१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्य

हिप्पीहरू भन्थे : बम भोले !

मेघराज नहर्की  
विशेषतः शान्तिको गीत गाउँदै महिनौं लगाएर अमेरिकी तथा युरोपेली युवा नेपाल आएका थिए । उनीहरू काठमाडौंको झोंछेंमा महिनौं बस्थे । गाँजा तान्थे । एकदमै बिन्दास थिए । त्यो समय अर्थात् ६० देखि ७० को दशकलाई हिप्पी युग भनिन्छ । तिनताका अमेरिकी मात्र होइन, इटाली, स्पेन, जर्मनी, बेलायत र फ्रान्सदेखिका युवा आउँथे ।   

हिप्पीहरू पुलिसलाई भन्थे, ‘यो राजाको देश हो । राजाको देशमा मलाई बस्न छुट छैन ? म त शिवभक्त हुँ । मलाई जा भन्ने तँ को होस् ?’  

हिप्पी युग चलिरहेको थियो । म कक्षा ८ मा पढ्दै थिएँ, त्यस्तै २०३५ सालतिर म झोंछेको एउटा गेष्ठ हाउसमा सहयोगीका रुपमा काम गर्न थालेँ । भर्खर १५ वर्षको थिएँ, बिहान÷बेलुकी गेष्ट हाउसमा सघाउँथेँ । दिउँसो पढ्न जान्थेँ ।

हाम्रो गेष्ट हाउसका साहुजी श्रीकृष्ण शाही भलाद्मी हुनुहुन्थ्यो । मलाई भाइ जस्तै व्यवहार गर्नु हुन्थ्यो । मैले जान्दा झोंछेमा १५ वटा लज थिए । त्यो बेला हिप्पीहरू बाहिर सिँढीमा बसेर लामालामा चिलिममा गाँजा खान्थे । गाँजा खाइसकेपछि लस्सी र गुलियो पाई केक खान मन पराउँथे । तिनताका ड्रमभरि लस्सी बनाइन्थ्यो ।

हाम्रो गेष्ट हाउसका मालिकको पाई सप पनि थियो । हाम्रा लागि त्यहाँ भात पाक्थ्यो । बिहान र बेलुकी भात खान त्यहाँ जान्थ्यौं । मैले त्यहाँ केक, पाई र सिनामन रोल बनाउन सिकेँ ।
हामी पर्यटक लिन रत्नपार्क जान्थ्यौं । त्यहाँ बस पार्क थियो । म लजमा काम गर्दा त्यहाँ पर्यटक लिन जान्थ्यौं । उनीहरूलाई सित्तैंमा ट्याक्सी चढाएर ल्याउँथ्यौँ । १२ रुपैयाँमा डबल बेड भएको कोठा बेच्थ्यौँ । पाँच रुपैयाँमा फ्राइ राइस बेच्थ्यौँ ।

म त सानै थिएँ । मैले थाहा पाउँदा हिप्पीहरू गितार, मादल, तबला र सितार बजाउँदै गीत गाउँथे । धुवाँ तानिरहन्थे । जोगी, सन्त, हिन्दू धर्म र शिवजीका कुराकानी गर्न रुचाउँथे ।
खालीखुट्टा हिँड्ने । लामालामा कपाल र दाह्री पाल्ने । बम भोले ! भन्ने गर्थे । आफ्नो चिलिम देखाउँदै यो त फलानो बाबाले बनाएको भन्थे । किताब पनि पढिराख्थे ।
पछि मैले अंग्रेजी बोल्न जान्ने भएपछि उनीहरूसँग कुराकानी गर्न थालेँ । उनीहरू लभ एण्ड पिसका कुरा गरिराख्थे । म किशोर वयमा थिएँ । मलाई उनीहरूका आनीबानी रमाइलो लाग्थ्यो । चाखपूर्वक हेर्थेँ ।  

