डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी
रुघा, खोकी, ज्वरोलगायत भाइरल इन्फ्लुएन्जा लागेको अवस्थामा भाइरसको संक्रमणका कारण व्यक्ति शारीरिक तथा मानसिकरुपमा शिथिल हुन्छ । विशेषगरी मौसमी परिवर्तनको समयमा भाइरल इन्फ्लुएन्जाले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । एक मौसमबाट अर्को मौसमको परवर्तनले वातावरणमा उतारचढाव हुँदा व्यक्तिको शरीरको प्राकृतिक प्रणाली परिवर्तित हुन्छ । शरीरको प्रणालीमा वातावरणीय प्रभावका कारण परिवर्तन हुँदा शरीर नै बिरुवाले पालुवा फेरेको जस्तो कोमल हुँदा भाइरसले छिटो आक्रमण गर्न सक्छ ।
एक्कासि मौसमी परिवर्तनले शरीरमा उतारचढाव
नेपालको सन्दर्भमा भन्ने हो भने प्रत्येक ऋतु परिवर्तनसँगै मौसम पनि परिवर्तन हुन्छ । त्यसैले भन्न सकिन्छ कि नेपालमा ६ ऋतु भएकाले प्रत्येक दुई महिनामा मौसम परिवर्तन हुँदा वातावरण फरक हुन्छ । यसरी मौसम परिवर्तन हुँदा शरीरले आफैँ प्राकृतिकरुपमै बिस्तारै सहजरुपमा वातावरणको ग्रहण गर्दै जान्छ । तर मौसममा हुने एक्कासि परिवर्तन तथा अनियमित परिवर्तनका कारण शरीरले मौसम परिवर्तनबाट शरीरमा हुनुपर्ने सहजतामा उतारचढाव भई शरीर असामान्य अवस्थामा पुग्ने जोखिम हुन्छ ।
व्यक्ति शारीरिक रुपमा स्वस्थ हुनका लागि सन्तुलितरुपमा व्यायाम तथा आहारविहारको आवश्यक हुन्छ । व्यक्तिले बिहान र बेलुका कम्तीमा पनि आधा–आधा घण्टा गरी दैनिक एक घण्टा व्यायाम गर्नु आवश्यक हुन्छ ।
बिहान उठेर तातोपानी पिइसकेपछि आफ्नै घरमा व्यायामको सामग्री प्रयोग नगरी वा गरेर व्यायाम गर्नु उचित हुन्छ । उफ्रिएर, दौडिएर, भान्सामा काम गर्दा, सरसफाइ गर्दा पनि शरीरमा राम्रो व्यायाम हुन्छ । मानिसलाई आफूलाई मन परेका गीतमा नाच्ने तथा जुम्बाशैलीमा नृत्य गर्दा पनि शरीरमा उपयुक्त व्यायाम पुगेको हुन्छ । त्यसैगरी आफ्नो रुचिअनुसारको ध्यान, प्रणायाम तथा योग गर्न सकिन्छ । यसो गर्र्दा मानिस स्वस्थ जीवनशैली अपनाएर जीवन व्यतीत गर्न सक्षम हुन्छ ।
यसरी मौसमी परिवर्तनका कारण शरीर असामान्य अवस्थामा पुगेको खण्डमा शारीरिक तथा मानसिक अवस्था सन्तुलित अवस्थामा ल्याउन आवश्यक हुन्छ । वातावरणीय प्रभावका कारण शरीर असन्तुलित भएको अवस्थामा रुघा, खोकी, ज्वरो, झाडापखाला लाग्ने, शरीर कमजोर भई गलेको महसुस हुने, खाना नरुच्ने, निद्रा नलाग्ने जस्ता समस्या उत्पन्न हुन्छन् । हामीले याद गरेको हुनुपर्छ नेपालको मौसमको कुरा गर्दा सामान्यतः चैतदेखि भदौ महिनासम्म यस्ता समस्याले हामीलाई बढी सताएको पाइन्छ ।
मौसमी रोगबाट बच्ने उपाय
त्यसो भए मौसमी परिवर्तनका कारण व्यक्तिको शारीरिक तथा मानसिकरुपमा हुने असन्तुलनलाई कसरी सहज तथा सन्तुलित बनाउन सकिन्छ भन्ने जिज्ञासा हुन सक्छ । मौसमी परिवर्तनका कारण व्यक्तिको शारीरिक तथा मानसिक अवस्थालाई सन्तुलित बनाएको खण्डमा शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढी शरीर मजबुत हुन्छ । जसका कारण व्यक्ति भाइरल इन्फ्लुएन्जालगायतका रोगको जोखिमबाट बच्न सकिन्छ ।
यसरी व्यक्ति शारीरिक तथा मानसिकरुपमा मजबुत बन्नका लागि समग्र स्वास्थ्य तथा जीवनशैलीको अवधारण अपनाउन आवश्यक हुन्छ । त्यसैगरी व्यक्तिले प्राकृतिक जीवनशैलीलाई पनि बढो ख्याल गर्नुपर्छ ।
