९ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

सोरठी गाथा

प्रतिभा पुन

सोरठीबारे एउटा आख्यान छ।
पूर्व देशका ११ वर्षीय भिमला राजाले पश्चिम देशकी १० वर्षीया हइमया रानीसँग विवाह गरे। राजाले रानीलाई जुत्ता, गुनियो, टेकिय, पटुकी, चोली, पोते, कानै लगाउने सुन, दन्तै लगाउने बिरी, टीका, शिरफूलादि गहना र पहिरनमा सजाए। पछि रानी गर्भवती भइन्। गर्भवती भएको दसौँ महिना पुगेपछि रानीलाई प्रसव वेदना भयो। राजाले कटुवालेलाई सोरेनी (सुँढेनी) बोलाउन आदेश दिए। कटुवालेले ‘रानी प्रसव वेदनामा छटपटिएकी छन्, राजाको हुकुम छ, उनको स्याहारमा तत्काल हाजिर हुनू’ भनी सुँढेनीलाई सुनाए। सुँढेनीले आफ्नो अवस्था बताइन्, ‘दरबार जान लत्ताकपडा र गरगहना केही छैन, कसरी जाऊँ ?’

यी सबै कुरा राजाले पु-याइदिनेछन् भनेपछि सुँढेनी दरबार गइन्। माघ महिनाको सोमबार एक बालखीको जन्म भयो। जमिनमाथि थपना उठाएर राजारानी बस्ने शुद्ध र सफा आसनको व्यवस्था गरियो। थपनामाथि चितरोे, चितरोेमाथि गुँदरी (गुन्द्री), गुँदरीमाथि काम्लो, काम्लोमाथि च्यादर र च्यादरमाथि सिरानी बिच्छ्याएर राजारानीलाई बसाइयो। राजाको आज्ञा पाएपछि पूर्व देशबाट पण्डित र पश्चिम देशबाट जैसी आए। पण्डितले बाह्र पुस्तक हेरेर बालखी सातमूल परेको बताए। पण्डितले भने, ‘राजकुमारीले आमालगायत सम्पूर्ण सन्तानलाई सिध्याउनेछिन्, राज्यमा ठूलो विपत्ति आउनेछ। यसबाट जोगिने कुनै उपाय छैन ।’ राजाले सोही कुरा राम्ररी हेरिदिन जैसीलाई अनुरोध गरे।

राजाले सिन्दुर दिँदा कुमालेकी चेलीले ‘बाबै ज्यूले दिएको सिन्दुर कोही चेली पहिरिँदैनन्, मै चेली नि पहिरिन्नँ’ भनी अस्वीकार गरिन्। राजाले युवती आफ्नै छोरी भएको थाहा पाए। त्यसपछि रानीले चेलीलाई अँगालो हालेर रोइन्। सबै कुरा बुझेपछि त्यहाँ उपस्थित जनताले पनि खुसीको आँसु झारे।
 

जैसीलाई पण्डितको भविष्यवाणीमा सन्देह थियो तर आफूभन्दा ठूला पण्डितको अगाडि केही बोलेनन्। यस्तो मौका छोपी पण्डितले राजालाई सल्लाह दिए, ‘चाँदीको ढकनी भएको सुनको सन्दुकभित्र राखेर बालखीलाई नदीमा बगाइदिनू। सोहीअनुसार बालखीलाई नदीमा बगाइयो। माथितिर काली गंगाको सेरोफेरोमा जलेरी (माझी) र कुमालेको भेट भयो। पण्डित नै जलेरीको भेषमा गएका थिए, उनले सोझो इमानदार कुमालेसँग मीत लगाए। दुवैजना माछा मार्न नदीतर्फ गए र सुनको सन्दुकलाई जालमा पारी ल्याए। जलेरीले सुनको सन्दुक र कुमालेले सन्दुकभित्रकी बालखी लिएर आ–आफ्नो बाटो लागे।

