बुढ्यौलीसँगै सम्झने शक्ति कमी हुनुलाई चिकित्सकहरू स्वाभाविक प्रक्रिया मान्छन् । तर कतिपय मानिसमा त्यही स्वाभाविक प्रक्रिया अस्वाभाविक बन्दा ‘विस्मृति’ बढ्छ । जसका कारण बुढ्यौलीसँगै बिर्सने रोग ‘अल्जाइमर डिमेन्सिया’ हुनेछ ।
सुरुमा स्मरण शक्तिमा ह्रास हुने समस्या देखिए पनि कालान्तरमा आफ्ना परिवारका सदस्य समेतलाई चिन्न सक्दैनन् । चिकित्सकहरू भन्छन्, ‘यस्तो लक्षण बिरामीलाई थाहा हुँदैन । परिवारलाई रोग लागेको दुई वर्ष पछि मात्र थाहा हुन्छ ।’
चिकित्सकहरूका अनुसार करिब एक सय वर्षअगाडि अल्जाइमर रोगको पहिचान भएको थियो । पछिल्लो समयमा अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगन र भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीलाई बिर्सने रोग डिमेन्सिया भएको चिकित्सकहरू बताउँछन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व मानसिक विभाग प्रमुख डा. निदेश सापकोटा बिर्सने रोग डिमेन्सियाको विभिन्न रूप मध्ये ‘अल्जाइमर डिमेन्सिया’लाई ‘साझा रुप’ भन्छन् । उनी ६० काटेका मानिसमा यो रोग देखा पर्ने बताउँछन् ।
सन् २०११ को राष्ट्रिय जनगणना तथ्यांकअनुसार करिब ९ प्रतिशत वयवृद्धा छन् । ‘त्यो सन् २००१ को करिब दोब्बर हो,’ भन्छन् डा. निदेश सापकोटा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार वयवृद्धाको कुलसंख्या मध्ये ५ प्रतिशतलाई डिमेन्सिया हुन्छ । ‘त्यसअनुसार नेपालमा १ लाख ३५ हजार मानिसमा डिमेन्सिया अनुमान गर्छन्,’ डा. सापकोटा ।
डब्लुएचओअनुसार विश्वभर ५ करोड मानिसलाई डिमेन्सिया छ । उक्त संख्या आगामी ३० वर्षमा तीन गुणा बढ्ने अनुमान गरिएको छ । सन् २०५० सम्म दशजना मानिसमध्ये ६ जनालाई डिमेन्सिया रोग लाग्न सक्ने प्रक्षेपण गरिएको छ ।
‘डब्लुएचओ’ र बिर्सने रोगको विश्वव्यापी सञ्जाल ‘इन्टरनेसनल एल्जाइमर’को अनुसन्धान नतिजाको आधारमा डा. सापकोटा भन्छन्, ‘विश्वभर प्रत्येक तीन सेकेण्डमा एकजना ६० कटेका मानिसलाई विस्मृति हुने रोग लाग्नेछ ।’
‘यसरी पछिल्लो समय डिमेन्सिया बढ्नुलाई खानपान तथा शारीरिक व्यायाममा ध्यान नदिनु हो,’ भन्छन् डा. सापकोटा । त्यसबाहेक जीवनशैलीमा आएको परिवर्तन, पौष्टिक आहारमा कमी, उच्च रक्तचाप, धूमपान, मधुमेह हुनाले पनि अल्जाइमर हुनेछ ।
रोग पहिचान ?
