२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

उर्वशी : जसको प्रेम दिगो रहेन

दिपक दाहाल

परिवर्तन प्रकृतिको नियम । मिलनपछि विछोड अनि विछोडपछि मिलन प्रकृतिको नियति हो ।  परिवर्तनको प्राकृतिक नियम प्रेममा पनि लागू हुन्छ । कुनै दिन पुरुरवाप्रति आशक्त भएकैले श्राप व्यहोरेकी उर्वशीको हृदयले एक दिन त्यसै पुरुरवाका लागि यस्ता कटुवचन ओकल्छ– हे पुरुरवा ! उषाले बिहानीको साथ छोडेजस्तै मैले पनि तिम्रो साथ छोडिसकेकी छु । जसरी गतिवान् वायु कसैको हुँदैन, त्यसै गरी म पनि अब तिम्रा लागि अप्राप्य छु ।

हे पुरुरवा ! ध्यान दिएर सुन । स्त्रीहरूसँगको मैत्री कहिल्यै स्थायी हुँदैन । स्त्रीहरूको मन हिंस्रक जनावरहरूको झैं निष्ठुर हुन्छ । मैले त चार वर्षसम्म तिमीसँग रात बिताएको छु । कम्तीमा दिनको एकपटक सम्भोगको आनन्द पनि लिएको छु । यी सबैबाट तृप्त भएरै तिमीबाट पर हुन खोज्दैछु ।

मानव मनको मीठो गरी पहिचान गर्न सक्षम छन् उर्वशीका यी शब्द । मनको तहमा बाँच्न थालिसकेपछि नित्य नवीनताको खोजी हुन स्वाभाविकै हो । सोही भाव उर्वशीका भनाइमार्फत प्रकट भएका छन् । कुरा यत्ति हो कि पुरुरवामा उर्वशीप्रतिको मोह अझै बाँकी थियो भने उर्वशीको मन पुरुरवाबाट अघाइसकेको थियो । कथामा यसपछाडिका अनेकौं कारण दिइए पनि मूलतः यसमा मानव मनोविज्ञानकै सार छ, परिवर्तनशीलताकै परिपाक छ अनि प्रेमको वियोगान्त नियतिकै प्रकटीकरण छ । सार त के हो भने संसारका हरेक कुरा असार छन्, जसबाट प्रेम अछुतो छैन ।

ऋग्वेद कालीन समयमै गाथा गाइएकी प्रसिद्ध अप्सरा हुन् उर्वशी । ऋग्वेदमा उर्वशीको एक संवादात्मक सूक्तिमा थुप्रै ऋचा छन् । उर्वशी शब्द ऋग्वेदमा थुप्रै पटक आएको छ । तीमध्ये केही स्थानमा उर्वशी शब्द व्यक्तिवाचक अर्थमा आएको छ । सातौँ मण्डलमा यीबाट वशिष्ठ उत्पन्न भएको बताइएको छ भने दशौँ मण्डलमा उर्वशी पुरुरवा संवाद छ ।

उर्वशी जन्म
एउटा प्रसंग छ, नरनारायण ऋषि बदरिकाश्रममा तपस्या गरिरहेका थिए । उनीहरूले इन्द्रपद लेलान् भन्ने डरका कारण इन्द्रले वसन्त, काम एवं मेनका, रम्भा, घृताची आदि १६ हजार पचास अप्सरालाई तपभंग गराउन पठाए । उनीहरूले तपस्यारत नरनारायणका अगाडि हावभाव, कटाक्षसहित कामुक अभिनय गर्न थाले। तर उनीहरूको त्यस्ता किसिमको कृत्यले नरनारायणलाई प्रभाव पारेन। बरु नरनारायणले इन्द्रको मनसुवा बुझे ।अनि नारायणले आफ्नै तिघ्राबाट एउटी सुन्दरीको उत्पत्ति गरे। तिघ्राबाटउत्पन्न ती सुन्दरीका अगाडि अप्सराहरूको रूप छायामा प¥यो । उनीहरू लाज मानेर भागे ।अप्सराहरूबाट यस्तो घटना सुनेपछि इन्द्रनरनारायणको शरणमा पुगे र माफी मागे । नरनारायणले ती सर्वश्रेष्ठ सुन्दरीइन्द्रलाई नै दिइपठाए जो इन्द्रलोककी उच्च स्थानप्राप्त अप्सराका रूपमा स्वर्गमा बस्न थालिन् ।

