार्य गर्नेगरी कुरा अगाडि बढाउन तयार भएको र शनिबार साँझ दुवै पार्टीका दोस्रो तहका नेताहरूबीच कुराकानी भएको स्रोतको दाबी छ। ‘माओवादीले सत्ता गठबन्धन छाडेको औपचारिक घोषणा गरोस्, सरकार गठनको विषयमा हामी सबै प्रकारले खुला छलफल गर्नेछांै’, एमालेका एक पदाधिकारीले भने, ‘तर माओवादीले दुई खुट्टा दुईतिर टेकेर निर्णय नगरेकाले अन्योल भएको छ।’

दाहालको प्रधानमन्त्री इच्छा तत्काल पुरा हुँदैन: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तत्काल प्रधानमन्त्री हुने इच्छा पुरा नहुने अभिव्यक्ति दिएका छन्। दाहालले एमालेसँग सहकार्यका लागि समयमै वर्तमान सत्ता गठबन्धन नछाडेपछि ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्। एमालेले माओवादीले सत्ता गठबन्धन छाडे दाहाललाई प्रधानमन्त्री स्विकार्न सकिने संकेत दिएको थियो। ओलीले यस्तो अभिव्यक्ति दिएपछि एमाले र माओवादीबीच सहकार्य हुने सम्भावना टरेको विश्लेषण पनि गरिएको छ।

एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले प्युठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जितेपछि एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले उनको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा ओलीले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूलाई लागेको बताए। उनले भने, ‘पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनुभएको छ तर मलाई लाग्छ उहाँले निर्णय गर्न ढिलो गर्नुभयो। संस्कृतमा एउटा नीतिश्लोक छ। त्यो भनेको लिनुपर्ने कुरा, दिनुपर्ने कुरा, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नुपर्छ, समयमा कुनै काम गरिँदैन भने समयले नै त्यसको उपलब्धि समाप्त पारिदिन्छ। अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ। किनभने उहाँले समयमा कदम चाल्नु भएन।’

ओलीले दाहालले जस्तै अरूले पनि समयमा कदम नचाले देश फेरि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना रहेको पनि बताए।

प्रकाशित: १० पुस २०७९ ००:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App