९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

बालबालिका र लकडाउन

महानन्द ढकाल                     

एक कक्षा उत्तीर्ण भएको खबर सुनेर खुसी भएकी छोरी आर्याले एकाबिहानै सोधिन् ‘बाबा स्कुल कहिले खुल्छ ?’ ‘भोलिपर्सि खुल्छ छोरी ।’ ‘भोलिपर्सि भनेको कहिले हो बाबा ?’ ‘कोरोना भाइरसको अन्त्य भएपछि ।’ ‘कहिले सकिन्छ र कोरोना ?’ ‘सकिन्छसकिन्छ ।’  ‘तर कहिले ?’ मेरो उत्तरसँग छोरी सन्तुष्ट भइनन् ।  म आफैं पनि सन्तुष्ट छैन मेरै उत्तरसँग । छोरीको विद्यालय जाने रहर नतीजा प्रकाशन भएपछि दिनानुदिन बढ्दै जान थालेको थियो । पछिल्ला दिनहरूमा आफ्ना साथीहरू र विद्यालयका कुराहरू अलि बढी नै गर्न थालेकी थिइन् आर्याले ।

छोरी आयुष्मा एसइईको तयारीमा छिन् । तयारी पनि कसरी भनुँ । लकडाउन सँगसँगै उनको पढाइप्रतिको उत्साह दिनानुदिन घट्दै जान थालेको अनुभव गर्दै छु म । शिक्षकहरूको सम्पर्क र साथीहरूको सहकार्यले नै बालबालिकाहरूको पढाइमा रुचि बढ्ने कुरा मलाई राम्रोसँग थाहा छ । यतिबेला न शिक्षकहरूसँग निरन्तर सम्पर्क छ न त साथीहरूसँगको सहकार्य नै । छोरी आयुष्माको पनि एउटै प्रश्न दोहोरिन थालेको छ ‘बाबा एसइई हुन्छ कि हुँदैन ?’ मैले पनि कसरी भन्न सक्थें र ? हुन्छहुन्छ भन्नुबाहेकको विकल्प मसँग हिजो पनि थिएन र आज पनि छैन ।

पेशाले म शिक्षक हुँ । पढाइ, परीक्षा र विद्यालयका कतिपय प्रश्नहरूको उत्तर मसँग हुनु जरुरी छ । मेरा विद्याथीहरू पनि छोरी आर्या र आयुष्माले सोध्ने गरेका कतिपय प्रश्नहरू फोन र म्यासेन्जरबाट  सोध्ने गर्नुहुन्छ । आजभोलि मेरा धेरै उत्तरहरू रेडिमेड हुन थालेका छन् । ‘भोलिपर्सि खुल्छ,’ ‘जानकारी हुन्छ,’ र ‘हुन्छहुन्छ ।’ जस्ता रेडिमेड उत्तरहरूले म आफै सन्तुष्ट छैन भने मेरा विद्यार्थीहरू कसरी सन्तुष्ट हुन सक्छन् ? कोभिड– १९  कोरोना भाइरस, वास्तविक लक्षण, लकडाउन, उपचार पद्धति आदिका विषयमा विश्व नै अनुत्तरित रहेको अवस्थामा एउटा सामान्य नागरिकले कसरी अडकलबाजी गर्न सक्ला र ?

कोभिड– १९ को सबैभन्दा बढी जोखिम समूहमा बालबालिका र वृद्धवृद्धाहरू राख्ने गरेको पाइएको छ । यो समूह आफैमा पनि आश्रित समूह हो । खान, बस्न र घुम्न सहाराको आवश्यक पर्छ यो समूहलाई । वर्तमान समयमा चलिरहेको लकडाउनले यो समूहलाई निराशा, तनाव र हतोत्साहित बनाएको स्पष्ट देखिन थालेको छ । बालबालिका र वृद्धवृद्धाहरूले आफ्नै दिनचर्या समयसापेक्ष बनाउन सकिरहेका छैनन् । यो अवस्था लम्बिदै जाने हो भने थप समस्या सिर्जना हुने कुरामा कुनै शंका छैन । बालबालिका र वृद्धवृद्धाहरूका लागि घरपरिवारले विशेष निगरानी गनुपर्ने देखिन्छ ।