अर्को प्रसंग विष्णुपुराणमा छ, पुराणपुरुष विष्णुअवतार नरनारायण गन्धमादन पर्वतमा तपस्या गरिरहेका थिए, तपस्या भंग गराउनका लागि इन्द्रले मदनसेना पठाए । उनीहरूले गायन, नृत्य, संगीत आदि अनेकौं प्रकारले तपस्वी नारायणलाई मोहित बनाउने प्रयास गरे, तर सबै प्रयास बेकार गयो । नरनारयणले उनीहरूलाई अत्यन्त मधुर शब्दले आदरसहित सोधे, यहाँ तपाईंहरू के कति कारणले आउनुभएको हो ? यो सुनेपछि कामादिले लज्जित भएर मुन्टो निहुराए । यत्तिकैमा उनीहरूले देखे कि नारायणको तिघ्राबाट १६ हजार एकाउन्न अप्सरा उत्पन्न भए जसमध्ये उर्वशी सर्वश्रेष्ठ सुन्दरी थिइन् । संस्कृतमा तिघ्रालाई उरु भनिन्छ, नारायणको उरुबाट जन्म भएकाले यिनको नाम उर्वशी रह्यो । पद्मपुराणले यिनलाई कामदेवको उरुबाट उत्पन्न भएको भनेको छ ।

प्राचीन साहित्य एवं पुराणमा उर्वशीलाई सौन्दर्यको पर्यायकै रूपमा वर्णन गरिएको पाइन्छ । विशेष गरेर वेद तथा पुराणमा उर्वशी र पुरुरवाको प्रेमलाई अत्यन्त महत्वका साथ दर्शाइएको छ । संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो नाटक विक्रमोर्वशीयमा पुरुरवा र उर्वशीकै कथालाई आधार बनाएका छन् । आधुनिक नेपाली साहित्यमा सिद्धिचरण श्रेष्ठले उर्वशी र अर्जुनको प्रसंगलाई आधार बनाई उर्वशी खण्डकाव्य लेखेका छन् ।

ज्योतिषीय दृष्टिले उर्वशीको राशि वृश तथा राशि स्वामी शुक्र हुन् । यस दृष्टिले पनि स्वभावतः बाह्य आवरण दर्शनीय हुन्छ । शरीर सुपुष्ट एवं आकर्षक हुनाका साथै स्वाभिमान, स्वच्छन्दता एवं शीतलता पहिलो नजरमै दृष्टिगोचर हुन्छ । स्वभाव मेहेनती, लगनशील, सहयोगी, धैर्यशाली, आत्मकेन्द्री तथा आवेगी पनि हुन्छन् ।
उर्वशी वेदपुराणादि ग्रन्थमा वर्णित आर्यावर्तका विख्यात ऋषिद्वय अगस्त्य र वशिष्ठकी माताका रूपमा समेत चिनाइएकी छन् । उर्वशीलाई देखेर स्खलित भएका मित्रावरुणका वीर्य घडामा राखिएको र त्यसबाटै अगस्त्य र वशिष्ठ ऋषि जन्मिएको कथा पुराणमा वर्णित छन् । यो प्रसंगबाट उर्वशीप्रतिको सम्मान तथा उनको अवर्णनीय सौन्दर्यको विषयमा थाहा पाउन सकिन्छ ।

