कक्षा–४,
पर्वत अंग्रेजी आवासीय विद्यालय, हुवास–४, पर्वत ।
साथीहरू, कोरोना महामारी विश्वभर फैलिएको छ । हाम्रो देशमा लकडाउन भएको पूरा दुई महिना भएको छ । यतिबेला तपाईहरू कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? मचाहिँ आफ्नै घर पर्वत जिल्लाको पैंयु गाउँपालिका –२ भर्मामा छु ।
हामी जो जहाँ छौं त्यहीं रहनु परेको छ । धेरै साथी आफ्नै गाउँ फर्किनु भएको रहेछ । हामीचाहिँ नेपालमा कोरोनाको संक्रमण फैलिनुअघि नै गाउँ छिरेका थियौं ।
स्कुल, बाटो, र बजारहरू बन्द भएका छन् । कोरोनाले गर्दा धेरै मान्छे विरामी भएका छन् । चार जना त मरिनै सकेका छन् । कोरोनाको डरले सबै जना घरभित्रै बस्न बाध्य भएका छौं ।
विद्यालय बन्द भएकाले मैले घरैमा बसेर धेरै काम सिकें । भाँडा माझ्ने, लुगा धुने र घरआँगन बढार्न सिके । बोटबिरुवा रोप्ने र तिनीहरूलाई पानी हाल्ने जस्ता धेरै काम सिकें । बाबाआमाले मलाई पढ्नलेख्न सिकाउनुहुन्छ । काउली, काँक्रा, खुर्सानी, तितेकरेला, फर्सी, घिरौंला र सिमी रोप्न मैले आमाबाट सिकें । साथै ती बोटबिरुवाहरूमा पानी हाल्न र गोडमेल गर्न पनि सिकें ।
म काठमाडौंमै जन्मिएँ । कक्षा ३ सम्म त्यहीँ पढे । त्यसैले गाउँघरबारे धेरै जान्न पाएको थिइन । गाउँ त कति धेरै रमाइलो रहेछ । शहरबजार जस्तो गाउँमा एउटा कोठामा मात्रै बस्नु पर्दैन । घर अगाडि फराकिलो आँगन हुन्छ । त्यहाँ जस्तो खेल्दा पनि कसैले गाली गर्दैन ।
गाउँमा स्वच्छ हावापानी पाइन्छ । गाउँमा शहरमा जस्तो कोलाहल, भीडभाड र धुलोधुवाँ हुँदैन । गाउँमा ताजा तरकारी, फलफूल र अन्न खान पाइन्छ ।
खेतबारीमा काम गर्न अलिक दुख हुन्छ । तैपनि हामीले गर्न सक्छौं । शहरबजारमा पानी नपाएर हामीले धेरै दुख पाएका थियौं । गाउँमा कुवा, धारा र खोलामा धेरै पानी पाइन्छ । त्यहीं खोलाबाट कुलो बनाएर खेतीबारीमा पानी लगाइन्छ ।
कोरोनाको कारणले विद्यालय बन्द भएको छ । तर, घरैमा बसेर कामहरू गर्न सिके । मैले लकडाउनको समय यसरी उपयोग गरे । तपाईहरूले नि ?
यो कोरोना भाइरसबाट बाँच्न अहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन । त्यसैले हामीले यसबाट बच्न भौतिक दूरी कायम गरौं । भीडभाडमा नजाऔं । घरैमा बस्ने, बाहिरफेरो जानु परे मास्क प्रयोग गरौं । साबुनपानीले मिचीमिची हात धौऔं । सबै सुरक्षित बसौैैं । आफू बाँचौ र अरूलाई पनि बँचाऔं ।
प्रकाशित: १४ जेष्ठ २०७७ ०१:०१ बुधबार