मालिकराम राई
मेरो बाल्यकालमा मेरो टोलबाट पढ्न जाने कोही थिएन। पल्लो टोलको निरे कान्छा श्री हिमालय प्रावि सोल्मा केही दिन गएर जान छाडेको रहेछ। केही समयपछि हाम्रा आमाहरूले सल्लाह गरेर हामीलाई स्कुल पठाउनुभयो। हामी दुई भाइ खुशीसाथ स्कुल जान थाल्यौं।
घरमा हुँदा त धेरै काम गर्नुपर्थ्यो। कामले गर्दा एक क्षण पनि खेल्न पाइँदैनथ्यो। स्कुलमा त धेरै साथी हुने। उनीहरूसँग बोल्न, जिस्कन र खेल्न पाइने। दिउँसो एक घण्टा मजाले खेल्न, उफ्रन पाइने। बेलुकीपख साथीहरूसँग जिस्कँदै घर आउन पाइने। हामी घर बस्नुभन्दा स्कुल जान रमाउन थाल्यौं।
स्कुलका कोठाहरूमा आधा मात्र गारो लगाइएको थियो जसले गर्दा ओल्लो कोठाबाट पल्लो कोठा ढुङ्गा, डल्ला हान्न मिल्थ्यो। कहिलेकहीं दुवै कोठाबाट डल्ला हानाहान गर्थ्यौ। एक दिन मैले एउटा डल्ला पल्लो कोठा जोडले फालेँ। कोही केटा चिच्यायो, ‘आइया ।’
अर्को केटो बोलेको प्रष्टै सुनियो, ‘कस्ले डल्ला हानेको ? चाउरेको निधार फुट्यो।‘
डल्ला गएर चाउरेको निधारमा बज्रेछ। उसको वास्तविक नाम भुले । ऊ रूँदै कार्यालय गयो। शिक्षकहरूलाई पोल लायो, ‘शहर, पल्लो कोठाबाट कसले ढुङ्गा हान्यो ? मेरो निधार फुट्यो।विद्यालयको प्रधानाध्यापक वीरबहादुर दाहाल हुनुहुन्थ्यो। सर हाम्रो कोठा आउनुभयो र सोध्नुभयो, ‘ढुङ्गा, कसले हानेको ?’ म घोप्टिएर बसिरहेँ।
एउटा केटाले भन्यो, ‘मालिकेले हानेको हो सर।‘
सर मेरोछेउ आउनुभयो र कान तान्दै भन्नुभयो, ‘पर हिँड् बदमास । तँलाई कसले ढुङ्गा हान्न सिकायो ।’
स्कुलको मैदानको भित्तामा लगेर भन्नुभयो, ‘खुट्टा माथि भित्तामा ठड्याएर हातले भुइँ टेक्। मैले उँधोमुन्टे सजाय भोग्नुपर्यो। हातले टेकेर उँधोमुन्टे भएँ। एकछिनपछि हात गलेर फतक्क भयो। हातले थाम्न नसकेपछि टाउकाले भुइँ टेकेँ। एकछिन आनन्द भयो। एकछिनपछि टाउको पनि गल्यो। हातले टेकेँ। गल्यो। टाउकोले टेकेँ। गल्यो। धेरै पटक बद्लेर पनि सरले उभ्न लाउनु हुन्न। शरीरको रगत टाउको र हातमा झरिसक्यो तर सरले उठ्न लाउनु हुन्न। बरु एकजना सरको साथीसँग बोलिरहनुभयो। मलाई देखाउँदै सरले भन्नुभयो, ‘यो केटो हाम्रो स्कुलको एक नम्बरको फटाहा हो। यसलाई यसरी एक घण्टा सजाय दिनुपर्छ र मात्र चेतिन्छ।’
वास्तवमा म चेतिसकेको थिएँ। किनकि मलाई हात र टाउकोमा मात्र असह्य वेदना भइरहेको थिएन । मलाई पछुताउँदै थिएँ । मैले अबदेखि यस्तो गल्ती गर्दिनँ भनेर मनमनै अठोट गरिसकेको थिएँ। एकछिनपछि सरले मलाई उभ्याएर सम्झाउनुभयो। त्यसपछि मैले त्यस्तो बदमास कहिल्यै गरिनँ। बरु मैले कम बोल्ने, पढिरहने गरेँ।
मैले ठूलो कक्षा श्री सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा पढ्नुपर्यो। यहाँ पनि मैले सोल्माकोजस्तै कम बोल्ने र पढिरहने बानी छाडिनँ। म नौ कक्षामा पढ्दै गर्दा एकदिन कार्यालय सहायकले हाम्रो कक्षाकोठामा आएर भन्यो, ‘मालिकराम राईलाई गुरुजीले अफिसमा बोलाउनुभएको छ।’
म डराउदै अफिस गएँ। ढोकाछेउ पुगेर भने, ‘म भित्र आउन सक्छु गुरुजी ।’
उज्यालो मुहारमा गुरुजीले भन्नुभयो, ‘आइजआइज।’
गुरुजीको मुहार पढेरै मेरो डर हराइसकेको थियो। रिसाएको, खुसाएको उहाँको मुहार मैले पढिसकेको थिएँ।
उहाँले एउटा चिट्ठीको बन्दी खाम मलाई दिँदै भन्नुभयो, ‘हामी सरहरूले उठाएको पैसाले हाम्रो स्कुलको विद्यार्थीमध्ये तीन जना सबभन्दा इमानदार पढ्नमा लगनशील विद्यार्थीलाई यो पुरस्कार दिएका छौं। तिमीले तेस्रो पुरस्कार पाएका छौ। अझ इमानदार लगनशील भएर पढ्नु ।’
सोल्मा स्कुल मलाई पढाउने वीरबहादुर सर त्यही हुनुहुन्थ्यो। हतपत सरले गुरुजीलाई भन्नुभयो, ‘यसलाई मैले सोल्मा स्कुल पढाएको। यो एक नम्बरको इमानदार र लगनशील विद्यार्थी हो।’
मैले सबै सरहरूलाई धन्यवाद दिएँ। वीरबहादुरको कुराले हाँस्दै म कक्षा कोठातिर लागेँ। त्यो पुरस्कार पाउँदा म कम खुशी भइनँ। पैसा त पचास रुपियाँ मात्र थियो तर सरहरूको मप्रतिको विश्वास र प्रशंसा नै मेरा लागि अमूल्य थियो। कहिलेकहीं सानासाना कुराले पनि असीमित खुशी मिल्दो रहेछ। मैले अहिलेसम्म करोडौं रुपियाँ कमाएँ तर करोडौंभन्दा त्यो पुरस्कार मेरा लागि जीवन्त मूल्यवान् भइरहने छ।
प्रकाशित: १ श्रावण २०७७ १०:४५ बिहीबार