बालखीलाई के खुवाउने, के लगाइदिने र कहाँ राख्ने भनी कुमालेको हृदय रुन थाल्यो। बालखीलाई लिएर भौँतारिँदै हिँडेका कुमालेका चौरैभरि भैँसीगोठ, मेलैभरि (पाखोभरि) गाईगोठ, बुगेनभरि भेडीगोठ, ठाउँठाउँमा धारो, ठाँटी र पौवा बन्यो। यसरी कुमालेका दुःखका दिन गए। उनको पातीको झुपडी नौतले दरबारमा बदलियो। पूर्णिमाको जूनजस्तै उज्याली बालखी १६ वर्षे यौवनमा प्रवेश गरिन्। साथीसंगीसँग बगैँचामा खेल्न गएकी कुमालेकी चेलीमाथि सिकार खेल्न आएका राजाका सिपाहीहरूको नजर प-यो। सिपाहीहरूले राजालाई युवतीबारे सुनाए। राजा आफैँ युवतीलाई हेर्न पुगे। उनको सौन्दर्यले राजा मोहित भए र राजाले बिहेको प्रस्ताव कुमालेसमक्ष राखे। कुमालेले प्रस्ताव स्वीकार गरे र लगन जुराएर खबर पठाए।

बिहेको अघिल्लो रात राजाले आफ्नी जेठी रानीलाई भने, ‘मध्यरात घर्किसक्यो अब चारै दिशाका चारै ढोका खोलिदेऊ। चोखो पानी ल्याएर चारै दिशाका चारै ढोका लिपपोत गरेर बत्ती बालिदेऊ।’ बिहानै राजाको दरबारबाट कुमालेको दरबारतर्फ जन्त प्रस्थान ग-यो। कुमालेचेलीले राजाले दिएका गरगहना र लत्ताकपडा पहिरिएर विवाहको जग्गेमा बसिन्। राजाले सिन्दुर दिँदा कुमालेकी चेलीले ‘बाबै ज्यूले दिएको सिन्दुर कोही चेली पहिरिँदैनन्, मै चेली नि पहिरिन्नँ’ भनी अस्वीकार गरिन्। राजा अलमल्ल परेर कुमालेलाई एकान्तमा बोलाएर ‘साँचो कुरो के हो’ भनी सोधे। कुमालेले सबै वृत्तान्त सुनाए। त्यसपछि राजाले रानीलाई एकान्तमा बोलाएर युवती आफूहरूकै छोरी रहेको बताए। रानीले चेलीलाई अँगालो हालेर रोइन्। सबै कुरा बुझेपछि त्यहाँ उपस्थित जनताले पनि खुसीका आँसु झारे। सबैजना खुसीसाथ आफ्नो दरबार फर्किए। गलत भविष्यवाणी गरेका षड्यन्त्रकारी पण्डितलाई बोलाएर फाँसीको सजाए दिइयो ।

उपरोक्त आख्यानलाई गीतमा ढालेपछि गीतका आधारमा नाच प्रस्तुत गरिन्छ। प्रस्तुतिमा स्थानीय सन्दर्भ, जातीय विधिविधान तथा निश्चित चरणको अवलम्बन गरिएको हुन्छ। नाच प्रस्तुतिका क्रममा मुख्यतः तीन चरण हुन्छन्– आरम्भ, विकास र समापन। यी चरणमा जातीय विधिविधान अवलम्बन गरिन्छ। आरम्भमा सम्पूर्ण सहभागीको शरीर बाँध्ने, गुरुको आह्वान गर्ने, मादल बनाउने, मारुनी सिँगार्ने, मादले र मारुनीलाई मादलको २२ तालमा नचाउने गरिन्छ। विकासको चरणमा सोरठीको जीवनमा आधारित सोह्र हाँगाका गीत गाउँदै नाच प्रस्तुत गर्ने र विश्राम गर्ने तथा बीचबीचमा झाम्रे गीत गाएर नाचिन्छ। अन्तिम चरण भनेको समापन हो। यस चरणमा आफ्ना गुर (गुरुको अर्थमा), विभिन्न दरदेवी, दरदेउता, आफ्ना समूहलाई धन्यवाद दिने, घरका परिवारलाई तथा उपस्थित सम्पूर्णलाई आशीर्वाद दिने गरिन्छ। यस समयमा आँगनमा अर्ध चन्द्राकारमा भई गीताङ्गे समूह उभिन्छन्। गीताङ्गे समूहको ठीक अगाडि मादले र मारुनीको समूह उभिन्छन्।

