७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

सोनुको सहयोग

बालकथा

देवकी केसी

देवकी केसी

सोनु कक्षा पाचँमा पढ्छ । सोनुको घर काभ्रे जिल्लामा पर्दछ । सोनुको आमाबाबुको अरनिको राजमार्गमा जोडिएको एउटा लस्सी पसल थियो । अरनिको राजमार्गमा भएर यात्रा गर्ने यात्रुहरु को पसलमा लस्सी पिउन निकै भीड हुन्छ । विशेषगरी गर्मी समयमा लस्सी पसलमा धेरै मानिसहरू  आउने गर्दछन् । फुर्सदको समयमा सोनु पनि आमाबुबालाई लस्सी पसलमा सघाउने गर्दछ ।

सोनुको आमाबुबाको लस्सी पसल मात्र नभएर फलफूलको बगैचा पनि निकै ठुलो थियो ।  बगैंचामा आँप, अम्बा, केरा, सुन्तला, निबुवा लप्सी, कटहर अनि किम्बुका बोटहरू  पनि प्रशस्त थिए । सोनुका आमाबुबाले फलफूलका बगैचाको पनि निकै हेरविचार गर्नुहुन्छ । सोनु पनि प्रायजसो बिहानबेलुका  बगैंचामा जान्छ । उसलाई बगैंचामा डुल्न, फलफूलका झरेका फूल र पातहरू बटुल्न, पाकेका फल खान असाध्यै मन पर्छ ।  

सोनुको विद्यालयमा अन्तिम परीक्षा सकिएलगत्तै देश लकडाउन भयो । परीक्षाको नतीजा पनि आएको थिएन । कोभिड १९ कोरोना भाइरस चीनको बुहान शहरबाट सुरुवात भएर विश्वमा नै महामारीको रूपले फैलिएलगत्तै देशहरू धमाधम लकडाउन हुन थाले । विश्वका धेरै शक्तिशाली र ठूला राष्ट्रहरू पनि कोरोनाले नराम्रोसँग प्रभावित बने । नेपालमा पनि, लकडाउन भएपछि कामका लागि अन्यत्र जानेहरू पनि घर फर्किन थाले । कतिपय घर फर्कन नपाएका मजदूरहरू पैदल आफनो  घर फर्कन थाले ।

लकडाउनले अलपत्र परेका मजदूरहरू लुगाफाटा अनि आफना सामानहरू बोकेर अरनिको राजमार्गमा खालि गोडा हिँडिरहेका सोनुले देखेको थियो । कतिपय त आफना बच्चाहरू बोकेर हिँडिरहेका पनि देखिन्थे । कतिपय त भोक र थकाइले बिरामीझै देखिन्थे । यसरी अलपत्र यात्रुहरू देखेर सोनुलाई निकै दुख लाग्यो । ती अलपत्र परेका यात्रुहरूलाई सहयोग गर्ने ठूलो इच्छा जाग्यो सोनुलाई ।

सोनुको मनमा भने तिनीहरूलाई कसरी सहयोग गर्ने होला भन्ने कुरा खेल्न थाल्यो । ती अलपत्र यात्रुहरूको बारेमा सोच्दै ऊ बगैंचामा गयो । बगैंचामा आमाबाबु दुवै जना फलफूलको बिरुवामा पानी हाल्दै हुनुहुन्थ्यो । फलफूलको सबै बोटहरूमा पात पलाएर हरियो भएका र फूलहरू प्रशस्त फुलेका थिए। सोनुलाई फलफूलको  बोटमा पातहरू पलाएर हरियो भएको र फूलहरू फुलेको देख्दा निकै रमाइलो लाग्यो ।

बगैचामा किम्बुका बोटभरि किम्बु पाकेर रातो कालो भएका थिए । यसरी पाकेका किम्बुहरू देखेर सोनुलई निकै खुसी लाग्यो । उसलाई किम्बु टिपेर खान मन लाग्यो । पाकेका किम्बु देखेर लोभिएको सोनुले किम्बुको बोटबाट किम्बु टिपेर खाँदै थियो । उसको मनमा ती भोकभोकै अलपत्र परेका यात्रुहरूलाई पनि किम्बु टिपेर दिएर सहयोग गर्न सकिन्छ भन्ने विचार आयो ।