अर्जुन एकपटक स्वर्गलोकमा घुम्न गएका बेला उर्वशीको रुप देखेर अर्जुन मोहित भएका थिए । अर्जुनलाई उर्वशीले पनि मनपराएकी थिइन् तर अर्जुनले उर्वशीको प्रेमप्रस्ताव अस्वीकार गरेका थिए । आफ्नो प्रेम अस्वीकार गरेको रिसले उर्वशीले अर्जुनलाई युवती भएर जन्म लिन परोस् भनि श्राप दिएकी थिइन् ।

प्रेममा बिछोड हुन मानव जातिमा ज्ञानको प्रवेश भएपछि र प्रेममा पर्न थालेदेखि नै सुरु भएको कुरा हो । यस्ता अनेकौं प्रेमको साक्षी इतिहास छ । तिनैमध्ये एक प्रेमको उदाहरणका रूपमा पुराणहरूमा वर्णित पुरुरवा र उर्वशीको प्रेम पनि पर्छ । अलौकिक सौन्दर्यकी धनी अप्सरा उर्वशी तथा एक पूर्ण मानव पुरुरवाबीचको प्रेम कहानीले वेदपुराणहरूका पाना तरंगित छन्, अनुप्राणित छन् ।

उर्वशी र पुरुरवाको प्रेम
चन्द्रपुत्र बुध र सूर्यपुत्र वैवस्वत मनुकी पुत्री इलाका पुत्र पुरुरवा अथाह शक्ति एवं शौर्यले सम्पन्न थिए । उनी आवश्यक पर्दा स्वर्गमा गएर देवतालाई पनि सहायता गर्थे । दैत्यलाई स्वर्गबाट भगाउँथे । बुधपुत्र पुरुरवाको जवानीप्रदत्त सुन्दरता कुनै देवताभन्दा कम थिएन । चोलाले मानव भए पनि देवपुरुषका यावत् गुण उनमा विद्यमान थिए ।

एउटा प्रसंग छ, एक दिन धर्म, अर्थ र काम तीन पुरुषार्थले पुरुरवाको परीक्षा लिने विचार गरे । उनीहरू मानव रूप धारण गरेर पुरुरवासमक्ष आए । पुरुरवाले तीनैजनालाई सम्मानपूर्वक उपहार प्रदान गरे । अर्थ र कामलाई दिएका उपहार धर्मलाई दिएभन्दा आधा थियो । आफूहरूलाई धर्मभन्दा कम महत्व दिएको देखेर अर्थ र काम रुष्ट भए । अर्थले पुरुरवालाई दरिद्र हुने श्राप दियो भने कामले स्त्रीवियोगको पीडा सहनु पर्ने श्राप दियो । धर्मले चाहिँ पुरुरवालाई लामो समयसम्म पृथ्वीको शासन गर्ने र उत्तराधिकारीहरूको निरन्तरता भइरहने वरदान दिए। यही कुराले पुरुरवाको भावी जीवन निर्देशित रह्यो ।

एकपटकको कुरा हो, पुरुरवाको सहयोगले युद्ध जितेपछि देवराज इन्द्रले पुरुरवाको सम्मानमा एक नृत्य कार्यक्रमको आयोजना गरे । नाचमा प्रमुख नायिका थिइन् उर्वशी । जसको सौन्दर्यको प्रशंसामा सारा देवलोक खनिन्थ्यो ।
नाचको क्रममा संयोगले उर्वशी र पुरुरवाको आँखा जुध्यो । सुन्दर अनि सुगठित शरीर, आकर्षक वक्षस्थल, मनोहारि कम्मर, सुपुष्ट नितम्ब एवं कठोर स्तन । नृत्यको तालसँगै नाचिरहेका अप्सराको अंगप्रत्यंगमा मोहक जादू थियो । उनको हेराइमा पुरुष मन भुतुक्कै हुन्थ्यो !