स्वस्थ जीवनशैली अपनाउने टेक्निक
समग्रमा स्वस्थ (होलिस्टिक स्वस्थ) भनेको व्यक्ति शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक तथा वातावरणीय रुपमा स्वस्थ जीवनशैली अपनाउनु हो । जुन आजको आवश्यकता देखिन्छ ।
व्यक्ति शारीरिक रुपमा स्वस्थ हुनका लागि सन्तुलितरुपमा व्यायाम तथा आहारविहारको आवश्यक हुन्छ । व्यक्तिले बिहान र बेलुका कम्तीमा पनि आधा–आधा घण्टा गरी दैनिक एक घण्टा व्यायाम गर्नु आवश्यक हुन्छ ।
बिहान उठेर तातोपानी पिइसकेपछि आफ्नै घरमा व्यायामको सामग्री प्रयोग नगरी वा गरेर व्यायाम गर्नु उचित हुन्छ । उफ्रिएर, दौडिएर, भान्सामा काम गर्दा, सरसफाइ गर्दा पनि शरीरमा राम्रो व्यायाम हुन्छ । मानिसलाई आफूलाई मन परेका गीतमा नाच्ने तथा जुम्बाशैलीमा नृत्य गर्दा पनि शरीरमा उपयुक्त व्यायाम पुगेको हुन्छ ।
त्यसैगरी आफ्नो रुचिअनुसारको ध्यान, प्रणायाम तथा योग गर्न सकिन्छ । व्यायामका यी सबै विधिको आ–आफ्नै महत्व छ । शारीरिक व्यायामले शरीरका प्रत्येक अंगको कसरत हुन्छ । व्यायामले शरीर मजबुत भई शरीरको रोगप्रतिरोधात्मक क्षमताको वृद्धि हुने भएकाले शारीरिक रोग लाग्नबाट बच्न सकिन्छ ।
त्यसैगरी व्यक्ति मानसिक रुपमा स्वस्थ हुन विभिन्न विधि अपनाउन सकिन्छ । जसमध्ये रुचिअनुसारका गीत–संगीतमा रमाउने, सकारात्मक किसिमका सुझावको ग्रहण गर्नु उपयुक्त हुन्छ । यसरी व्यक्ति मानसिक रुपमा स्वस्थ भई तनावरहित जीवन जिउन सकिन्छ ।
नियमित ध्यान, प्राणायाम तथा योग गर्नाले आत्यात्मिक रुपमा व्यक्तिको मन शान्त रहन सहजता मिल्छ । व्यक्तिको मन शान्त भएको अवस्थामा व्यक्ति आफू त खुसी रहन सक्छनै । उसमा नयाँ किसिमको सकारात्मक सोचको प्रवाह भई सृजनात्मक काममा लाग्न मद्यत मिल्छ । बिहान ६ बजे र बेलुकी ६ बजेको समय व्यायामका लागि उपयुक्त समय हो ।
व्यक्ति शारीरिक तथा मानसिकरुपमा मात्रै हैन सामाजिक रुपमा पनि स्वस्थ हुन त्यतिकै आवश्यक हुन्छ । सामाजिक रुपमा स्वस्थ हुनका लागि समाजप्रति व्यक्तिको दृष्टिकोण सकारात्मक हुन आवश्यक हुन्छ । समाजप्रति सकारात्मक दृष्टिकोण राखेको अवस्थामा समाजमा भएका समस्या तथा चुनौतीलाई सहजीकरणका लागि भूमिका खेल्न सकिन्छ । समाजमा परेका अप्ठेरो अवस्थाको गाँठो फुकाउन सहयोग गर्ने तथा सक्रिय भूमिका खेल्नाले सामाजिक सद्भाव त कायम हुन्छ नै । व्यक्तिलाई आत्मसन्तुष्टिसमेत मिल्छ ।
जन्मिएपछि परोपकारी कर्म गर्नु नै मानिसको जीवनको सफलता हो । अलि भावनात्मक जस्तो लाग्न सक्छ । तर, यो सत्य हो कि,–व्यक्ति नाङ्गै जन्मन्छ र मृत्युपछि पनि उसको जीवनको नाङ्गै अन्त्य हुन्छ । जुन सत्य हामी सबैलाई थाहै छ । त्यसैले व्यक्तिले यो धर्तीमा पाइला टेकेपछि उसले परोपकारको उद्देश्य राख्नु पर्छ । संसारमा हामीले इतिहास देखेकै छौँ, जसले परोपकारी सेवा गरेका छन्, ती व्यक्ति मानवजातिको मनमा बसेका छन्, अन्य त त्यसै बिलाएका छन् । मृत्युपछि पनि परोपकारी व्यक्ति नै अमर रहेको यथार्थलाई नकार्न सकिँदैन ।
