२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘विदेशी ऋणबाट राज्य सञ्चालन गर्ने नभइ देशलाई आत्मनिर्भर बनाउँछु भन्ने नेतृत्व चुन्नुपर्छ’

फाइल तस्बिर।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनबाट देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने नेतृत्वको चयन गर्नुपर्ने बताएका छन्।

बिहीबार ललितपुरमा भएको चिनियाँ नयाँ नेतृत्वले नेपाल र विश्व सम्बन्धमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले भविष्यको नेतृत्व चयन गर्दा सधैँ विदेशीबाट ऋण लिएर राज्य सञ्चालन गर्ने नभइ देशलाई आत्मनिर्भर बनाउँछु भन्ने नेतृत्वको चयन गर्न आवश्यक रहेको बताए। 

उनले भने, ‘भविष्यको लिडरसिप अब हामीले यस्तो बनाउनुपर्‍यो की सधैँ हात थाप्ने होइन, हामी त भुनावमा जाँदा अमेरिकाले पत्याउँछ, चीनले पत्याउँछ र भोट माग्छौँ, अर्कोले पत्याइदिने ऋण दिनको लागि भोट माग्ने हो र? ऋण नचाहिने बनाउँछु भनेर भोट माग्ने लिडरसिप हामीलाई चाहिएको हो।’

अध्यक्ष तिमिल्सिनाले आसन्न निर्वाचनबाट नेतृत्व चयन गर्दा अहिले भएका मध्येबाट राम्रो उम्मेदवारहरुलाई जिताउन आवश्यक रहेको बताए। राजनीतिमा लागेका नयाँ युवा पुस्ताहरुले आफ्नो हस्तक्षेपकारी भूमिका निर्वाह गर्न ठोस एजेण्डासहित आउन जरुरी रहेको उनले बताए।

‘अहिले केही नयाँ युवाहरु त्यसरी उम्मेदवारी दिनुभएको छ। तर ठोस एजेण्डा के हो? हस्तक्षेपकारी भुमिका हुनको लागि त्यो ढंगले आउनसक्ने हुनुपर्छ, उनले भने ‘त्यसलाई विकास गरौँ र त्यो नहुँदासम्म भएको मध्येबाट कसले गरिरहेको छ, त्यसलाई प्रोत्साहित गर्नेतिर लागौँ।’

अध्यक्ष तिमिल्सिनाले नेतृत्वले गरेका कामबाट विश्वले नेपालको नाम लिनसक्ने बनाउन सक्षम नेतृत्वलाई जिताउन आवश्यक भएको बताए।

प्रकाशित: २ मंसिर २०७९ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App