गुरुले मनमनै मन्त्र सुरु गर्छन् भने मादलेहरू मादलको तालमै ‘सोरसोती गुर’को आह्वान गरी नाचको सुरुवात गर्छन्। यसबेला चोखो शरीर हुनेहरू निकै काम्छन्। मादलको २२ तालसँगसँगै ती शरीर काम्ने व्यक्तिहरू शान्त हुन्छन्। पूरा २२ ताल पु¥याउँदा समेत शरीर काम्न शान्त नभए विशेष विधिविधानका साथ सेदो (देवीदेवतासम्बन्धी गीत) गाएरकाम्नेलाई थमाउने गर्छन्। नाचको अन्त्यमा गुरुलाई, मादल तथा मादलेलाई र धर्तीमातालाई ढोगेर नाचको अन्त्य गर्छन् । सोरठीमा गीत, संगीत र नृत्यको अपूर्व संगम रहेको हुन्छ। यस नाचको गीत आख्यानसहित (जो माथि आइसक्यो) का र आख्यानरहितका हुन्छन्। प्रमुख बाजाका रूपमा मादल हुन्छ र अन्य बाजा स्थान विशेषानुसार प्रयोग गरिएका हुन्छन्। पात्रका रूपमा गुरु (वाचक), मादले, मारुनी र गीताङ्गेको प्रमुख भूमिका हुन्छ। महिलाको पहिरनमा पुरुषहरू सजिएर नाचेका हुन्छन्।

सोरठीको मूलभूमि
सोरठी लोकप्रिय आनुष्ठानिक लोकनाच हो। नायिकाको नामबाट नामकरण भएको मानिने यो लोकनाच विशेषतः मगर जातिमा नाचिन्छभनेमाझी र कुमाल जातिमा पनि नाचिएको पाइन्छ। पछिल्लो समय यो नाच अन्य जातिलेपनि नाच्ने गरेको देखिन्छ। नेपालमा यस नाचलाई स्थानविशेषअनुसार पुख्र्यौली नाच, मादलमारुनी नाच, मारुनीनाच, पाङ्दुरेनाच, ठूलो नाच, बूढापाकाको नाच, नचारू, नाचन्या, करङ नाच आदिले पुकारिन्छ। यो नाच पात्रको जीवनीको इतिवृत्तिमा आधारित भई गाएर नाचिने हुनाले कसैले यसलाई गाथाका रूपमा चिनाएका छन् भने कसैले लोकनाटकका रूपमा उभ्याएका छन्। अधिकतर लोकको प्रस्तुतिमा अभिनयभन्दा बढी नृत्य गरिने हुँदा सोरठीलाई लोकनाटकका रूपमा नराख्दा पनि हुने भन्ने हो। तर, भिन्नभिन्न स्थानविशेष, परिवेश र प्रस्तुतिका आधारमा गरिने विधागत परिचयमा विविधता हुनु स्वाभाविक देखिन्छ।