किम्बु टिपेर मुखमा हाल्दै गरेको सोनुलाई देखेर आमाबुबाले एकैसाथ भन्नुभयो, ‘सोनु हात धोएर आऊ, किम्बु टिपेर भाँडोमा हाल अनि पखालेर मात्र खाऊ । त्यतिकै टिपेर नखाऊ धूलाहरू टाँसिएको हुनसक्छ । किम्बु खान हतारिएको सोनुले त साँच्चै हातधुन पो बिर्सिएछ ।

सोनु हत्तपत्त घरमा गयो । साबुनपानीले हात धोयो । प्लास्टिकको एउटा ठूलो बाल्टिनलाई पनि साबुनपानीले राम्रोसँग सफा गरयो । अनि बगैंचामा आएर किम्बु टिप्दै बाल्टिनमा हाल्न थाल्यो । फलफूलका बोटमा पानी हाल्दै गरेका आमाबुबाले सोनुले यति धेरै किम्बु टिपेर बाल्टिनमा हाल्दै गरेको देखेर सोध्नुभयो, ‘सोनु, यति धेरै किम्बु किन टिपेको तिमीले ?’

सोनुले जवाफ दियो, ‘यो किम्बु टिपेर ती पैदलयात्रुहरूलाई बाँड्ने विचार गरें नि ।’

छोराको कुरा सुनेर उनीहरू निकै खुसी भए । पैदल यात्रुप्रति छोराको मनमा त्यस्तो सहयोगको भावना पलाएको देखेर आमाबाबुले सोनुलाई हेर्दै मक्ख पर्नुभयो ।बोटमा नै कुहिएर खेर जाने यो किम्बु टिपेर ति पैदलयात्रुहरूलाई दिँदा त धेरै राम्रो हुन्छ नि । सोनुको विचार उनीहरूलाई निकै सकारात्मक लाग्यो । 

यस्तो सानो उमेरमा पनि सोनुमा पलाएको सकारात्मक सोच देखेर आमाबाबुले निकै बुद्धिमान भएको ठान्नुभयो । उहाँहरूले पनि सोनुलाई सहयोग गर्ने मनसायले हात धोएर सोनुतिर जानुभयो र किम्बु टिप्दै बाल्टिनमा हाल्न थाल्नुभयो । तिन जनाले किम्बु टिपेर बाल्टिनमा राख्दा बाल्टिन एकक्षणमै भरियो ।

आमाबुबा र सोनु मिलेर किम्बुलाई घरमा लगेर सफापानीले पखाल्नुभयो अनि सफा  प्लास्टिकको झोलामा किम्बु हाल्नुभयो । आफूहरूसँग भएका बोतलहरूमा सफा पानी हालेर भर्नुभयो । सोनुले आफनो हातबाट किम्बु र पानीको बोतलहरू ती पैदलयात्रुहरूलाई बाँड्न थाल्यो । भोक, तिर्खा र थकाइले लखतरान भएका यात्रुहरू एकक्षण भए पनि किम्बु र पानी खाएर आराम गर्न पाँउदा निकै खुसी भए ।

पैदलयात्रुहरू आफूसँग खुसी भएकोमा सोनु पनि निकै खुसी भयो । सानो भए पनि आपत्– विपत्  परेको बेला आफूसँग जे छ त्यसैले सहयोग गर्न पाउँदा सोनु निकै खुसी भयो । सोनुको कामले खुसी बनेका पैदलयात्रुहरू देखेर उसका आमाबाबु पनि खुसी हुनुभयो ।

सोनुले यसरी नै लकडाउनको समय, स्कुल बन्द भएको  बेला दिनदिनै पैदलयात्रुहरूलाई किम्बु र पानी वितरण गरेर समयको सदुपयोग गर्दै गयो । सोनुको यो सहयोगी भावना देखेर आमाबाबुले पनि सोनुको यो काममा सहयोग गर्नुभयो । आपत र विपतको समयमा आफनो तर्फबाट सबैले सक्दो सहयोग गर्नुपर्ने भावना सोनु तिमीलाई सधैं यसरी नै आइरहोस् भन्दै आमाबुबाले सोनुलाई खुसी हुँदै भन्नुभयो ।

प्रकाशित: १९ असार २०७७ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App