आँखा जुधेपछि दुवैमा प्रेमको अंकुर फुट्यो । दुवै आलिङ्गनको प्यासले पीडित भए । नाचको समाप्तिपछि पुरुरवाले संकोचका कारणले त्यो प्यासलाई व्यक्त गर्न सकेनन् भने उर्वशीले स्त्रीसुलभ लज्जाका कारण मुख खोल्न सकिनन् । मनको कुरा मनमै रहेपछि तड्पिरहेको मन बोकेर पुरुरवा मत्र्यलोक फर्किए भने उर्वशी स्वर्गमै रहिन् ।

पुरुरवालाई भेट हुन्छ कि भनी उर्वशी मत्र्यलोकको भ्रमणमा निस्कन्थिन् । त्यस्तै एउटा भ्रमणमा मौका पारेर केशी दानवले उर्वशीलाई अपहरण ग¥यो । उर्वशी रुनकराउन थालिन् । त्यो पुकार पुरुरवाले सुने । उनले केशीसँग युद्ध गरी उर्वशीलाई मुक्त गरे । केशीबाट फुत्केकी उर्वशी स्वर्ग त फर्किन् तर तिनको मन मत्र्यलोकमै छुट्यो । उनीहरूको मिलन हुन सकिरहेको थिएन ।

एक दिन स्वर्गमा नाट्यमुनि भरतले लक्ष्मीनारायणको नाटक खेलाउँदै थिए । नायिका थिइन् उर्वशी । एउटा संवादमा नारायणलाई ‘पुरुषोत्तम’ भनेर सम्बोधन गर्नुपर्ने थियो । उर्वशीले पुरुषोत्तम शब्द बोल्दा मुखबाट ‘पुरुरवा’ फुत्कियो । नारायणको नाम लिनुपर्ने ठाउँमा मरणशील मनुष्यको नाम लिएको देख्दा नाट्यमुनि भरत औधी रिसाए । ऋषिले तत्काल उर्वशीलाई मनुष्य भएर मत्र्यलोकमा भ्रमण गर्ने श्राप दिए । उर्वशीका लागि यो श्राप ‘के खोज्छस् काना आँखो’ भनेझै भयो । उता  इन्द्र उर्वशीलाई गुमाउन चाहँदैनथे । त्यसैले इन्द्रले उर्वशीको श्राप घटाइदिए ।

मत्र्यलोकमा आएकी उर्वशीको पुरुरवासँग भेट भयो ।जब आफ्ना अगाडि उर्वशीलाई पुरुरवाले देखे । दुवैको नमरेको प्यास जागृत भयो । एकअर्कामा मन्त्रमुग्ध भए । पुरुरवाले उर्वशीसमक्ष विवाहको प्रस्ताव राखे । उर्वशी पुरुरवाको प्रेममा चुर्लुम्म त डुबेकी थिइन् तर मत्र्यलोकमा केही दिन बस्दैमा उनलाई स्वर्गको सुखसयलको याद आउन थालिसकेको थियो । उनी अन्यमनस्क थिइन् । तसर्थ उनले पुरुरवाका अगाडि दुई शर्त राखिन् । उर्वशीको प्रेम सशर्त रह्यो ।

उर्वशीले स्वर्गबाट आउँदा भेडाका पाठाहरू सँगै ल्याएकी थिइन् । पहिलो शर्तस्वरूप पाठाको रक्षाको जिम्मेवारी लिनुपर्ने बताइन् र भनिन्– ‘जुन दिन यसको रक्षा गर्न सक्नुहुन्न त्यो दिन म छोडेर जान्छु ।’ पुरुरवाजस्तो शक्तिशालीलाई भेडाका पाठाको संरक्षण गर्नु कुनै ठूलो कुरा थिएन । तुरुन्तै सहमति जनाइहाले ।
उर्वशीले दोस्रो शर्त अघि सारिन्– ‘तपाईलाई सहवासको अवस्थामा बाहेक अरू समय निर्वस्त्र देख्न नपरोस् । जुन दिन मैले तपार्ईलाई सम्भोगका समयबाहेक नांगो देख्छु त्यो दिन हाम्रो सम्बन्ध टुंगिनेछ ।’ यो शर्तमा पनि पुरुरवाले मञ्जुरी जनाए ।