चिकित्सकहरू बिर्सने रोगलाई डिमेन्सिया भन्छन् । त्यसभित्र पर्ने अल्जाइमर रोगलाई दिमागका दुईवटा विकार ‘एमिल्वाइड प्लेक’ र ‘न्यूरोफिब्रिलरी टंगल्स’ अनुसार पहिचान गर्छन् । एक प्रकारको एमिलोइड भनिने प्रोटिनको असाधारण थुप्रोले ‘प्लेक’ बनेका हुन्छन् । त्यस्तै अर्को प्रकारको ‘टाउ प्रोटिन’ले बेरिएर बनेको ‘टंगल्स’ हुन्छन् । यही ‘प्लेक तथा टंगल्स’ले स्नायु कोषमा रक्त सञ्चार अवरुद्ध पार्छन् । खराब प्रोटिन जम्मा हुन थाल्दछ । मस्तिष्कमा हुने न्यूरोनहरूमा खराब प्रोटिन जम्मा भएर स्मरण शक्तिमा ह्रास आउने प्रक्रियालाई ‘अल्जाइमर डिमेन्सिया’ भनिन्छ । त्यसको असरले दिमागमा ‘स्टोर’ गरेका कुरा चाहिएको बेला प्रयोग गर्न सक्दैनन् ।
चिकित्सकहरू भन्छन्, ‘मधुमेह, उच्च रक्तचाप, मुटु रोग लागेका मानिसलाई डिमेन्सिया भएको पाइएको छ । ती मानिसहरूमा विस्मृति रोग लागेमा, ती रोग नियन्त्रण आएमा स्वतः कम हुने मान्यता छ । रोग लाग्नुका पछाडि मानिस निस्क्रिय बस्नु हो । यदि ६५ कटेका मानिस निस्क्रिय रुपमा रहँदा मष्तिस्कमा खराब प्रोटिन जम्मा हुन्छ, फलस्वरुप अल्जाइमर डिमेन्सिया हुन पुग्दछ । यसलाई न्यूरो डिजेनेरेटिभ डिजिज् पनि भनिन्छ । यसलाई ‘मष्तिस्कको क्षयीकरण हुँदै जानु वा न्यूरोनहरू क्षय हुनु हो’ भनिन्छ ।
नेपालमा अनुसन्धान
नेपालमा अल्जाइमर डिमेन्सियामा बृहत्तर अनुसन्धान भएको पाइँदैन । साना खालका फाट्टफुट्ट रुपमा विद्यार्थीले अनुसन्धान गरेको बताउँछन्—डा. निदेश सापकोटा । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गर्न आउने ६० काटेका वयवृद्धाको तथ्यांक अनुसन्धानका आधारमा विद्यार्थीको सोधले एक सयमा, ११ जनालाई ‘एल्जाइमर डिमेन्सिया’ भएको देखिएको छ ।
त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल भन्छन्, ‘एल्जाइमरमा अनुसन्धान भएका छैनन्, तर साना आकारको अनुसन्धान गर्ने योजना बनाइँदै छ । यसले सुरुवात हुँदैछ ।’
उनका अनुसार यसरी देशैभरबाट तथ्यांक जम्मा गरेर अनुसन्धान भएमा रोगका कारण पत्ता लगाउन नसके पनि आगामी दिनमा अल्जाइमर डिमेन्सिया न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्नेछ । सर्वसाधारणलाई रोगका बारेमा जनचेतना फैलाउन मद्दत मिल्नेछ । ‘अनुसन्धान रोगथाम, मानवस्रोत साधन र योजना बनाउन र बिरामीको तथ्यांक थाहा पाउन सहयोग हुने एनएचआरसीका प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल बताउँछन् ।
नेपाल अल्जाइमर विस्मृति समाजका अध्यक्षसमेत रहेका डा. निदेश सापकोटा भन्छन्, ‘१२ वर्षदेखि जनचेतना व्यापक फैलाउने काम गरिरहेका छौं । तथापि अनुसन्धानमा हामी निकै पछाडि छौं । यसमा सरकारले बेलैमा सोच्न पर्ने देखिएको छ ।’
उनका अनुसार विदेशी अनुसन्धानकर्ताहरूले अल्जाइमरको कारण पत्ता लगाउन विभिन्न अनुसन्धान गरेका थिए । उनीहरूले औषधि सेवन, जीवन जिउने प्रक्रिया र अन्य रुपमा हेरेका थिए । त्यसअनुसन्धानबाट निस्क्रिय मानिसमा रोग लाग्ने खतरा बढ्ने देखियो ।