मैले जान्दा ९८ प्रतिशत हिप्पीहरू ठूला–ठूला चिलिममा गाँजा राखेर खान्थे । महिनौं यतै बस्थे । कति त विनाभिसा बसेकाले अध्यागमनका प्रहरीले उनीहरूलाई डिपोट गर्थे । डिपोट गर्दा काठमाडौंको पुलिसले थानकोटकोलाई, थानकोटले नौबिसेको पुलिसलाई एवं रितले वीरगञ्ज कटाइदिन्थे । वीरगञ्जको पुलिस फर्केर आउनुभन्दा पहिल्यै ती हिप्पीहरू यता आइसक्थे ।
कतिपय हिप्पीहरू पुलिसलाई भन्थे, ‘यो राजाको देश हो । राजाको देशमा मलाई बस्न छुट छैन ? म त शिवभक्त हुँ । मलाई जा भन्ने तँ को होस् ?’ पुलिसहरू छक्क पर्थे ।
हाम्रो लजमा महिनौं बसेर केहीले पैसा तिरेनन् । उनीहरूको पैसा नआउने देखेपछि भैगो पैसा तिर्नु पर्दैन । तिमीहरू जाउ भन्यौं । एउटा हिप्पीले त यसो भन्यो, ‘म जान त जान्छु तर तेरो एउटा ब्ल्याङ्केट लिएर जान्छु । मेरो केही पनि छैन ओढ्नलाई ।’
मैले ब्ल्याङ्केट दिएर पठाएँ । उनी वसन्तपुरको मन्दिरमा गएर बसे । त्यहाँ थुप्रै हिप्पीहरू हुन्थे । दिनभरि घाम ताप्दै जुम्रा मारिरहेका पनि देखिन्थे । अनि कागज टिपटाप पारेर स्यानो भाँडामा चिया पकाएर खाएको पनि देखियो ।

एक पटक एउटा स्वीस युवाले हाम्रो साथीले आपूmलाई खान बनाएको खाना खाइदिएछ । ऊ भन्दो रहेछ, ‘म तिमीलाई स्वीजरल्यान्ड लैजान्छु ।’ साथी मख्ख पर्दोरहेछ । ६ दिनसम्म त्यसैगरी खाना खाएपछि उसले आफ्नो साहुजीलाई सबै कुरा बतायो । साहुजीले सोधे, ‘पासपोर्टविना कसरी तिमीलाई उसले लैजान्छ ?’

त्यही कुरा साथीले स्वीसलाई सुनाउँदा उसले भनेछ, ‘म पाइलट हुँ । हेलिकोप्टर लिएर एयरपोर्टमा आउँछु । तिमी दगुर्दै आएर चढ्नु । म उडाइ हाल्छु । पार्सपोट जरुरी नै पर्दैन ।’  
सबै हिप्पीसँग पैसा थिएन भन्ने होइन । मलाई तीनजना जर्मनले दशदशका नेपाली नोट साटेर माग्नेहरूलाई बाँड्न पठाउँथे । तीन दिनसम्म मैले बाँडे । तेस्रो दिन बाँड्न जाँदा मलाई माग्नेहरूले झण्डै आक्रमण गरेका ! ‘ए हाम्लाई त यो मान्छेले यति दिएको छ, उल्ले कति लुकायो होला’ भन्दै झम्टन आए । म भागेँ ।

चौंथो दिन पनि ती जर्मनले लगेर बाँड् भने । मैले ‘आइ एम सरी’ भनिदिएँ । कतिपय हिप्पीहरू आफ्नो भएभरको चिज जोगीलाई दिएर पछि आफैंँ जोगी जस्तै बन्थे । लुगाफाटो, सिलिपिङ ब्याग सबै जोगीलाई दिएर हरे राम ! लेखिएको साधारण गम्छा भिरेर खाली खुट्टामा हिँड्थे ।
दिनभरि शिवजी, चिलिम र बाबाजीको गफ गर्थे । त्यस्तै किताब पढ्थे ।  
म जुन गेष्ट हाउसमा काम गर्थेँ । पछि मैले त्यो लज आफैँ किनेँ । मैले रेष्टुराँ पनि चलाएँ । हिप्पीहरूले अर्को मान्छेले खाइरहेको खाना खोसेको पनि देखिन्थ्यो । धेरैजनाले खोसेका थिए । खाइरहेको मान्छेले पनि चर्को प्रतिवाद गर्दैनथे । 