विवाह भयो । दुवै एकअर्कामा हराएर यौवनको रसपान गर्नमा मग्न रहन थाले ।सन्तान पनि जन्माए ।
उता स्वर्गमा इन्द्रलाई उर्वशीविनाको नृत्य फिक्का लाग्न थाल्यो । उनी उर्वशीलाई स्वर्गमा कसरी ल्याउने भनेर मात्र सोच्न थाले । उर्वशीको सम्झौताका विषयमा इन्द्र पनि जानकार थिए, तसर्थ उनले उर्वशीले राखेका शर्तबाट फाइदा उठाउने सोच बनाए ।

एकदिन मध्यरातको समय । पुरुरवा र उर्वशी यौनक्रीडामा लिप्त थिए । चुम्बकमा फलाम टाँसिएजसरी उनीहरूको शरीर जोडिएको थियो । ओठमा ओठ, स्तनमा छाती, योनीमा लिंग अनि तिघ्रामा तिघ्रा जोडिएको थियो । कामदेवको वेगले दुवैलाई छोपेको थियो । शरीरका अंगप्रत्यंगबाट रस निसृत भइरहेका थिए । उनीहरू सम्भोगको अलौकिक रसास्वादनमा लिप्त थिए ।

अचानक भेडाका पाठाको आवाजले यौनक्रीडामा अवरोध ग¥यो । मरुभूमिमा प्यासले तड्पिएका समयमा थोरै पानी पिउँदा अझ बढी प्यास बढेझैँ त्यो आवाजले कामप्यास झन् बढ्यो । पुरुरवालाई अँगालोमा कस्दै उर्वशीले पाठाको संरक्षण गर्न आग्रह गरिन् । पुरुरवालाई यस्तो बेलामा छुट्टिन गारो भइरहेको थियो । पुरुरवा छुट्टिन नमानेपछि उर्वशीले धकेलिन् र पुरुरवालाई आफूबाट अलग गराइन् । मन नमान्दानमान्दै अलग भएका पुरुरवा झटपट पाठा बचाउन नांगै दौडिए ।

तत्क्षण आकाशमा बिजुली चम्कियो । पुरुरवाको नग्न शरीर उर्वशीले देखिन् ।
उनको प्रतिज्ञा समाप्त भयो । उनी अन्तरध्यान भइन् र स्वर्ग गइन् ।

उर्वशीको वियोगमा पुरुरवा विक्षिप्त बने । जहाँ पनि उर्वशीको खोजीमा रहन थाले । पागलजस्तै भएर हिँड्न लागे । उता स्वर्गसुधामा भुलेकी उर्वशी गर्भवती थिइन् । उनलाई आफ्नो प्रियतमको माया लाग्यो र भेट्नको लागि पृथ्वीमा आइन् । पुरुरवाले प्रिया, अब छोडेर नजाऊ भनेर उर्वशीसँग अनुनयविनय गरे । उर्वशीले गर्भको सन्तान दिनका लागि मात्र आफू धर्तीमा आउने वाचा गरिन् । एक पटकको दर्शनका लागि पनि पुरुरवा एक वर्षसम्म उर्वशीलाई कुरिरहे ।

समयको कुनै कालखण्डका प्रेमविषयक यस्ता कथा आज पनि उत्तिकै सान्दर्भिक किन लाग्छन् ? समयले ल्याएको परिवर्तनमा उत्निखेरको समाज आज पनि किन बौरन खोज्छ यस्ता कथामार्फत ? किन त भन्दा आज पनि उसैगरी प्रेम पलाइरहेकै छ,  पुरुरवाले उर्वशीलाई फकाउने, सम्झाउने, भावनाको दोहन गर्ने, परस्परकोसमस्या हल गर्नेजस्ता उपाय आज पनि भइरहेकै छ अनि आजका मानवमा पनि अनुरागको धर्मले उतिबेलाझैं आफ्नो धर्म छाडेको छैन ।

प्रकाशित: २३ चैत्र २०७६ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App