७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

मोरङमा निर्वाचनको तयारी पूरा

निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहभागिहरू। तस्बिरः चुमन बस्नेत /नागरिक

मोरङमा निर्वाचनको सम्पुर्ण तयारी  पूरा भएको छ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयको शनिबार विराटनगरमा पत्रकार सम्मेलान गरी निर्वाचनको सबै तयारी पुरा भइसकेको जानकारी दिएको हो।  

मोरङका मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले मोरङमा निर्वाचनका लागि आवश्यक सम्पुर्ण तयारी पूरा भइसकेको जानकारी दिए। ढुंगेलका अनुसार मोरङमा  नेपालकै सबै भन्दा बढी ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहका छन्। जसमध्ये ३ लाख ६१ हजार १ सय ९३ महिला, ३ लाख ७४ हजार ३ सय २६ पुरुष र ६ जना अन्य मतदाता रहेका छन्।  मोरङ कारागारका २ सय १ जना कैदीबन्दी अस्थायी मतदाता रहेका छन् भने २ हजार ५ सय ९५ जनाकर्मचारी तथा सुरक्षाकर्मी पनि अस्थायी मतदाता रहेका छन्।  

मोरङमा ३ सय ६ वटा स्थायी र दुई वटा अस्थायी मतदान स्थल रहेको छ भने ८ सय ३९ वटा स्थायी मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र रहेका छन्। कारागारका कैदीबन्दीका लागि कारागारमै अस्थायी मतदान केन्द्र तयार पारिएको छ। कर्मचारीहरूका लागि विराटनगरको आदर्श पुस्तकालयमा मतदान केन्द्र तोकिएको छ। यस्तै निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका लागि सम्बन्धित निर्वाचन स्थलका केन्द्रहरूमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।  

मोरङको केरावारी गाउँपालिका ६ स्थित कालापानी सामुदायिक वन उपभोक्ता समिति मतदान केन्द्रमा सबै भन्दा बढी १ हजार ७६ मतदाता छन्। यस्तै सबै भन्दा कम धनपालथान गाउँपालिका ७ स्थित सर्वोदय मावि मुसहरी टोल छेउ मतदान केन्द्रमा  ३ सय ९० जना  मतदाता रहेका छन्। मोरङका मतदान केन्द्रहरूमा ६ हजार ७ सय १२ जना कर्मचारी खटाइएका छन्।  

यस्तै मतदान केन्द्रहरूमा स्वयंसेवक तथा निर्वाचनका विभिन्न कामहरूको प्रयोजनका लागि समेत गरी मोरङमा १३ हजार भन्दा बढी कर्मचारी खटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कासिराज दाहालले जानकारी दिए। नेपाल प्रहरी र म्यादीप्रहरी गरी ५ हजार ३ सय ९५, शसस्त्र, नेपाली सेनालगायतका अन्य सुरक्षा निकायबाटसमेत कुल ७ हजार ४ सय १७ सुरक्षाकर्मी खटाइएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए।  

मोरङको उत्तरी क्षेत्रका पालिकाहरूका मतदान केन्द्रहरू र भारतको सीमा क्षेत्रका पालिकाहरूका मतदान केन्द्रहरू  सुरक्षाका दृष्टिले संवेदनशिल रहेको देखिएको जनाइएको छ।  मतदातालाई त्रसितपार्ने उद्देश्यले मोरङको विराटनगर–३ स्थित पुष्पमार्ग र खारजी स्थित राजमार्गको छेउमा शंकास्पद बस्तु राखिएको र त्यस्ता बस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलिले नष्ट गरेको छ। वम जस्तो शंकास्पद बस्तु राखिएपनि दुबै स्थानमा फेला परेका बस्तुहरू बम नभएको दाहालले स्पष्ट पारे। मोरङमा सुरक्षाका दृष्टिले गम्भीर घटनाहरू हालसम्म नभएको प्रमुख जिल्ला अधिकारी दाहालले स्पष्ट पारे।  

प्रकाशित: ३ मंसिर २०७९ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App