६ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

छुटेको अध्याय

२०६४ सालमा ‘दरबार बाहिरकी महारानी’ उपन्यास बजारमा आउँदा निकै कमले मात्र यसको चर्चा गरे । त्यसपछिका हरेक वर्ष रिप्रिन्ट भएर बेस्ट सेलर बनिसक्दा पनि यस उपन्यासका लेखक नगेन्द्र न्यौपाने मिडियामा छाएका थिएनन् । कसैले बजार हल्ला चलाए– यिनी त गाउँमै बस्छन्, बाहिर आउन त्यत्ति रुचाउँदैनन् । कसैले भने– यो उपन्यास लेखेपछि उनलाई दरबारको डर लागेर विदेश भागे रे ! तर वास्तविकता भने बेग्लै थियो । पुस्तक बजारमा लेख्नुअघि नै उनी अमेरिकामा थिए । जब किताब लोकप्रिय भयो, उनी नयाँ पुस्तकको तयारीमा थिए । यता नेपालमा भने लेखकको धुँवादार खोजी हुँदैथियो ।

जीवनमा धेरै कुरा छुटे उनका । देश छुट्यो, लेखनी छुट्यो, उपन्यासमा अध्याय छुट्यो । यतिबेला उनी तिनै छुटेका कुरा मिलाउन र सहज पार्न अमेरिकाबाट नेपाल आइपुगेका छन् ।

कक्षा आठमा पढ्दाताका नगेन्द्रले डायमन सम्सेर राणाको उपन्यास ‘वसन्ती’ पढ्न पाएका थिए । उनलाई त्यो उपन्यासले यति छोयो कि उनलाई ऐतिहासिक विषयवस्तु भएका कुरालाई यसरी लेख्दा गज्जबको उपन्यास बन्दोरहेछ भन्ने छाप नै बस्यो ।

धेरैपछि जब उनी गोरखाबाट काठमाडौँमा क्याम्पस पढ्न आए र ठमेलमा ‘दरबार बाहिरकी महारानी’का बारेमा बुझ्न पाए, उनलाई झल्झली ‘वसन्ती’को याद आइरह्यो । ‘माफ गर्नु होला, मलाई त्यति बोल्न आउँदैन,’ नगेन्द्रले यो पंक्तिकारसँग भेट हुनेबित्तिकै भने, ‘धेरैले मलाई त्यही प्रतिक्रिया दिन्छन् । म अलि सुस्त तरिकाले बोल्छु ।’

हुन त यो संसारमा चार किसिमका मान्छे पाइन्छन् । एउटा, प्रभावशाली तरिकाले बोल्ने र त्यस्तै व्यवहार गर्ने, दोस्रोमा प्रभावशाली बोल्ने तर सुस्त व्यवहार गर्ने, तेस्रो चाहिँ व्यवहारमा पनि सुस्त हुन्छन् र बोल्नमा पनि ! चौथो चाहिँ, बोलीमा सुस्त भए पनि व्यवहारमा प्रभावशाली हुन्छन् । नगेन्द्र मलाई चौथो प्रकारको व्यक्ति हुनुहुन्छ भन्ने पक्का भयो ।

तापनि ठट्टाका लागि पंक्तिकारले सोध्यो, ‘तपाईं यीमध्ये कस्तो व्यक्ति हुनुहुन्छ त ?’
‘कुरा गर्दै जाऊँ, तपाईंले भेउ पाइहाल्नु होला नि !’ बेस्टसेलर लेखक पन्छिए तर कुराकानी जारी राख्यौँ ।
उनलाई प्रभावशाली तरिकाले बोल्न नआउला ! तर यसैबाट उनको लेखनी मूल्याङ्कन गर्ने भूल पनि नगर्नु होला । उनी भन्छन्, ‘म आफू सन्तुष्ट नभइञ्जेल बारम्बार सच्याइरहन्छु, साफी गरिरहन्छु । यही ‘दरबार बाहिरकी महारानी’ पनि त पाँच पटकभन्दा बढी त पुनर्लेखन गरेको हुँ ।’

हिजोआज त पहिलो पटक जे लेख्यो, त्यही छाप्ने जुगमा यस्ता विरलै साहित्यकार पनि भेटिँदारहेछन् ! मनमा लाग्नेबित्तिकै भनिहालेँ, उनी मुस्कुराए ।