त्यो बेला हरेक पूर्णिमाको दिन फुल मुन पार्टी हुन्थ्यो । स्वयम्भु, वसन्तपुर, पशुपति, दक्षिणकालीतिर हुने पार्टीमा म पनि हिप्पीहरूसँग रातभर डुल्थेँ । आगो तापेर नाचगानमा भुल्थेँ ।
हिप्पीहरू प्राय : जोडी जोडी हुन्थे । उनीहरू टर्की, इरान हुँदै महिनौं लगाएर गाडीमा नेपाल आउँथे ।
पैसा सकिने बित्तिकै उनीहरू फर्कंदैनथे । केही हिप्पीहरू आफ्नो पैसा सकिएपछि नयाँ आउनेसँग सापटी माग्थे । कतिले त चकलेट, बिस्कुट बेचेर पनि गुजारा चलाउँथे ।
म हिप्पीहरूकै संगत गरेर गोवा पनि पुगेँ । त्यतिबेला म गएको किनारमा एउटा मात्र लज थियो । समुद्र देखेको त्यहीँ पुगेर हो । जर्मन हिप्पीसँग पुगेको । बालुवामा सुत्नु पर्ने रहेछ । डेढ महिना त्यहाँ रमाइलो गरियो ।

झोंछेमा भन्दा फरक खालका हिप्पी त्यहाँ भेटिए । मैले केही समय त्यहाँ एउटा बेकरीमा पाउरोटी बनाएँ । मलाई खान÷बस्न पुग्थ्यो । फर्केर काठमाडौं आउने रेल भाडा पनि भयो ।
मैले बिर्सन नसक्ने एउटा घटना छ । मैले त्यहाँ तीनजना बेलायती युवा भेटेँ । उनीहरूसँग भारु ६ रुपैयाँ थियो । ‘हामी फर्कन लागेको हामीसँग भाडा यत्ति छ’ भने तिनले । यति रकमले कसरी पुग्छौं भनेर सोध्दा तिनले भने, ‘नो प्रोब्लम ! बम बम भोले ! हो जाएगा । परार हाम्रा दुईसाथी गोवाबाट बेलायत जाँदा उनीहरूको साथमा जम्मा भारु २ थियो । त्यही पनि बेलायत पुग्दा भारु १ त बचेकै थियो ।’  
उनीहरू आँटेपछि पुर्‍याउँदा रहेछन् । रमाइलो लाग्यो । अचम्मको जमाना थियो त्यो ।
पछिपछि अलिक राम्रा पर्यटक आउन थाले । त्यो बेला त पचास प्रतिशतभन्दा कम गोराले मात्र जुक्ता लगाउँथे । मैले झोछेंको लजमा काम गर्दा ६० प्रतिशत हिप्पीले लजको पैसा तिर्थे । कति त भाग्थे । मैले नौबिसेमा भेटेर भगुवालाई समातेको घटना छ । उसले अर्को वर्ष आएर तिर्छु भन्दै आफ्नो क्यामेरा पो मलाई दियो । झगडा गर्नुभन्दा  क्यामेरा लिएर फर्केँ ।

तिनताका ठमेलमा केही होटल र केही रेष्टुराँ थिए । काठमाडौंबाट गणेशमानसिंह जीको घर हुँद यता आउने बाटो त नर्क जस्तो थियो । मान्छेहरू बाटो छेउछाउमै दिसापिसाब गर्थे । नर्कै जस्तो थियो ।  
रेष्टुराँसमेत आफैंले चलाउन थालेपछि बिहान ४ बजेदेखि राति १२ बजेसम्म खटिनु पथ्र्यो । पैसा त कमाइ हुन्थ्यो तर, म रमाउन सकिनँ । सायद हिप्पीहरूको प्रभावले होला, मलाई घुमफिरमा रुचि थियो । केही समय पछि त्यसलाई बेचिदिएँ । पछि म गार्मेन्ट व्यवसायमा लागेँ ।
फर्केर हेर्दा हिप्पी युग नेपाली पर्यटनको कोशेढुँगा हो । हिप्पीहरूले युरोप, अमेरिकामा नेपालको ठूलो प्रचार गरिदिए । हिप्पीहरू हाम्रा पर्यटन दूत हुन् । उनीहरू भारतीय लेखकहरूका साहित्य र पुस्तक पढेर नेपाल आएका थिए ।
 

 

प्रकाशित: २६ पुस २०७६ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App