१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

यसरी जोगाउनुस् कपाल

कपालको स्याहारमा बेवास्ता गर्दा कपाल झर्ने, टुक्रिने, रुखो हुने र चमकमा कमी आउँछ। यसले सौन्दर्य र व्यक्तित्वमा नकारात्मक असर पार्छ। यसैकारण हरेक समय कपालको स्याहार गर्नु जरुरी हुन्छ।

करिब ३ दशकदेखि सौन्दर्य क्षेत्रमा क्रियाशील सौन्र्दयविद् एवं पल्स सलुन सञ्चालिका लक्ष्मी श्रेष्ठ कपालको स्याहार र शृंगार महिलाको सौन्र्दयसँगै जोडिएको बताउँछिन्। स्याम्पु र केमिकलकै कारण कपालसम्बन्धी अनेक समस्या देखिने उनको भनाइ छ। त्यस्तै,  पानी र धुवाँधुलोका कारण पनि कपालमा धेरै समस्या देखिन्छ। व्यस्त जीवनशैलीले पनि कपालमा अनेक समस्या निम्त्याउने उनले सुनाइन्।

कपालको स्याहारमा जैतुनको तेल निकै  उपयोगी मानिन्छ। तोरीको तेल वा पिनाले पनि कपालको स्याहार गर्न सकिन्छ। ड्राई कपालका लागि यो धेरै उपयोगी हुन्छ। कपालको स्याहारका लागि उपयोगी मानिने अन्डाको पहेँलो  भागले कपाललाई प्रोटिन दिन्छ। त्यस्तै, स्याउ र केराले पनि ड्राइ कपाललाई धेरै सहयोग गर्छ, यसबाट कपाल चम्किलो हुन्छ।

त्यस्तै, वोइली कपालका लागि निकै उपयोगी हुने सिर्कालाई पानीमा राखेर नुहाउँदा कपालमा भएको चिपचिप हट्छ। प्रोटिनका लागि कपालमा तेल लगाउँदा कपालको क्वालिटीअनुसार लगाउनुपर्छ। वोइली कपाल भएकाहरूले तेल लगाउनुहुँदैन। मेथीले पनि कपालमा भएको चिल्लोपन हटाउँछ। वोइली कपाल भएकाहरूले मनतातो पानीले नुहाउनु निकै राम्रो मानिन्छ। नर्मल कपालका लागि भने चिसो पानी नै उपयुक्त हुन्छ।

मेहेन्दी हर्बलबाट कपालको स्याहार गर्न सकिन्छ।  कलर गरिएको कपलालाई भने यसले फाइदा गर्दैन। मेहेन्दी र कलर मिश्रण गर्नुहुँदैन। मेहेन्दीको पात कुटेर लगाउँदा कपाल झनै राम्रो हुन्छ। तुरुन्तै कलर आउने मेहेन्दी कपालका लागि राम्रो हुँदैन। हरियो रंगकै मेहेन्दी कपालका लागि उपयुक्त हुन्छ। भिजाइएको अमलाको रस मेहेन्दीमा राखेमा त्यसले कपाललाई झन् कालो बनाउँछ। कलरबाट मानिसमा एलर्जी हुन सक्छ। एलर्जी हुनेहरूले अमलाको रस प्रयोग गर्नु राम्रो हुन्छ। सेतो कपाल हुनेहरूलाई यो निकै उपयोगी हुन्छ।  हर्रोबर्रो र सिर्कालाई पनि अमलामा मिसाएर लगाउँदा  निकै फाइदा हुन्छ।

मेहेन्दीमा हर्बल हुने भएकाले यो एक महिनाको अन्तरालमा कपालमा लगाउँदा राम्रो हुन्छ। मेहेन्दी लगाउनुभन्दा एक दिनअघि मेहेन्दीलाई मनतातो पानीमा भिजाएर राख्ने र भिजेपछि कपालमा लगाउनुपर्छ। मेहन्दीमा मेथीको पेस्ट राखेमा त्यसले टुक्रेको कपालको स्याहार गर्छ। यसले कपालको चमक बढाउँछ।  मेहेन्दी लगाएपछि त्यसमा सावर क्याप लगाउनुपर्छ। कपाललाई कन्डिसनर गर्ने हो भने २०–२५ मिनेट राख्नुपर्छ। कलरका लागि हो भने एक घण्टापछि मेहेन्दी पखाल्नुपर्छ।

