९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

बाढीको चर्तिकला

ज्ञानु अधिकारी

साउनको महिना थियो । चारपाँच दिनदेखि झमझम पानी परिरहेको थियो । आँगन, खेत, बारी, बाटो जताततै पानीपानी देखिन्थ्यो । मलाई पानी परेको हेर्न र त्यसको आवाज सुन्न खूृब मन पथ्र्यो । सुरुसुरुमा त म खूब रमाएँ । तर, अब धेरै दिनसम्म पानी परेकाले मलाई पनि झर्को लागिसकेको थियो । खेतका गराहरू पानीको पोखरीजस्ता देखिएका थिए । घर अगाडिको कुलो बढेर आँगनसम्म आइपुग्ला जस्तो भएको थियो । गाउँमा अब ठूलो बाढी आउने भयो भनेर सबैले चिन्ता गरेका थिए । मैले ठूलो बाढी देखेको थिइनँ । सोचेँ – बाढी आयो भने कस्तो हुन्छ होला ?

त्यो दिन खाजा खाएर बुबा खोला कत्रो भएको छ भनेर हेर्न जानुभयो । आमा गोठमा गाईलाई घाँस पानी दिँदै हुनुहुन्थ्यो । म भने बाख्राका पाठापाठीलाई मकै छोडाएर खुवाउँदै थिएँ । हेर्दाहेर्दै बिस्तारै आँगनको पानी पिँढीमा उक्लियो र ढोकाबाट भित्र पस्न थाल्यो । पाठापाठी डराएर कराउन थाले । म पनि डराएर आमालाई बोलाएँ । गोठमा पानी पसिसकेको रहेछ । आमाले भुइँमा भएका सामानहरू उठाएर हतारहतार टेबलमाथि राख्न थाल्नुभयो । उहाँले डराएको आवाजमा भन्नुभयो – ‘लौन बाढी आयो ।’ यतिबेलासम्म बुबा पनि दौड्दै आइसक्नुभएको थियो । उहाँले सबैभन्दा पहिले गोठमा गएर गाई र बाख्राको दाम्लो फुकाइदिनुभयो र मलाई पाठापाठी लिएर माथि चोटामा उक्लन भन्नुभयो । अब भने मलाई असाध्यै डर लाग्न थाल्यो ।

म बाख्रा र पाठापाठी लिएर माथि उक्लिएँ । बुबाआमा मिलेर तलका सानासाना सामानहरू सबै माथि उकाल्नुभयो । यतिबेलासम्म घरभित्र घुँडाघुँडा पानी भइसकेको थियो । गाउँभरि खैलाबैला मच्चिएको थियो । कोही रुन थालेका थिए भने कोही आत्तिएर चिच्याइरहेका थिए । भुइँघर हुनेहरू सामान पोको पारेर दुई तला भएको छिमेकीको घरमा सर्दै थिए । ससाना केटाकेटीहरू डराएर रोइरहेका थिए भने वृद्ध हजुरबाहजुरआमा पनि आत्तिरहनुभएको थियो । ठूलाठूला दाइ, दिदी र अंकलहरू भने घरका सामान, बाख्रा, कुखुरा र मान्छेहरूलाई सुरक्षित स्थानतर्फ सारिरहनु भएको थियो । यसरी सामान सारिरहँदा उहाँहरूको कम्मरसम्म पानी थियो भने आकाशबाट पनि पानी परिरहेको थियो । माथिको झ्यालबाट यो सबै गतिविधिहरू हेरिरहँदा मलाई सपनाजस्तो लागेको थियो ।

बाढीको चर्तिकला

हेर्दाहेर्दै घरभित्र पानीको सतह बढ्दै गयो । परपरबाट बाढीले जब सामानहरू, गाई, भैँसी, भाँडा, दराज बगाएर ल्याउन थाल्यो अनि म अति डराएँ । म रुन थालें । बाढीले हामीलाई पनि बगाएर लैजान्छ जस्तो लाग्यो । हाम्रो घरबाट पनि तलको खाट, कुर्सी र बेन्च बगाएर लगिसकेको थियो । बिस्तारै रात पर्दै थियो । पानी झन् जोडजोडले दर्किरहेको थियो । बुबाले मलाई काखमा राखेर सम्झाउनुभयो । हामीलाई केही हुँदैन नडराऊ । तलको झ्यालढोका सबै खुला छ । पानी त्यहीँबाट सलल बगेर जान्छ घरलाई केही हुँदैन । बुबाले मलाई बाहिर नहेर भन्नुभयो । बाहिरको दृश्य कहालीलाग्दो थियो । त्यसैले म पाठापाठीलाई अँगालो मारेर आमाको काखमा सुतेँ ।

म उठ्दा भोलिपल्ट बिहान भइसकेको रहेछ । बाढी स्वाट्टै घटेको रहेछ । घरभित्र देखि जताततै हिलो माटो थुप्रिएको थियो । गाईवस्तु केही बगाएर लगेको थियो भने केही हिलैहिलै भएर उभिइरहेका देखिन्थे । हरियाली कतै थिएन । जताततै हिलो माटो मात्र थियो । हिँडडुल गर्नका लागि कतै पनि बाटो थिएन । छिमेकीहरू उदास र चिन्तित देखिन्थे । हिजोअस्तिको त्यति सुन्दर गाउँ अहिले हिलैहिलो थुप्रिएको बगरजस्तो भएको थियो । तैपनि, हामी बाँच्यौँ भनेर हाम्रो मन खुसी थियो । मैले त्यतिबेला बल्ल थाहा पाएँ कि – यति उपयोगी र हितकारी पानी पनि कति सारो विनाशकारी बन्न सक्दोरहेछ । अहिले पनि धेरै दिनसम्म पानी प¥यो भने मलाई ती दिनहरूको याद आउँछ र भित्रैदेखि डर लाग्न थाल्छ ।

प्रकाशित: २३ जेष्ठ २०७७ १७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App