यसमा राजारानी र राजकुमारीको जीवनका घटनाक्रमले आख्यानको रूप लिएको छ। त्यसैलाई गीतका रूपमा ढाली स्थानीय लोकलय, लोकबाजाद्वारा लोकसंगीत र लोकको स्वतन्त्र शारीरिक हाउभाउमा नाच प्रस्तुत गरिन्छ। यस नाचको गीतमा प्रस्तुत आख्यान र यसको स्थानगत परिवेश, घटना, पात्र आदिका आधारमा हेर्ने हो भने यसको न्वारनमा त्रुटि भएको त होइन भन्ने लाग्छ। यसैले थप अध्ययनको विषय बन्न गएको छ। मोतीलाल पराजुलीको पुस्तक ‘सोरठी नृत्यनाटिका’अनुसार नेपालमा गाइने सोरठीको कथानक अधुरो र यसको पूरा रूप भारतका विभिन्न ठाउँमा गाइने सोरठी पाँवरा नामक विभिन्न गाथामा पाइन्छ। पराजुलीले प्रस्तुत गरेको सोरठीको मूलकथामा सोरठपुरकी सोरठी र धौलागिरिकी सुगवासुगेसरी (सुनकेशरी) को चर्चा पाइन्छ।

धौलागिरि हिमाललाई आधार मानेर धौलागिरि अञ्चल नामकरण गरिएको हो भने यो हिमाल म्याग्दी जिल्लाको मुदी भन्ने स्थानमा पर्छ। यस क्षेत्रमा पुन मगरको घना बस्ती छ। धनवज्र वज्राचार्यको पुस्तक ‘गोपालराजको वंशावलीको ऐतिहासिक विवेचना’अनुसार ने.सं. २७० मा लेखिएको एक हस्तलिखित ग्रन्थ तथा ने.सं. २८२ को हालै प्रकाशनमा आएको एक ताम्रपत्रमा पनि धवलस्रोतपुरमा पन्नगविषयका अधिपति हंसदेवका बारेमा चर्चा गरेको उल्लेख छ। हंसदेव मगर जातिका विभिन्न समुदायमध्येको एक पुन समुदायका पुर्खा हुन् भन्ने त्यस समुदायको पुर्खासम्बन्धी लोकगाथाको अध्ययनले जनाउँछ। यस आधारमा हेर्ने हो भने नेपालमा प्रचलित सोरठीको उद्गमस्थल र ऐतिहासिकता प्रस्ट हुन्छ।

नेपाली समाज र समुदायको सम्पादनअनुकूल यसको नामकरण हुनु आवश्यक देखिन्छ। मेरो अध्ययनको केन्द्र मगर जातिको सोरठी नाच हो। मगर जातिमा पनि भूगोल र भाषागत विविधताका आधारमा मूलतः तीन झुण्ड देखिन्छन्। झुण्डलाई मैले समुदाय भन्न चाहेँ। मगर जातिका ती समुदायमध्येको एक पुन समुुदाय हो। यिनीहरूको घनाबस्ती गण्डकी प्रदेशको म्याग्दी तथा म्याग्दी र पर्वत जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको पाइन्छ। यस समुदायभित्र विभिन्न थर समावेश छन्। पुन समाज,नेपालको विधान २०६३ र मेजन पुनको पुस्तक ‘पुन मगर एक अध्ययन’मापुन मगरहरूको विभिन्न थरहरूउल्लेख छ। ती थर भएका पुन मगरहरूहालसम्म धौलागिरि तथा सेरोफेरोमा देखापरेका हुन्।

गण्डकी प्रदेशको म्याग्दी र पर्वतमा बसोबास गर्ने यस समुदायमा सोरठी नाचलाई विशेषतः पुख्र्यौली नाच, मारुनीनाच, मादलेमारुनी नाच, ठूलोनाच, बूढापाकाको नाच, सेखी पुर्ने नाच, सोरसोती नाच आदि नामले पुकारिन्छ । यस लोकनाचमा त्यस समुदायले आफ्नो पुर्खाको आह्वान, प्रार्थना, वर्णन आदि गर्ने भएकाले यसको नाम पुख्र्यौली रहन गएको भन्ने सोही समुदायका बूढापाका बताउँछन्। विद्वान्हरूका अनुसार, महारानीको रूपमा पुरुषहरू नाचेकाले तथा यही महारानी शब्दको अपभ्रंश भएर यसको नाम मारुनी रहन गएको हो ।स्थानीयवासीको मत छ कि पुरुषनै महिलाको पहिरनमा प्रस्तुत हुनेभएकाले यसको नाम मारुनी रहन गएको हो।