एक जना मेरा व्यापारी मित्रले आफ्नो छोराको बारेमा कुरा गर्दै भन्नुभयो ‘मेरो बाबु कत्तिको चकचके रहेछ । बल्ल थाहा पाउँदै छु ।’ बालबालिकाहरू स्वभावले नै बढी उत्साहित वा जिज्ञासु हुने गर्दछन् । चकचक गर्नु र केही कुरा भत्काउनु वा बिगार्नु नै त बालापन हो । नयाँ कुरा बुझ्न खोज्नु नै त जिज्ञासु हुनु हो । हरेक बालबालिकाहरू पछिल्लो समय चौबिसै घण्टा आफ्ना बाबुआमासँग छन् । बालबालिकाले बाबुआमाका र बाबुआमाले बालबालिकाका आनीबानी राम्रोसँग चिन्न, जान्न वा बुझ्न पाएका छन् । यो कोभिड– १९  भाइरसको सबैभन्दा राम्रो पक्ष हो । बालबालिकाले बाबुआमा र बाबुआमाले बालबालिकालाई नचिनेरै कतिका जीवनलीला समाप्त भएका छन् । मेसिन जस्तै बनेका कतिपय बाबुआमाका यस्ता उदाहरणहरू समाजमा देखिन थालेका थिए ।

स्वतन्त्र भई आकाशमा उड्ने पक्षीलाई पिँजडाको साँघुरो घेरामा बस्न कति कठिन हुँदो रहेछ भन्ने मानिसले राम्रोसँग बुझेको छ यतिबेला । कोभिड– १९ भाइरसबाट सुरक्षित रहन लकडाउन स्वीकार्नुबाहेक अन्य विकल्प पनि त छैन । घरभित्रै परिवारजनहरूसँग रमाउन सक्नु नै ठूलो उपलब्धि हो यो समयको । बालबालिकाहरूका इच्छा, रुचि र चाहनासँग एकाकार हुन सक्नु नै बुद्धिमानी हो । लकडाउनमा बालबालिकाहरूको अधिकांश समय टिभी र मोवाइलमा बित्ने गरेको छ । टिभी, ल्यापटप र मोवाइललाई ज्ञान आर्जनको साधनमा रूपान्तरण गर्न सकियो भने केही उपलब्धि हासिल हुन सक्छ । विज्ञान र प्रविधिसँग सम्बन्धित कुराहरू हेर्न प्रेरित गर्न सकियो भने सधैलाई उपयोगी हुन सक्छ ।

टिभी, ल्यापटप र मोवाइलको अधिक प्रयोगले बालबालिकामा सिर्जनशीलता नष्ट हुने कुरा प्रमाणित भएको मानिन्छ । त्यसैले दिनभरि यी साधनहरूसँग नखेलुन् भन्नका लागि बालबालिकाहरूलाई भुलाउने सबैभन्दा राम्रो माध्यम हो चित्रकला वा हस्तकला । प्रत्येक दिन कुनै न कुनै चित्रकला वा हस्तकला बनाउन प्रेरित गर्न सकियो भने दुईतीन घण्टा सजिलै कट्न सक्छ भने बालबालिकाहरूमा सिर्जनशीलता पनि आउने गर्दछ । बालबालिकाहरूमा साहित्यतर्फ रुचि छ भने कथा, कविता लेख्न र पढ्न लगाउन सकिन्छ । वक्तृत्वकला र हाजिरीजवाफमा उत्साहित गर्न सकिन्छ । आफ्नै बाबुआमाको नजिक बसेर काम गर्न पाउँदा बालबालिकाहरू पनि निकै रमाउने गर्दछन् ।

हो म शिक्षक हुँ । मैले पाएको अनुभव हो यो । मेरा छोरीहरूसँग मैले गर्ने गरेका कामहरू पनि हुन् यी । बिहान छदेखि साँझ छ बजेसम्म विद्यालय र कलेजका विद्यार्थीहरूसँग रमाउने बानी परेको मलाई पनि दिनभरि घरमै बस्न त्यति सजिलो पक्कै होइन । परिस्थितिले घरमै बस्ने बनाएको छ । मैले समय कटाउने माध्यम छोराछोरीलाई बनाएको छु, हजुरहरूले नि ?

प्रकाशित: २२ जेष्ठ २०७७ ०८:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App