झमझम पानीमा मतदान (फोटो फिचर)
इलाम – स्थानीय तह निर्वाचनकाे दाश्राे चरणकाे मतदान सुरू भइसकेकाे छ । जिल्लाका सबै स्थानीय तहका मतदान केन्द्रमा बिहान ७ बजे मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान सुरु भएपछि जिल्लाका केही स्थानमा पानी पर्न थालेको छ । तर, मतदाताहरू छाता ओढेर मतदान गर्न लाइन बसिरहेका छन् । संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्बाङले इलाम नगरपालिका–७ स्थित बालमन्दिर मतदान केन्द्रमा बिहान साढे ७ बजे मतदान गरे । कांग्रेस नेता कुलबहादुर गुरुङले पनि बालमन्दिर मतदान केन्द्रबाटै पौने ८ बजे मतदान गरेका छन् ।
मतदान गर्दै पूर्वसभामुख नेम्बाङले लामो समयपछि भएको स्थानीय निर्वाचन निकै उत्साहपूर्ण र महत्त्वपूर्ण पनि भएको बताए । ‘संविधान कार्यान्वयनको सिलसिलामा यो ‘महत्त्वपूर्ण ठोस र ऐतिहासिक कार्य भएको छ,’ नेम्बाङले सञ्चारकर्मीहरूसँग भने, ‘चुनावलाई तेस्रो चरणसम्म धकेल्नुपर्ने थिएन । तर, अब असोज २ को चुनाव पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्न लाग्नुपर्छ ।’
तराईमधेसदेखि हिमालसम्मका जनता यही निर्वाचनमार्फत पहिलोपटक यतिको अधिकारसम्पन्न भएको भन्दै उनले अब देश र गाउँ समृद्ध बनाउने जिम्मा जनताकै हातमा पुगेको बताए । ‘प्रदेश नम्बर–२ को निर्वाचन राष्ट्रिय जनता पार्टीको कारण देखाउँदै सारेको तर त्यही पार्टीले चाहिँ निर्वाचनको मिति सार्ने आफ्नो माग नै नभएको बताइरहँदा सरकारले मिति किन सा¥यो भन्ने अहिलेसम्म थाहा हुन नसकेको उनले बताए । ‘तैपनि, निर्वाचनमा जनताको उत्साह निकै देखिएकाले वास्तवमा जनता निर्वाचन र जनप्रतिनिधि चाहन्छन् भन्ने यसले पुष्टि गरेको छ,’ उनले भने ।
कांग्रेस नेता गुरुङले पनि मतदानमा मतदान ज्यादै उत्साही भएर सहभागी भएको बताए । ‘२०१५ सालअघिसम्म ढुंगा बटुल्न लगाएर कसले बढी ल्याउँछ, उसलाई नेता छान्ने अवस्थादेखि अहिलेसम्म आउँदा निर्वाचन निकै अनुशासित भएको अनुभव भयो,’ उनले भने, ‘जनता विकास र शान्तिका लागि चुनावमा सहभागी भएका छन् । उनीहरूले मतदान चाहेका छन् ।’ तीनै तहका निर्वाचन सम्पन्न गरेर देशलाई उचित निकास दिन यो स्थानीय तह निर्वाचन कोसेढुंगा भएको उनले बताए ।
जिल्लाका सबै मतदान केन्द्रमा बिहानै मतदान सुरु भएसकेको र निर्धारित समयमा निर्वाचन सम्पन्न हुने मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए । ‘बिहान ठीक ७ बजे सबैतिर मतदान सुरु भयो, सबैतिर मतदाता उत्साही भएर मतदानमा सहभागी भएका छन्,’ उनले भने ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि अहिले १० बजे सूर्याेदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गर्दैछन् । उनी त्यहाँ मतदान गर्न मंगलबार बेलुकै नजिक पुगिसकेका छन्।
दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा बुधबार (आज) निर्वाचन भइरहेको छ । निर्वाचन आयोगका अनुसार १ महानगर, ७ उपमहानगर, १ सय १ नगरपालिका र २ सय १५ गाउँपालिकामा बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदान हुँदैछ । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले यी स्थानीय तहका २ हजार ८ सय ७४ वडाबाट १५ हजार ३८ जनप्रतिनिधि चयन गर्ने आयोगको तथ्यांक छ ।
वैशाख ३१ को पहिलो चरणमा प्रदेश ३, ४ र ६ मा निर्वाचन भएको थियो । २ नम्बर प्रदेशको निर्वाचन भने तेस्रो चरणमा गर्नेगरी आउँदो असोज २ गतेका लागि सारिएको छ । तीनै चरणमा सम्पन्न हुने स्थानीय निर्वाचनमा देशभरका ७ सय ४४ स्थानीय तहमा ३६ हजार ६ सय ५४ जनप्रतिनिधि चुनिँदैछन् ।
तस्बिर सबै भीम चापागाईं