लामो समय मानिस र जनावरहरूको मस्तिष्कमा गरेको अनुसन्धानले शारीरिक व्यायामले मानिसको मस्तिष्कलाई सक्रिय बनाउन मद्दत मिल्ने अमेरिकी न्यासनल इन्स्टिच्यूट अफ एजिङले उल्लेख गरेको छ । तर शारीरिक व्यायामले मात्रै बुढ्यौलीमा अल्जाइमर डिमेन्सिया रोक्ने पर्याप्त प्रमाण भने उनीहरूले एकिन गर्न सकेनन् । यद्यपि शारीरिक व्यायामले फाइदा गर्ने उल्लेख भने गरेका छन् ।
त्यस अनुसन्धानले मुटु रोग, उच्च रक्तचाप, मधुमेह र डिमेन्सियाको सम्बन्ध देखाएका छन् । ‘न्यासनल इन्स्टिच्यूट अफ एजिङ’का अनुसन्धानले अल्जाइमरलाई रोक्ने उपाय पत्ता लगाउन सकेनन्, यद्यपि, मानिसले गर्ने गतिविधिमा सुधार गरेमा चाँडो रोग लाग्ने अवस्थाबाट बचाउन सकिने उल्लेख गरेको छ । मस्तिष्क स्वस्थ राख्ने र शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै, मस्तिष्कमा समस्या आउनुको कारण पत्ता लगाउन अमेरिकी संस्था ‘न्यासनल एकाडेमिज अफ साइन्स इन्जिनियरिङ मेडिसिन (एनएसाइमे)ले अनुसन्धान गरेको थियो । एनएसाइमेले अनुसन्धानको क्रममा अल्जाइमर न्यूनीकरणको उपाय खोजी गरे । सन् २०१७ मा उक्त अनुसन्धानको नतिजा प्रकाशन गर्दै एनएसाइमेले ‘अल्जाइमर भइसकेपछि खानेकुराले रोग घटाउन सक्ने आधार नभेटिएको उल्लेख गर्यो ।’ तर, उक्त अनुसन्धानले मध्य उमेरको अवस्था ‘४५ देखि ६५ सम्म’ उच्च रक्तचाप नियन्त्रण गर्न सकेमा अल्जाइमरबाट बच्न वा पछाडि धकेल्न सकिने देखाइएको छ । मध्य उमेर समूहमा उच्च रक्तचापसँगै चिनीरोग र धूमपानले डिमेन्सिया भएका उल्लेख गरेका छन् ।
लक्षण
विशेषगरी पाँच लक्षण देखा पर्दछ । डा. निदेश सापकोटा त्यसलाई अंग्रेजी पाँच वटा ‘ए’ भन्छन् । ती भनेका ‘एम्नेजिया, एक्नोसिया, एप्रेक्सिया, अल्टर एक्जुकेटिभ फङ्सनिङ् र एफेजिया’ हुन् ।
एम्नेजिया (बिर्सने): सामान्य रुपमा बिर्सने नभई घर परिवारको सदस्य पनि चिन्न नसक्ने अवस्थालाई एम्नेजिया भनिन्छ । आफूले पहिले गरेको काम बिर्सन्छन् ।
एक्नोजिया (बस्तु नचिन्नु) : आफूले दैनिक प्रयोग गरिरहेका वस्तु बिर्सने हुन्छन् । प्राध्यापकले कलम नचिन्ने अवस्था ।
एफेजिया(बोली अड्कनु) : बोल्न कठिनाइ हुनु, नयाँ शब्द सम्झन नसक्नु र बोली बन्द हुने अवस्था आउनुलाई एफेजिया भनिन्छ ।
एप्रेक्सिया : दिमागले अह्राएर गर्नुपर्ने स–साना काम गर्न नसक्ने अवस्थालाई एप्रेक्सिया भनिन्छ । उदाहरणका लागि सटमा टाँक लगाउन नसक्नु ।
एल्टर एक्जुक्यूटिक फङसनिङ : दिमागले योजना बनाएर काम गर्न नसक्ने अवस्था सिर्जना हुन्छ । व्यावहारिक रुपमा कार्यालयका कामलाई योजनाबद्ध ढंगबाट गर्न सक्दैनन् । उदाहरणका लागि गृहिणी महिलाले चिया पकाउने तरिका बिर्सने गर्दछ ।
डा. निदेश सापकोटा यी पाँचमध्ये कुनै एउटा लक्षण देखिए डिमेन्सिया भन्छन् । उनी थप्छन्, ‘आफूले गरेको काम बिर्सने र नयाँ कुरा सिक्न नसक्ने लक्षण हुन् भने युवा अवस्थामा साधारण टेलिफोन बिर्सनुलाई डिमेन्सिया भनिँदैन ।’