‘लेख्नुको अर्थ छापिहाल्नुपर्छ भन्ने मेरो मान्यता छैन,’ केहीबेरको मौनतापछि उनले थपे, ‘यही उपन्यास पनि छापिन्छ वा छापिदैन मलाई थाहा थिएन तर लगातार चित्त नबुझुञ्जेल मैले पुनः लेखिरहेँ, सच्याइरहेँ ।’
उनको पहिलो प्रकाशित कृति कविता संग्रह थियो । त्यस हिसाबले उनी कवि हुन् । पञ्चायतकालमा मारिएका राजनीतिकर्मीहरुमाथि लेखिएको ‘हराएका कैदीहरु’ पनि यो उपन्यासजस्तै निकै पछि मात्र प्रकाशनमा ल्याएका हुन् ।
‘उमेरले अलि बढी नै पार गरेपछि मैले छाप्न कुरामा चासो देखाउन थालेको हुँ,’ उनले भने, ‘आत्मविश्वास त्यति पलाइसकेको थिएन । त्यसैले पनि हुनसक्छ !’

उनको अर्को विशेषता पनि छ । उनी काल्पनिक कुरा लेख्न सक्तैनन्, भन्छन्, ‘जहिले पनि म सत्य घटनामा आधारित भएर लेख्छु । कविता लेख्न पनि मलाई घटनाले छुनुपर्छ । उपन्यास त सत्य घटनामा आधारित नै भइहाल्यो !’

२०४२ सालमा जब उनले पञ्चायतविरोधी राजनीतिकर्मीहरुलाई प्रहरीले जेलबाट लगेर जंगलमा हत्या गर्‍यो र कैदी हराए भनेर प्रशासनले कोकोहोलो मच्चायो, सोही विषयमा कविता संग्रह ‘हराएका कैदी’ लेखे ।
‘यात्राको बाङ्लादेश’ नियात्रा त उहिल्यै बाङ्लादेश यात्रा गर्दाको नियात्रा भइहाल्यो । केही लेख्नुपर्दा पनि वास्तविकताबाट आफू टाढा जान नसक्ने उनी बताउँछन् । ‘यसको अर्थ म कल्पनाशीलता प्रयोग गर्दिनँ वा गर्न सक्दिनँ भन्ने होइन,’ उनी भन्छन्, ‘कल्पनाशीलताको लेप बिना पनि के साहित्य ? त्यसै भएर म त्यो लेपनका लागि मात्र कल्पनाशीलता प्रयोग गर्छु ।’

मलाई उनका अरु कुरा जान्नु थिएन, त्यसका लागि म अरु नै समयमा उनलाई भेट्नेछु । यतिबेला भने मलाई ‘दरबार बाहिरकी महारानी’का बारेमा सुन्नु थियो ।

‘कलेज पढ्न काठमाडौँ आउँदा म लक्का जवान थिएँ । त्यो बेला मलाई मेरो भिनाजुले ठमेलको एउटा घरमा डेरा बसालिदिनु भएको थियो । मेरो भिनाजु र डेरावाल लक्ष्मी दिदीबीच निकै घनिष्ठता जम्यो । त्यसको फाइदा मैले उठाएँ । चिनाजान फराकिलो भयो र एक दिन मैले ‘दरबार बाहिरकी महारानी’ गीताका बारेमा थाहा पाएँ,’ उनले बेलीबिस्तार लगाए ।

त्रिपुरेश्वरमा त्यो दिन उनी एक्लै घुम्न निस्किएका थिए । सडकमा चिल्लो गाडी हुइँकिदै उनकै अघिल्तिर रोकियो । उनलाई जसले आवाज दिएर बोलाइन्, ती लक्ष्मी दिदी थिइन् । गाडी त्यो दिन राजदरबारतिर नगई ठमेलमा गएपछि उनी र लक्ष्मी दिदी घरछेउ उत्रिए । उनमा जिज्ञासा हुर्रिएर आयो र दिनदिनै दरबारका बारेमा सोध्न थाले । यी लक्ष्मी दिदीले हरेक दिन सुनाएका कुराहरु उनले कृषि विकास बैंकले छापेको वार्षिक डायरीका पानामा भर्दै जान थाले ।
पञ्चायतविरुद्धको आन्दोलन चलिरहेको थियो, सत्याग्रह । यही बेला उनले ठमेलबाट डेरा सर्नुपर्‍यो । प्रहरीले डेरा सर्दाका बेला खानतलासी पनि गरे । कम्युनिस्ट साहित्यका महान् साहित्य उनको पोकापन्तुराबाट प्रहरीले निकाले । उनलाई लाग्यो, अब मेरा दिन गए !

