१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघ र प्रदेश सांसदलाई एउटै मालाले स्वागत

मतदाताले लगाइदिएको एउटै मालामा प्रतिनिधिसभा सदस्य पासाङ (दायाँ) र प्रदेशसभा सदस्य राई। तस्विरः महेश्वर

मंसिर ४ को चुनावमा निर्वाचित खोटाङका प्रतिनिधि र प्रदेशसभा सदस्यलाई मतदाताले एउटै माला लगाइदिएर स्वागत गरेका छन्। मंसिर ४ को चुनावमा वामलोकतान्त्रिक गठबन्धनबाट चुनाव जितेका प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ) र प्रदेशसभा (ख) का सदस्य भूपेन्द्र राईलाई बधाई दिने क्रममा मतदाताले एउटै माला लगाई दिएका हुन्।

चुनावको परिणाम आएपछि धन्यबाद ज्ञापन गर्न गाउँगाउँ पुगेका उनीहरुलाई जिल्लाको बाराहा पोखरी गाउँपालिकाका मतदाताले सांसदद्वयलाई एउटै माला लगाएर मिलेर काम गर्न सन्देश दिएका हुन्। धन्यबाद व्यक्त गर्न आएका गठबन्धनबाट चुनाव जितेका उनीहरु फरक पार्टीका भए पनि क्षेत्र र समस्या एउटै भएकाले मिलेर काम गर्न एउटै माला लगाइदिएको बाराहा पोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले बताए।  

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पासाङ नेकपा (माओवादी केन्द्र) का पोलिटव्युरो सदस्य हुन्। उनी प्रदेश १ सरकारमा खानेपानी, सिंचाई तथा उर्जामन्त्रीकै हैसियतमा संघीय चुनाव लड्न आएका हुन्। प्रदेशसभामा जित्ने राई नेपाली काँग्रेस १ नं. प्रदेश समितिका महासचिव हुन्। आप्mनो क्षेत्रबाट जितेका संघ र प्रदेशका जनप्रतिनिधिलाई विकास निर्माण र जनताको सेवामा एक भएर लाग्न सन्देश दिनका लागि मतदाताले एउटै माला लगाइदिएको अध्यक्ष बञ्जराले बताए।  

‘हामीले गठबन्धनको तर्फबाट भोट दिएर जिताएका दुई जनप्रतिनिधिलाई जनताको मुद्धा र समस्यामा एक भएर काम गर्नका लागि एउटै माला लगाईदिएका हौँ’ मतदाताको अभिमतबारे बञ्जराले भने ‘यो माला नचुडाउँनुहोस्, जनताको काम एक भएर लाग्नुहोस् भन्ने यसको सन्देश हो।’ बधाई ज्ञापन गर्दै स्थानीयले सडक, पुल, खानेपानी, सिंचाई, बाँदर नियन्त्रण, कृषि, शिक्षा र स्वास्थ्यलगायत गाउँका समस्या समाधानमा मिलेर लाग्न पनि आग्रह गरेका छन्।  

चुनावी परिणाम सार्वजनिक भएर प्रमाणपत्र लिएलगत्तैदेखि नवनिर्वाचित जनप्रतिनिधि टोली धन्यबाद ज्ञापनका लागि जिल्लाव्यापी अभियानमा लागेको छ। सो क्रममा टोली जिल्लाका १० वटै स्थानीय तहमा छुट्टाछुट्टै कार्यक्रम गरी धन्यवाद दिने तथा जनताका जल्दाबल्दा समस्याको टिपोट गरेर समाधानमा लाग्ने प्रतिबद्धता जनाउँदै हिडेको छ। जस अनुसार टोली बिहीबार जिल्लाको केपिलासगढी गाउँपालिका पुगेको छ।  

यसअघि सदरमुकाम दिक्तेलमा कार्यक्रम सकेर अघि बढेको टोलीले साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, जन्तेढुंगा र बाराहा पोखरी गाउँपालिकामा धन्यबाद ज्ञापन कार्यक्रम सम्पन्न गरिसकेको र दिप्रुङ चुईचुम्मा बाँकी रहेको जनाएको छ।  

प्रकाशित: १५ मंसिर २०७९ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App