२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

धिमेको सांस्कृतिक धड्कन

भक्तपुर नगरपालिकाले गत २६ र २७ माघमा ‘जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता’ आयोजना गरेको छ। नेपाली समाजमा पश्चिमा संस्कृति र संगीतको प्रभाव पर्दै गइरहेको सन्दर्भमा सांस्कृतिक विधाहरूको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा भक्तपुर जिल्लाबाट ७२ बाजा समूहले भाग लिएका थिए। वडा–१० कमलविनायकको न्हुज धिमे खलः प्रथम, वडा–९ दत्तात्रयको ख्वप धिमे खलः द्वितीय र छालिङ–५ चाँगुनारायण नपाको श्री गणेश दाफा भजन समूह तृतीय भएका थिए। त्यसैगरी,  नगाँचा १० भक्तपुरको नगाँचा धिमे बाजा खलः र भक्तपुर याछें ६ को द राइजिङ कल्चर समूहले सान्त्वना पुरस्कार पाएका छन्।

परम्परागत पहिरनमा सजिएका  युवायुवती र वृद्धवृद्धा सहभागी रहेको प्रतियोगिताले  सिंगो सहरको मन जितेको थियो।  ‘ताखु... ताखु धा, नाखु... नाखु धा’ को सुमधुर ध्वनि निकाल्दै  ७२ वटा समूहले  भक्तपुर नगर परिक्रमा गर्दै दतात्रय दरबार क्षेत्रमा धिमे बजाउँदा सिंगो नगर धिमेमय बनेको थियो।

‘साना नानीहरूले बडेमानको बाजा बजाएको देख्दा निकै रमाइलो लाग्यो,’ ६६ वर्षीय नारायणदास फसिकवाले भने, ‘हामीले बाल्यकाल सम्झियौँ।’

बूढापाकाबाट धिमे बजाउने ज्ञान र सीप युवा पिँढीमा पुस्तान्तरण भएको देख्दा निकै खुसी लागेको उनले बताए। नयाँ पुस्तालाई बाजा बजाउन सिकाएकाले  नेवार समुदायको जात्रा, पर्व र संस्कृतिको रौनक अझै बढेको उनको भनाइ थियो। धिमे बाजको धुनले गाउँका युवा पिँढीमा परम्परा र संस्कृतिप्रति सकारात्मक सोच बढाउनुका साथै संस्कृति संरक्षणमा पनि राम्रो छाप छोड्ने उनले बताए।

‘पुर्खाले धानेको संस्कृतिलाई निरन्तरता दिन पाएकामा खुसी लागेको छ,’ कक्षा ९ मा अध्ययनरत अञ्जना मुसिख्वालले भनिन्, ‘परम्परागत पहिरनमा  सजिएर धिमे बजाउनु र नाच्नुको मज्जा नै बेग्लै छ।’

अञ्जनाले धिमे बजाउन थालेको दुई वर्ष भयो। उनी यसको धुन निकै मन पर्ने बताउँछिन्। आधुनिक ज्ञानसँगै परम्परागत संस्कृतिलाई सँगै लैजान सकिने उनको बुझाइ छ।

नेवार समुदायमा गुठी गाना, व्रतबन्ध, विवाह, जंखु, भीमरथारोहण, विभिन्न जात्रा तथा उत्सवमा धिमे बजाइन्छ। ‘यो संस्कृतिको धड्कन पनि हो,’  सस्कृतविद् तेजेश्वरबाबु ग्वंगले भने, ‘यसैबाट समाज र संस्कृतिले निरन्तरता र जीवन्तता पाएको छ।’

त्यस्तै, संस्कृतिविद् सत्यमोहन जोशीले धिमे बाजा ‘मार्च’ बाजाका रूपमा विकसित हुँदै गएको सुनाए। पहिला युद्धमा समेत प्रयोग भएको बाजा जात्रा र महोत्सवको शान हुने गरेको  उनले बताए। ‘धिमेको आवाजसँगै मानिसमा अनौठो खालको उत्साह सञ्चार हुन्छ,’ उनले भने, ‘परम्परादेखि नै यो बाजाले समाजलाई जोस र उत्साह दिँदै आएको छ।’

पछिल्लो समय विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रममा युवा पिँढीको सहभागिता बढ्दै गएको छ। आफ्नो जातीय संस्कारका कर्ममा सहभागी हुन पाउँदा अभिभावक पनि खुसी हुने र साथीभाइसँग रमाइलो हुने कतिपय युवाको भनाइ छ। परम्परागत  बाजागाजाको जगेर्ना गर्दा भावी पुस्ता यसप्रति आकर्षित हुने उनीहरू बताउँछन्।

आदिम युगमा जंगली जनावरको डरले  धिमे बाजा बजाउन सुरु गरिएको किंवदन्ती पाइन्छ। त्यसैगरी, धिमे बाजा बजाउँदा धेरैै मानिस रहेको भान पर्ने भएकाले यो बाजा युद्धको समयमा बजाउने गरिएको रविन अवालेले जानकारी दिए।

करिब ३० वर्ष धिमे बाजा बजाएका  भक्तपुरका ५५ वर्षीय राजकुमार ट्वायना धिमेबिनाको जात्रा अधुरो हुने सुनाउँछन्। ‘धिमे डाफा खल’मा आबद्ध उनी धिमे बाजाको संरक्षणमा निरन्तर जुटिरहेका छन्।
‘धिमे संगीतलाई बढावा दिन हामीले बेला–बेलामा धिमे बाजा प्रतियोगितासमेत गराउन थालेका छौं,’ उनले भने।

नेवार समुदायले धिमेलाई प्राचीन समयमा युद्धको प्रमुख हतियारका रूपमा प्रयोग गरेको उनले जानकारी दिए। ‘कमान्डरले धिमेको ध्वनिबाट लडाकूलाई युद्धको अवस्थाबारे जानकारी गराउँथे भन्ने किंवदन्ती छ,’ उनले भने, ‘धिमेकै तालअनुसार युद्धको रणनीति तयार गरिन्थ्यो।’

पहिले धिमे बाजा काठ र छालाबाट तयार हुन्थ्यो, पछिल्लो समय काठको अभाव हुँदा  तामा र पित्तलबाट बनाइन्छ। 

कार्यक्रममा वडा–७ का वडाध्यक्ष तथा धिमे बाजा प्रतियोगिता संयोजन समितिका सदस्य उकेश कवांले धिमे बाजाको विकास र प्रवद्र्धनमा अग्रजको भूमिका उल्लेखनीय भएको  बताए। नयाँ पुस्तामा विदेशी वाद्यवादनमा आकर्षण बढिरहनु चिन्ताको विषय भएको औंल्याउँदै  यस्ता प्रतियोगिताले नेपालको गीत—संगीतलाई बचाइराख्न सहयोग पुग्ने बताए।

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App