धन्न, प्रहरीले केही गरेनन् । उनलाई अझ बढी तनाव त दरबारका बारेमा टिपनटापन गरिएको डायरी प्रहरीले फेला पार्लान् कि भन्ने थियो । तर उनीहरु उपन्यासमै अड्किए, डायरीतिर ध्यान दिएनन् । यसपछि उनले डायरीलाई मज्जाले लुकाए । जब २०५८ सालमा दरबार हत्याकाण्ड भयो, उनलाई डायरीले झस्कायो । उनलाई लाग्यो, दरबारका गोप्यकुरा त्यसै हराउने भयो ।

तर त्यो डायरीलाई औपन्यासिक रुप दिन २०६३ सालसम्म कुर्नैपर्‍यो । देशमा जब गणतन्त्र आयो, उनलाई लाग्यो– अब उपन्यास लेख्ने बेला आइसक्यो । यसपछि उनले पटक–पटक लेखन र पुनर्लेखन गर्न थाले । त्यतिञ्जेल पुराना कवितालाई उनले प्रकाशन गरेर देशको माहोल जाँचे । २०६३ सालमा मात्र ‘हराएको कैदी’ बजारमा आयो ।

‘छाप्नमा ढिला किनभयो भने पहिला पञ्चायतकाल थियो,’ उनले स्पष्टीकरण दिँदै भने, ‘एउटा गहिरो डर मनभित्र पसेको थियो । जसका कारण आफूलाई लागेको कुरा लेख्न पाएको थिइनँ ।’

जब कविताको प्रतिक्रिया ठीकै आयो, उनलाई उपन्यासलाई बजारमा ल्याउनु उचित ठाने । त्यसका लागि उनले अमेरिकामा नै रहँदा पुरुषोत्तम शमशेर राणासँग सल्लाह गरिसकेका थिए । राणाको सल्लाहबाट उनी ‘दरबार बाहिरकी महारानी’लाई अन्तिम रुप दिन तम्सिए ।

‘मैले लामो समयसम्म यसलाई बाहिर निकाल्न किन नसकिन भने, यो गुण्डाहरुको देश हो,’ उनमा एक किसिमको आक्रोश देखियो, ‘यहाँ जुन बेला पनि जे पनि हुनसक्छ । यस्तो देशमा जब राजा भएकै बेला यो उपन्यास ल्याएको भए मेरो हाल के हुन्थ्यो होला ? यो सोचेर मैले उपन्यास बजारमा ल्याउन ढिला गरेकै हुँ । अझ महेन्द्रले गुरुङ्सेनीसँगको लसपसबाट रवीन्द्र जन्माएको छ, वीरेन्द्रभन्दा उनी कसरी जेठा हुन्, महेन्द्रले १३ वर्षको उमेरमा २३ वर्षीयासँग कसरी प्रेम गरे र सन्तान जन्माए भन्ने कुरा बाहिर आएको भए, मलाई बाँकी राख्थे त ?’
उनको कुरा ठीक थियो, उनले लेख्ने हिम्मत गरे पनि छाप्ने हिम्मत कसको ?

पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्नले तारालाई कति पीडा दिएकी थिइन् ! कति सताएकी थिइन् । ‘किनभने म त त्यहाँको भित्रसम्म छिरेको थिएँ, अनेकन् वास्तविक कथा सनेको थिएँ !’ उनले भावुक हुँदै सुनाए ।

जब उपन्यास पूरा भयो भन्ने उनलाई लाग्यो, नेपालमा रहेका साथी विमल भौकाजीलाई उपन्यास टाइप गर्न पठाए । टाइपिस्टलाई काम लगाए । टाइपिस्टले प्रतिक्रिया दिए– कस्तो खत्रा रै’छ ! सोही कुरा विमलले नगेन्द्रलाई सुनाए, ‘यस्तो कुरा आइरहेको छ । तपाईंको राम्रो होला जस्तो छ है ! यसपछि उनी हौसिए  । उपन्यास छपाउने कि नछपाउने दोधारमा परेका उनी यस पटक भने तुरुन्त प्रकाशक विष्णु पौडेलसँग गर्न राजी भइहाले ।

जब उपन्यास बजारमा आयो, उनलाई आफूले लेखेका दुई अध्याय छाप्न छुटेको पाए । बजारमा यतिबेला सातौँ संस्करण रुचाइएका बेला उनलाई ती दुई अध्याय थप्न नपाएकोमा थक्कथक्क लागेको छ । उनी भन्छन्, ‘प्रकाशकसँग कुरा भइरहेको छ, अब छुटेका कुरासमेत जोडेर उपन्यास बजारमा ल्यान्छ ।’

उपन्यासमा २०११ मा त्रिभुवनको रोग, उनको निधन, गीता गुरुङलाई दरबार इतर समूहले गरेको सहयोग, खासगरी तत्कालीन कांग्रेसले राजा तह लगाउन प्रयोग गर्न खोजेका कुरा थप्ने तयारीमा उनी छन् ।

प्रकाशित: ९ माघ २०७६ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App