२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

१५ जिल्लामा उच्च सुरक्षा सतर्कता

आइतबार हुने संघीय संसद् र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी १५ जिल्लामा उच्च सतर्कता अपनाइएको छ। शीर्ष नेताहरूले चुनाव लडिरहेका निर्वाचन क्षेत्रलाई सुरक्षा निकायले वर्गीकरण गरी उच्च सतर्कता अपनाएको हो।  

झापा, मोरङ, पर्सा, दोलखा, सप्तरी, सिरहा, रौतहट, धनुषा, चितवन, गोरखा, कपिलवस्तु, नवलपरासी, दार्चुला, कैलाली र डडेलधुरालाई निर्वाचन प्रयोजनका लागि सुरक्षा जोखिममा रहेको भन्दै उच्च सतर्कतामा राखेको हो।

शीर्ष नेताहरूले निर्वाचन लडिरहेका क्षेत्र र भारतसँग सीमा जोडिएका केही जिल्लालाई उच्च जोखिममा राखिएको सुरक्षा निकायले जनाएको छ।  

निर्वाचन प्रयोजनका लागि भएका सीमासुरक्षा बैठक र सुरक्षा अंगहरूको बैठकले ती जिल्लालाई विशेष निगरानीमा राख्नुपर्ने जनाएको छ। सुरक्षा अंगहरूले ती जिल्लामा नियमित सुरक्षाकर्मीबाहेक ‘रिजर्भ फोर्स’को पनि व्यवस्था गरेका छन्। निर्वाचनको क्रममा हुनसक्ने अराजनीतिक गतिविधि, झडप, हुलदंगालगायत क्रियाकलापलाई ध्यानमा राखी विशेष निगरानी राखिएको हो।  

शीर्ष नेताहरू तथा पूर्वप्रधानमन्त्रीहरूले निर्वाचन लडिरहेका जिल्लालाई सुरक्षा संयन्त्रले संवेदनशील जिल्लाभित्र राखेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल र पुष्पकमल दाहालले निर्वाचन लडिरहेका जिल्लालाई सुरक्षा संयन्त्रले विशेष निगरानीमा राखेको छ। त्यसगरी अन्य नेपाल–भारत सीमाक्षेत्र जोडिएका प्रदेश २ का केही जिल्लालाई पनि सुरक्षा संवेदनशीलताको हिसाबले जोखिममा राखिएको छ। साथै अर्बपति विनोद चौधरीले निर्वाचन लडिरहेको क्षेत्र नवलपरासी पश्चिमलाई पनि सुरक्षा संयन्त्रले निगरानीमा राखेको छ। साथै प्रधानमन्त्रीबाहेक गठबन्धन दलका नेताहरूले विशेष सम्बोधन गरेका सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र दार्चुलालाई पनि सुरक्षा संयन्त्रले विशेष निगरानीमा राखेको छ।  

त्यस्तै निर्वाचनको क्रममा सधैं बुथ कब्जा गर्ने र झडप हुने जिल्लाको रूपमा चिनिएको दोलखाका लागि पनि गृह मन्त्रालयले विशेष सुरक्षा व्यवस्था गरेको छ। दोलखाका ७ वटा मतदान केन्द्र र त्यसआसपास क्षेत्रमा सुरक्षा निगरानी क्षेत्र किटानी गर्दै अन्य मतदान केन्द्रमा भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘विभिन्न संवेदनशील मतदान केन्द्रको पहिचान गरी यसपटक त्यस्ता मतदान केन्द्रमा कुनै पनि प्रकारका अनैतिक र अराजनीतिक गतिविधि हुन नदिन चनाखो रहनेछौं, खटिएका सुरक्षाकर्मीबाहेक मद्दती फोर्स पनि भएकाले यसपटक मतदाताहरू सुरक्षित रूपमा मतदान केन्द्र पुगेर मतदान गर्नेछन्,’ गृह मन्त्रालयका एक अधिकारीले भने। विगतमा धेरै जिल्लामा बुथ कब्जा गरेको, मतदातालाई मतदान केन्द्रमा आउन नदिनेजस्ता गुनासा आएको भन्दै सुरक्षा अधिकारीले त्यस्ता क्षेत्र पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए। बुथ कब्जाजस्ता अराजनीतिक गतिविधि भए बुथ रक्षाका लागि सुरक्षाकर्मीलाई माथिको आदेशबिनै गोलीसम्म हान्ने अधिकार दिइएको छ। भीड नियन्त्रणका लागि दिइएको त्यो अधिकारलाई मतदान केन्द्रमा कोही कुनै प्रकारको अराजनीतिक गतिविधि हुनबाट रोक्न पनि सो अधिकार दिइएको मन्त्रालय स्रोतले जनाएको छ।  गृह मन्त्रालयका अनुसार निर्वाचनको क्रममा हुने अराजनीतिक गतिविधि नियन्त्रणका लागि सबै प्रकारको सुरक्षा व्यवस्था गरिसकिएको छ। विशेष सुरक्षा योजनाअन्तर्गत सुरक्षाकर्मी परिचालन हुँदा सुरक्षामा खटिएका बाहेक पनि मद्दती फोर्सले देशभर नै सहयोग गर्नेछन्।  

मन्त्रालयका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा बैठक राखेर सीमा बन्द गर्ने तथा दुवै देशका सुरक्षा अधिकारीले सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि भए सहयोग गर्ने सहमतिसमेत भएको छ।  ‘निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था कडा पारिएको छ, एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षाका सबै अंग परिचालन भएका छन्,’ गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले भने। उनका अनुसार निर्वाचनको क्रममा हुनसक्ने सबै प्रकारका गतिविधि नियन्त्रणका लागि सुरक्षा अंगलाई विशेष अधिकार प्रदान गरिएको छ। निर्वाचनको क्रममा निर्वाचन बहिष्कार पक्षधरले विथोल्नसक्ने सम्भावनालाई पनि ध्यानमा राखी मन्त्रालयले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी मुख्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सजगता अपनाउन निर्देशन दिइसकेको छ।  

नेपाली सेना, प्रहरी प्रधान कार्यालय तथा सशस्त्र प्रहरी मुख्यालयले निर्वाचन सुरक्षाको जानकारी लिइरहेका छन्। उनीहरूले आफ्नोतर्फबाट सबै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको तथा चुस्त दुरुस्त पारिएको बताएका छन्। निर्वाचनको सँघारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धिरजप्रताप सिंह र राजु अर्यालले आफूमातहत निकायलाई निर्वाचनको क्रममा कुनै पनि कमीकमजोरी नगर्न निर्देशन दिइसकेका छन्। त्यसै क्रममा महानिरीक्षकद्वयले निर्वाचन क्षेत्रमा खटिएका सुरक्षाकर्मीले कुनै पनि प्रकारको मोलाहिजा नगर्न र कानुनबमोजिम प्रक्रिया अपनाउन निर्देशन दिएका थिए। उनीहरूले कार्यक्षेत्रमा खटिएका अधिकारीलाई उच्च मनोबलका साथ खटिन र केही आइपरे तुरुन्तै खबर गर्नसमेत निर्देशन दिएका छन्।

प्रकाशित: ३ मंसिर २०७९ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App