जोखिम न्यूनीकरण
पाँच तरिकाबाट जोखिम न्यूनीकरण गर्न सुझाउँछन् चिकित्सकहरू ।
मुटुसम्बन्धी रोग: मुटुसँग सम्बन्धित रोगका कारणले डिमेन्सिया भएका छन् भने मुटुको नियमित परीक्षण तथा उपचार गराउनु पर्दछ ।
उच्च रक्तचाप
रक्तचाप: चिकित्सकको सल्लाहअनुसार उच्च रक्तचाप कम गर्ने औषधि सेवन गर्नुपर्दछ । सामान्यतया एक पटक उच्च रक्तचापको औषधि लिएपछि लिइरहनुपर्ने भ्रमबाट मुक्त हुनु पर्दछ ।
शारीरिक व्यायाम: बिहान बेलुका कम्तीमा आधा घण्टा पसिना बग्ने गरी हिँडडुल गर्नुपर्दछ । जसले रक्तसञ्चार सक्रिय बनाउँदछ ।
खानपानमा ध्यानः खानपानमा हरिया सागसब्जी, ब्रोकाउली, टुसा उम्रेका क्वाटीको झोल, ओखर बदाम, दूधमा आधा चम्चा बेसार राखेर खानु पर्दछ । फ्रेस फलफूल तथा माछा खान सकिन्छ । जसमा ‘ओमेगा थ्री फ्याटी एसिड’ हुन्छ । ओमेगा थ्री दिमागका लागि महत्वपूर्ण मानिन्छ ।
सामाजिक क्रियाकलाप : सामाजिक तथा पारिवारिक जमघटमा सहभागी गर्नुपर्दछ । त्यसले दिमाग सक्रिय बनाउन मद्दत गर्दछ । खराब प्रोटिन दिमागमा जम्मा हुन पाउँदैनन्, जसले अल्जाइमर डिमेन्सिया हुनबाट जोगाउँछ ।
मस्तिष्कको कसरत : स्नायु प्रणालीलाई सक्रिय बनाउन कसरतले मद्दत मिल्नेछ । चेस, बागचाल, कोठेपद, सांगीतिक बाजा बजाएर कसरत गर्न सकिन्छ । डिमेन्सियालाई न्यूनीकरण गर्न सकिन्छ ।
कस्तो व्यक्तिलाई हुन्छ ?
– यदि कुनै व्यक्तिले बारम्बार एउटै कुरा दोहोर्याएर भनिरहन्छ भने त्यस्ता व्यक्तिलाई अल्जाइमर डिमेन्सिया हुन सक्दछ ।
– आफूले राखेको कुरा बिर्सने र खोजेको खेज्यै गर्ने गर्दछन् ।
– एउटै काम दोहोर्याएर गरिरहने गर्दछ ।
– स–साना कुरा बिर्सेर कार्यालय जानमा ढिलाइ भैरहने ।
– पहिले विभिन्न काम सम्हाल्न सक्ने तर पछिल्लो समयमा गर्न नसक्ने खालका हुन्छन् ।
रिसाउने र निद्रा कम पर्ने छन् भने त्यस्ता व्यक्तिको स्मरण शक्ति वा स्मरण राख्न सक्ने शक्तिको परीक्षण गर्नुपर्ने हुन्छ ।
– वंशाणुगत रुपमा बिर्सने रोग भएको परिवारमा रोग लाग्ने सम्भावना हुन्छ । वंशानुगत रुपमा ६० वर्षभन्दा माथिको उमेर समूहलाई अल्जाइमर हुन सक्तछ । नेपालमा महिला र पुरुष दुवैलाई समस्या देखिएको छ ।
कतिपय बिर्सने रोग यही कारण हुन्छ भन्ने अनुसन्धानले पत्ता लगाउन सकेका छैनन् । कतिपय बिर्सने रोग बुढ्यौलीसँगै अल्जाइमर डिमेन्सिया हुने देखिएको छ । पछिल्लो समय रोगमा उल्लेख्य वृद्धि देखिएपछि ‘अल्जाइमर डिमेन्सिया’ घटाउन विश्व स्वास्थ्य संगठनले निर्देशिका समेत प्रकाशन गरेका थिए । जसअनुसार व्यायाम गर्ने, मद्यपान तथा धूमपान त्याग्ने, खानपानमा ध्यान दिने, भिटामिनमा भर नपर्ने, दिमागको व्यायाम गर्ने, सामाजिक हुने, मुटु, उच्च रक्तचाप र मधुमेहसम्बन्धी उपचार गराउनेजस्ता कुरा उल्लेख गरेका छन् ।
उपचार सम्भव छ ?