व्यक्तिको जीवनमा खानपानको ठूलो महत्व हुन्छ । त्यसमाथि पनि स्वस्थ जीवनशैलीका लागि खानपानले भूमिका नखेल्ने कुरै भएन । जीवन जिउने ऊर्जा नै खानपान हो । सन्तुलितरुपमा खानपान गर्दा व्यक्ति स्वस्थ तथा मजबुत हुन सक्छ । त्यसैले मौसमी परिवर्तन भएको अवस्थामा होस् वा अन्य समयमै किन नहोस् जीवनभरि स्वस्थ आहारविहारमा बडो ध्यान दिन आवश्यक हुन्छ ।
खानपानशैलीका पनि केही टेक्निक छन् । मानिसले बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउन आवश्यक हुन्छ । पानी पिउन सक्ने बालबालिकादेखि पाको उमेरसम्मका व्यक्तिले बिहान पानी पिउनुपर्छ । त्यसपछि बिहानको करिव आठ बजेको समयमा खाजाका रुपमा रोटी, मकै, भटमास खानु उपयुक्त हुन्छ । मौसम तथा ठाउँ वातावरण अनुसार फलफूलको ताजा जुस, फलफूल, सलाद खाजाका रुपमा खान सकिन्छ । बदाम, किसमिस, पिस्ता, ओखरजस्ता ड्राइफुड्स पनि खान सकिन्छ । सकेसम्म अग्र्यानिक तथा प्राकृतिक खानपान गर्नु नै स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
यसरी बिहानको खाजा खाइसकेपछि करिब एघारबजेसम्म आफ्नो नियमित काम गर्न सकिन्छ । बिहानको एघार बजे खाना खानु उचित हुन्छ । बिहानको खानाका रुपमा ठ्याक्कै यस्तै खाना खानुपर्छ भन्ने छैन । तर, उपलब्धता तथा आफ्नो स्वास्थ्यअवस्थालाई ख्याल गरि बिहानको खानाका रुपमा चामलको भात (ब्राउन राइस), च्याँख्लाको भात, ढिँडो, रोटीजस्ता परिकार विभिन्न किसिमका हरियो प्रजातिका सागसब्जी तथा गेडागुडी सँग खान सकिन्छ ।
त्यसैगरी बिहानको खाना खाइसकेपछि दिउँसोको तीन बजेसम्म नियमित काम गर्न सकिन्छ । दिउँसोको तीन बजे हल्का किसिमका खाजा खानु उपयुक्त हुन्छ । दिउँसको खाजाको रुपमा मकै, भटमास, चिउरा–तरकारी, रोटी, फलफूल खानु उपयुक्त हुन्छ । त्यसपछि बेलुका आठ बजेभित्र बेलुकाको खाना खाइसक्नु स्वास्थ्यका हिसाबले उपयुक्त हुन्छ । बेलुकाको खानाका रुपमा रोटी–तरकारी, च्याउको सुप, कोदोको सुप, ब्राउन राइसको सुप, विभिन्न किसिमका गेडागुडी तथा सागसब्जीको सुप खानु अत्यन्तै उपयोगी हुन्छ । बालबालिकालाई भने उमेरअनुसारको खानपान गाराउनु पर्छ ।
खानपानमा सजगता
कुनै पनि संक्रामक रोगको महामारीको समयमा खानपानमा निक्कै सजगता अपनाउनुपर्छ । हामीले खाने खाद्यपदार्थमा समेत रोगका भाइरस (जीवाणु) र ब्याक्टेरिया (किटाणु) हुन सक्ने भएकाले भान्सासम्म त्यस्तो रोग आउनबाट बच्नका लागि सावधानी अपनाउनुपर्छ । हामीले भान्सामा ल्याउने तरकारी तथा फलफूल राम्रासँग पखालेर भित्र्याउनुपर्छ । तरकारी तथा फलफूललाई खानुपूर्व करिब आधाघण्टा तातोपानीमा नुन हालेर डुबाएपछि खान सकिन्छ । त्यसैगरी सकेसम्म काँचो खाने किसिमका खाद्यपदार्थ खानु हुन्न । माछामासु तथा अन्य खाद्यपदार्थ राम्रोसँग पकाएर खाएको अवस्थामा केही हदसम्म भए पनि रोगको संक्रमणबाट बच्न सकिन्छ ।
समग्ररुपमा स्वस्थ जीवनशैली अपनाउनाले मानिस शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुन सहयोग मिल्ने भएकाले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । जसका कारण विभिन्न मौसमी रोग तथा रोगको प्रकोपको जोखिमबाट बच्न सकिन्छ ।
प्रस्तुति : उपेन्द्र खड्का
प्रकाशित: २१ वैशाख २०७७ ०५:०७ आइतबार