८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

शपथअघि जबराले दलसँग छलफल गर्ने

फाइल तस्वीर

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले बिहीबार संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्ने भएका छन्। बुधबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेर सभामुखको कार्यकक्ष सिंहदरबारमा पुगेका जबराले संघीय संसद् सचिवालयका अधिकारीसँग भेटेर बिहीबार १२ बजेका लागि राजनीतिक दलसँग छलफल गर्ने कार्यक्रम तय गरेका हुन्।

सांसदहरूको बिहीबार १ बजे पद तथा गोपनीयताको शपथ ग्रहणअघि अपराह्न १२ बजे उनले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेको संसद् सचिवालयले जानकारी दिएको छ। छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त र स्वतन्त्र गरी १२ दलको प्रतिनिधित्व हुनेछ भने स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ। प्रत्येक दलबाट १/१ जना र स्वतन्त्र पाँच जना सांसदलाई सर्वदलीय बैठकमा बोलाइएको सचिवालयले जनाएको छ।

बैठकमा शपथसम्बन्धी कार्यक्रम र संसद् भवनभित्र आसन गर्ने विषयमा ब्रिफिङ हुने बताइएको छ। संसद्भित्र सत्तापक्षका गठबन्धनलाई सत्तापक्ष बस्ने अर्थात् सभामुखको रोस्ट्रमबाट दायाँतर्फ र सरकारबाहिर रहेका दलहरूलाई सभामुखको आसनबाट बायाँतर्फ राखिने भएको छ। संसद् सचिवालयले संसद् भवनभित्र सिट व्यवस्थापनदेखि सरसफाइको काम पनि सम्पन्न भइसकेको जनाएको छ।

प्रकाशित: ७ पुस २०७९ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App