सञ्जीव पौडेल
हो,
छोरीलाई कापी किन्न
मैले चुँडिएको बरियो गाँसेर नाम्लो बनाकै हुँ
छोराको टिफिन भर्न
सारङ्गी पेट कसेर भारी बोकेकै हुँ
उनीहरू पिरोल्दा फकाउन
आफैँले तलतल मेट्न चपाउने
सुपारी किन्ने पैसाले ललीपप किनेकै हुँ ।
म मेरा आँखाका दुवै नानीले
संसार हेर्न चाहन्छु
यिनै दुईमा ऐना हेर्दै
इन्द्रेणी सपना भर्न चाहन्छु
मेरा यी भविष्यले
फेरि भारी बोकिरहून्
गिट्टी नै कुटिरहून् भन्ने चाहन्नँ म ।
मैले झैँ
नबोकून् भनेर भोको पेटले भारी
गाँस काटेर तिरिरहेछु विद्यालयको शुल्क
मेरा झैँ
नउठाऊन् भनेर हातभरि ठेला
रगत बेचेरै किनिदिएको छु पुस्तकहरू
र भर्ना गरिदिएको हुँ
छिमेकका साथीहरू पढ्ने
यिनकै रोजाइको विद्यालय ।
भोक मेट्न
बरू कोपरुँला माटोम
उधिनुँला कन्दमूल
प्यास मेट्न
बरू पिइरहुँला पसिना
तर सपनाको हत्या गर्न सक्तिनँ
स्वाभिमानको मलामी जान सक्तिनँ ।
मलाई आफ्नै पेटभन्दा
लाखगुणा महान् लाग्छछोराछोरीको भविष्य
तिमीले दिने
नाथे राहतको खुजुरे पोको नलिएरै म
चुरा फोरिएर रित्तै बनेका नाडी
अनि
सहारा ढलेर एक्लिएका पाखुराकै भरमा
उभ्याउँछु मेरा भविष्यलाई
रङ्ग्याउँछु मेरा जिन्दगीलाई ।
तिमीले त मेरा भविष्यलाई
गिट्टी नै कुटाइरहन चाहन्छौ सायद
भारी नै बोकाइरहन चाहन्छौ सायद
र त
यो सङ्कटको घडीमा
छोराछोरी पढाएकै निहुँमा
सौतेनी व्यवहार गरिरहेका छौ ममाथि ।
भोकै असिना र आँधी सहने
जिन्दगीको पाठ पनि पढाएकी छु मैले
मेरा बचेराहरूलाई
मेरा सन्तानलाई खुवाउँछु घाम
पिलाउँछु हावा र सुताउँछु माटोको लोरी सुनाएर
तिम्रो कृपा खुवाएर जुठो बनाउनु छैन
मेरा बाबुनानीको पवित्र पेट
एक छाक भोकै राखेर पनि म
मेरै कमाइको खोले खुवाउँछु
यिनकै रोजाइको स्कुल पढाउँछु ।
चाहिँदैन मलाई
तिम्रो खुजुरे राहतको पोको
म स्वतन्त्रता खाएर
स्वाभिमान बाँच्ने मान्छे
म पसिनाको हिमनदी बगाएर
हिमाल झैँ हाँस्ने मान्छे ।
प्रकाशित: २९ चैत्र २०७६ ०५:१२ शनिबार