रोग लागेको २ वा ३ वर्षपछि मात्र परिवारलाई थाहा हुने हुँदा समस्या जटिल भैसकेका हुन्छन् । पूर्ण रोकथाम गर्ने उपाय छैन । तथापि औषधि सेवनले जुन रफ्तारमा कोषिकाहरू धवस्त बनाइरहेका हुन्छन् त्यसलाई नियन्त्रण गर्न मद्दत मिल्ने डा. निदेश सापकोटा बताउँछन् ।
त्यसबाहेक जोखिमको न्यूनीकरण गर्न मुटुलाई स्वस्थ राख्नुपर्ने हुन्छ । उच्च रक्तचाप र मधुमेहजस्ता रोग लाग्न दिनु हुँदैन । नियमित शारीरिक व्यायाम, स्नायु प्रणालीलाई सक्रिय बनाउन खेल खेल्ने, सागपात तथा फलफूल सेवन गर्ने र सामाजिक तथा पारिवारिक जमघटमा सहभागी हुनु पर्दछ । डा. सापकोटा कतिपयलाई औषधि नचाहिने उल्लेख गर्छन् । त्यस्ता बिरामीलाई शरीर मालिस गरिदिने, कपालमा सुमसुमाइदिने गर्नुपर्दछ । बिरामीको पहिले गरेको कामअनुसार काम गराउनु पर्दछ ।
डा. सापकोटा भन्छन्, ‘कतिपय बिरामी घरबाट बाहिर निस्कएपछि घर नफर्कने हुन्छन् । त्यस्तालाई अभिभावकले विशेष हेरचाह गर्नु पर्दछ ।’ त्यस्तै, थाइरोइड, चिनीरोगका कारणले लागेको डिमेन्सिया भएको छ भने निको हुने डिमेन्सिया भित्र पर्दछन् । डिप्रेसनका कारणले लागेको डिमेन्सिया सिउडो डिमेन्सिया भनिन्छ, त्यो पनि निको हुन्छ । त्यसकारण, सरकारले राष्ट्रिय डिमेन्सिया केर प्लानका रुपमा आगडि बढाउनुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन् । ‘अल्जाइमर डिमेन्सिया’ भएका बिरामीको स्याहार गर्ने अभिभावकलाई दुःख हुनेहुँदा उनीहरूका लागि पनि सरकारले सोच्नु पर्ने चिकित्सकहरुको भनाइ छ ।
सरकारले व्यवस्थित गर्न सकेन
डा. निदेश सापकोटा,
दक्षिण एसियामै अल्जाइमर डिमेन्सियाका बिरामीलाई नेपाल सरकारले सहुलियत दिने व्यवस्था गरेको छ । चिकित्सकले डिमेन्सिया निक्र्योल गरेको अवस्थामा बिरामीले एक लाख रुपैयाँ बराबरको औषधि र उपचार सुविधा पाउने व्यवस्था गरेको छ । तर सुविधा दिएर पनि सामान्य नागरिकको पहुँचभन्दा बाहिर छन् । उनीहरू त्यस्ता सुविधा लिन पाएका छैनन् । वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानलगायत अस्पतालबाट उक्त सुविधा लिन सक्नेछन् ।
अर्को भनेको अल्जाइमर डिमेन्सियाका बारेमा जनता बेखबर छन् । स्वास्थ्य स्वयं सेविका र मिडियामार्फत जनतामाझ रोगका बारेमा जानकारी दिनुपर्ने आवश्यता पर्दछ ।
प्रकाशित: ९ माघ २०७६ ०६:५४ बिहीबार