२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

सूर्यको मेरो सानो घर

सूर्यप्रसाद लाकोजूको हालै ‘मेरो सानो घर’ बालकविता संग्रह प्रकाशित भएको छ। उनले बालसाहित्यमा निरन्तर रूपमा कलम चलाइरहेका छन्। हालसम्म उनका कोपिला, घाम उदायो, फूलैफूल, साथी र मेरो सानो घर गरी पाँचओटा बालकविता सङ्ग्रह प्रकाशित छन्। उनले ठूलाका लागि पनि दुई दर्जन जति कृति लेखेका छन्। विशेषतः उनी  कवि हुन्। उनका बालकविता रसिला र सन्देशमूलक छन्। उनका यः मरी नामक प्रबन्धनात्मक बालपुस्तक र अतिथि पनि प्रकाशनमा आएको छ।

कवि सूर्यको ‘मेरो सानो घर’ चिट्टिक्क परेको छ। यसमा  विविध विषयका १६ ओटा कविता सङ्गृहीत छन्। आजका बालबालिका नै भोलिका देशका कर्णधार भएकोले उनीहरूलाई आजैदेखि असल संस्कार सिकाउनुपर्ने भाव कवितामा छन्। माहुरी कवितामा एकतामा ठूलो बल हुने र परिश्रमबाट सफलता प्राप्त हुन्छ भन्ने सन्देश दिइएको छ। आमाको सर्वोपरि महत्व हुन्छ। आफूले खाईनखाई आफ्ना सन्तानलाई खुवाउने, आफूलाईभन्दा सन्तानलाई माया गर्न सक्ने क्षमता आमासँग हुन्छ र आफू मरेर भए पनि सन्तानलाई जीवन दिने भावना आमासँग मात्रै हुन्छ भन्ने भाव कवितामा छ। त्यस्तै सङ्गहमा नेपाली व्याकरण सिकाउने कविता पनि समावेश गरिएको छ। केको समूह के ? कविताको माध्यमले बालबालिकालाई नेपाली व्याकरणमा पढ्नुपर्ने समूहवाचक शब्दलाई सिकाउने प्रयास गरिएको छ।

कविताको भावअनुकूलका आकर्षक चित्रहरूले सङ्ग्रह झन् पठनीय बनेको छ। कवितामा देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रेम, आमाको माया, माटोप्रेम लगायतका विविध बालसुलभ विषयवस्तु समेटिएका छन्। सबै कविता सरल, मर्मस्पर्शी र सन्देशप्रद छन्। सङग्रहका चित्रहरू सूर्यनारायण श्रेष्ठले तयार पारेका हुन्। रत्नपुस्तक भण्डारबाट प्रकाशित यो पुस्तकको मूल्य रू. असी रहेको छ।

प्रकाशित: ११ माघ २०७६ ०४:३७ शनिबार

बालपुस्तक