अठार मगरातकी अभियन्ता बमकुमारी बुढाका अनुसार मगर खाम-पाङ भाषामा ‘मा’को अर्थ हराएको, ‘रु’ को अर्थ मान्छे र ‘नी’ को अर्थ बहुबचन शब्द दुई भन्ने हुन्छ। धेरै समयअघिमगर गाउँबाट दुईजना मानिस हराएको, अचानक एकदिन उनीहरूदेखापरेकोर उनीहरूले आफूसँगै नाच पनि लिएर आएकाले त्यही समयबाट मारुनी नाच आरम्भ भएको बमकुमारीको भनाइ छ। यसैगरी यस नाचलाई सबैले स्थानविशेषअनुसार आ–आफ्नो नाम दिएका छन् ।यो नाच विशेष अवसर, चाडपर्व, संस्कारजन्य कार्य आदिमा सामूहिक रूपमा प्रस्तुत गरिन्छ।

सोरठी गाथा र प्राचीन जीवन
समाजका विभिन्न व्यक्तिको क्रियाकलाप, संस्कार र व्यवहारबाट सामाजिक संस्कार बन्दछ। त्यस्ता सामाजिक संस्कारको छाप लोकसाहित्यिक विधाहरूमा प्रशस्त पाइन्छ। तिनको अध्ययनबाट प्राचीन समाज र संस्कृतिको ज्ञानार्जन गर्न सकिन्छ। यस नाचमा प्राचीन समाज र संस्कृतिको चित्रण यथेष्ट नपाइए पनि केही मात्रामा पाइन्छ। सोरठी नाचमा प्रस्तुत गाथाको पात्रगत अध्ययन गर्दा गाथाका नायक अर्थात् पुरुष पात्र राजाको चित्रणले तात्कालिक राजसी चरित्रलाई देखाएको छ। राजाले बाल्यकालदेखि धनुष विद्या र सिकारमा चाख दिने, एकभन्दा बढी रानी भित्र्याउने, जनताप्रति उदार तथा दण्डका निम्ति अति नै कठोर हुने जस्ता प्रवृत्तिले प्राचीन राज्य व्यवस्था तथा संस्कृतिको झल्को दिएको छ। राजसी गुणले सम्पन्न कन्याको जन्म भए पनि आफ्नो जीवनमा अप्ठेरो अवस्था आउने देखेपछि ज्योतिषिले षड्यन्त्रपूर्वक पत्तासाफ गरिदिएको घटनाले तात्कालिक राज्य व्यवस्थामा षड्यन्त्रकारीको भूमिका प्रबल रहेकोबुझिन्छ।

कुमालेले सन्दुकभित्रकी बालखीलाई घरमा लगेपछि पशुपालन फस्टाएको र धनधान्यले भरिपूर्ण भएको घटनाले त्यस समयको लोकजीवन र जीविकोपार्जनलाई देखाएको छ। रानी हइमयाको उपस्थिति सामान्य छ। सामान्य गृहणी महिलासरह बिहे गर्नु, बच्चा जन्माउनु, सौता बेहोर्नुजस्ता कार्यमा लिप्त कमजोर पात्रका रूपमा उनी चित्रित छिन्। अर्की नारी पात्रको उपस्थिति भने विशिष्ट खालको देखिएको छ। राजदरबारबाट फालिएकी बालखीको प्रवेशले गरिब पात्र कुमालेको जीवनमा परिवर्तन आएको छ। कुमालेको पातीको झुपडी नौतले दरबार भएको छ। यसले तिनै कन्याको आगमनलाई मात्रै पनि विशिष्ट मानेको छ, यसलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ। अन्तमा बाबासरहको उमेर भएका राजाको सिन्दुरलाई युवतीले अस्वीकार गरेकी छन्, जसकारण रहस्योद्घाटन भएको छ। पहिलो पुस्ताकी नारी पात्र रानी (आमा)ले पुरुषको छत्रछाया बनेर जीवनयापन गरेकी छन् भने दोस्रो पुस्ताकी नारी पात्र युवतीले साहसका साथ जीवनयापन गरेकी छन्।