बाइक र स्कुटर चलाउनेहरूमा हेल्मेटका कारण  कपालसम्बन्धी अनेक समस्या देखिन्छ।  हेलमेटले कपालमा हावा जान दिँदैन। कपाल खुला हुन नपाएपछि धेरै समस्या देखिन्छ। जस्तै ः:चायाँ पर्ने, कपाल झर्ने, टुक्रने आदि।  व्यस्त दैनिकीका कारण पनि कपालको उचित स्याहार गरिँदैन। दिनभर कपाललाई डल्लो बनाएर राख्दा पनि कपालसम्बन्धी धेरै समस्या देखिन्छ। कपालको स्याहारका लागि एक महिनामा कपाल काट्नुपर्छ । यसो गर्दा  कपला फ्रेस हुन्छ। दैनिक रूपमा समय मिलाएर कपाल कोर्ने बानीले पनि कपालको स्याहार हुन्छ।

कपालको स्याहारसम्बन्धी जानकारी  
–बढी स्टाइलिस्ट प्रोडक्ट प्रयोग गर्नुहुँदैन। कडा रसायन मिसिएको स्याम्पुले कपाल बिग्रन्छ। हेयर ड्रायर पनि कमै प्रयोग गर्नुपर्छ। अल्कोहलयुक्त प्रोडक्ट प्रयोग गर्नुहुँदैन। स्ट्रेटनर्स वा हट आइरनबाट जोगिनुपर्छ। यसले पनि कपाललाई सुक्खा बनाउँछ। सातामा एकपटक डिप कन्डिसनिङ ट्रिटमेट गराउनुपर्छ। यसले कपाललाई हाइड्रेटेड राख्छ।

–प्रदूषित वातावरणले कपाल बिग्रिन्छ। यसकारण, धुलोधुवाँबाट कपाललाई जोगाउन बाहिर निस्कँदा ह्याट वा स्कार्फले कपाल छोप्नु निकै राम्रो हुन्छ।

–ड्राई कपाल हुनेहरूमा चायाँको समस्या देखिन्छ। यसबाट जोगिन कागतीको रसमा नरिवलको तेल मिसाएर स्काल्पमा १०–१५ मिनेटसम्म मालिस गरेर आधा घन्टापछि स्याम्पुले पखाल्नुपर्छ। त्यस्तै, कागतीको रस तथा दही मिसाएर बनाएको पेस्ट कपालमा लगाएर  ४५ मिनेटपछि चिसो पानीले कपाल धुनुपर्छ। दहीले स्काल्प सफा गर्छ भने कागतीले चायाँ हटाउँछ।

–कपालमा पोसनको कमीले पनि धेरै समस्या देखिन्छ। पोसनका लागि एक गिलास काँचो दूधमा एक चिया चम्चा मह मिसाएर कपालको जरोदेखि टुप्पासम्म लगाउनुपर्छ। यसो गर्दा कपालले पोषण प्राप्त गर्छ।

–नरिवलको क्रिमलाई हल्का तताउने, त्यसलाई कपालको जरादेखि टुप्पासम्म हलुकासँग मालिस गर्ने, तातो तौलियाले कपाललाई बेरेर एक घन्टा जति छोड्ने, त्यसपछि माइल्ड स्याम्पुले पखाल्दा कपाल चम्किलो देखिन्छ। त्यस्तै, कपालमा चमक ल्याउन  मेथी पनि निकै उपयोगी हुन्छ। मेथीको दानालाई रातभर भिजाएर राख्ने, बिहान त्यसलाई पिसेर केही थोपा तोरीको तेल मिसाई आधा घन्टासम्म मसाज गरेर मनतातो पानीले कपाल पखाल्नुपर्छ। 

–एलोबेरा जेलमा कागतीको रसको केही थोपा मिसाउने, यसमा एक चम्चा नरिवलको तेल वा ओलिभ आयल पनि हाल्ने, कपालको जरादेखि टुप्पोसम्म राम्रोसँग दलेर आधा घन्टापछि स्याम्पु लगाएर कपाल पखाल्नुपर्छ।
(नागरिककर्मी ज्योति श्रेष्ठले  सौन्र्दयविद् लक्ष्मी श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App