सोरठी नाचमा प्रस्तुत गाथाले समुदायको परम्परालाई पनि उजागर गरेको छ। आख्यानको आरम्भतिर बच्चा जन्मने क्रममा सुँढेनी बोलाउन कटुवालेलाई खटाइन्छ। यो चलन अद्यापि छँदैछ। त्यसैगरी बच्चा जन्माउँदा सुँडेनी बोलाउने चलन, नामकरण गर्दा जैसी राख्ने चलन अद्यापि छ। त्यस समुदायमा नाम राख्न झाँक्रीलाई बोलाउँछन्। लेखोटद्वारा नाम राख्ने आदि काम गर्ने झाँक्रीलाई जैसी पनि भन्ने गर्छन्। गाथाको अन्त्यतिर विवाहमा सिन्दुर हाल्ने चलनको प्रयोग भएको छ। गीतमा प्रयुक्त यो संस्कारले समुदायको मौलिक संस्कारलाई प्रतिस्थापन गरिदिएको छ। त्यस भेगका समुदायको प्राचीन बस्तीमा अझपनि विवाह संस्कारमा सिन्दुर हाल्ने चलन छैन।

यस गाथाकी नारी पात्र रानीले विवाह गरेको धेरै समयसम्म बच्चा नजन्मेको, कन्या जन्मेपछि गंगामा बगाएको, सौतालाई भित्र्याउँदा आफ्नो भाग्य नै खोटो रहेको भन्दै रुँदै बसेकी छन्। त्यस्तै कन्याको जन्म नै मूल परेको र त्यस्तो मूलले आमाबाबा, शाखा–सन्तान र राज्य नै ध्वस्त पार्ने भन्ने घटनाले तात्कालिक अन्धविश्वासलाई प्रस्ट्याएको छ। अझ पनि शिक्षाको कमीका कारण यस्ता अन्धविश्वास त्यो समुदायमा देखिन्छ। गरिब कुमालेको आर्थिक स्तरोन्नतिमा कन्याको कर्मलाई होइन, भाग्यलाई बढी प्राथमिकता दिइएको छ। अझै पनि हाम्रो समाजमा भाग्यमाथि विश्वास गरिन्छ।

अतःसोरठी/पुख्र्यौली लोकनाचले लोकका समयसान्दर्भिक आस्था, निष्ठा र परम्पराको संवहन गर्नुका साथै जातीय चिनारी उजागर गर्ने महत्वपूर्ण कार्य गरेको छ। स्वतन्त्र नृत्यमुद्राहरू प्रस्तुत गरी पुर्खाहरूको सभ्यता, सांस्कृतिक तथा धार्मिक परम्परा झल्काउने यो नाच आख्यानसहित तथा आख्यानरहित गरी दुई किसिमका छन्। मारुनी शैली, जातीय वेशभूषामा प्रस्तुत गरिने मनोरञ्जन पूर्ण र संस्कृति प्रधान यो लोकनाच केवल मौखिक परम्परामा जीवित छ। यो नाच समुदायको ऐना हो। यसले सम्बन्धित समुदायको लोकजीवन, समाज, संस्कार, संस्कृति, लोकपरम्परालाई प्रतिविम्बित गरेको छ। यसैले हामीकहाँ प्रस्तुत गरिने सोरठी गाथाको नामकरणकले न्याय पाउन सकेको छैन ।यसको नामकरणका सम्बन्धमा पुनर्अध्ययन तथा पुनव्र्याख्या हुनुपर्ने देखिन्छ।

(लेखक लोकसाहित्य विधामा पिचएडी अनुसन्धानरत् हुन् ।)

प्रकाशित: १८ माघ २०७६ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App