साँखुमा शुक्रबारबाट स्वस्थानी मेला सुरु भएको छ। जुन मेला महिना दिनसम्म चल्नेछ। मेलामा आध्यात्मिक वातावरण हुन्छ। मेला भरेर फर्कंदा त्यहाँबाट सागसब्जी, गेडागुडी, खुवा र परम्परागत भाँडावर्तन कोसेली ल्याउन पाइन्छ।
चारैतिर हरिया डाँडाले घेरिएको सानो उपत्यका। गुचुमुच्च परेको बस्ती। परम्परागत शैलीका घरहरू। पाइलैपिच्छे नेवारी कला झल्किने मठ, मन्दिर र डबलीहरू। नेवार संस्कृतिको सुवास मग्मगाउँछ साँखुमा। काठमाडौंबाट मात्र १८ किमि दूरीको बजार। यतिबेला साँखुमा स्वस्थानी मेला चलिरहेको छ।
काठमाडौंको सबैभन्दा प्राचीन बस्ती साँखु (१,४०० मिटर)। ३३ सय वर्ष अगाडि नै साँखुमा बस्ती बसेको इतिहास छ। संस्कृतिविद् प्रकाशमान सक्वका अनुसार त्यतिबेला बज्रयोगिनी मन्दिरका पुजारी जोगदेव बज्राचार्यले शंख आकारमा बस्ती बसालेका थिए। त्यसैले शहरलाई ‘शंखरापुर’ पनि भनिन्छ।
बज्रयोगिनी वंशावली पुस्तकका अनुसार कलिगत संवत् १८०१ मा जोगदेवले बस्ती बसालेको पाइन्छ। बस्ती बसेको ३३२० वर्ष पुग्यो। चोक, डबली, गोरेटा, ढल, खानेपानीसहित व्यवस्थित रूपमा बस्ती बसालिएको थियो।
साँखुमा आठ टोल, आठ विहार, अष्ट विनायक, अष्ट भैरव र अष्ट मातृका छन्। साथै स्वस्थानी मेला लाग्ने साली नदी पनि छ। नेवार बस्तीका मन्दिर कलात्मक छन्। त्यहाँ पहिला ९ ढोका थिए। हाल ५ वटा मात्र छन्। तीनका पनि आआफ्नै विशेषता छन्। एउटा ढोकाबाट छोरी विदाइ गर्ने, अर्कोबाट दुलही भित्र्याउने। एउटाबाट मुर्दा बाहिर लाने, अर्कोबाट देवता भित्र्याउने गरिन्छ र पाँचौं ढोकाबाट स्वस्थानी मेलाका बेला माधवनारायणलाई आवतजावत गराइन्छ।
स्वस्थानी मन्दिर, भीमसेन, बज्रयोगिनीमा दिपंकर र स्वस्थानी मेलामा राखिएको गेडागुडी।
देवतैदेवताको सहरमा ज्योर्तिलिंगेश्वर महादेव छन्। उनी आफै उत्पत्ति भएका। सर्वप्रथम ब्रम्हा र विष्णुले ज्योर्तिलिङ दर्शन गरेको भनाइ छ। त्यहाँ महादेवथानमा भीमसेन, पशुपति, बुढानीलकण्ठ, भैरव, नारायण, गणेश, राधाकृष्ण, उमामहेश्वर, रुद्राक्ष, चामुण्डादेवी, गरुड आदिका मूर्ति छन्।
१२ वैशाख ०७२ को भुइँचालोबाट साँखुमा जनधनको क्षति भएको थियो। यतिबेला साँखु पुननिर्माणको चरणमा छ। साँखु आफैमा रमणीय ठाउँ। धर्म, प्रकृति र संस्कृतिको त्रिवेणीधाम। टोलटोलमा मन्दिर। हरेक साँझ भजनकीर्तन हुन्छ। त्यहाँ आध्यात्मिक भावना पाइन्छ।
नेपाल भाषामा साँखुलाई ‘सक्व’ भनिन्छ भने तिब्बतलाई ‘सदे’। सदे मुनि रहेको अर्थात् तिब्बत मुनि रहेकाले सख्व भनिएको संस्कृतिविद्को भनाइ छ। पहिला पहिला साँखु हुँदै व्यापारी तिब्बतबाट काठमाडौं ओहोरदोहोर गर्थे।
भृकुटीको बज्रयोगिनीमा स्वयंवर गराएर तिब्बत हुँदै भोट पु-याइएकाले त्यही बेलादेखि तिब्बत ल्हासा व्यापार चलेको इतिहास छ।
साँखु क्षेत्रमा उर्वर जमिन छ। आलु, धान, गहुँ र तरकारी उत्पादन हुन्छ। ग्रामीण जीवनशैलीमा बाँचेको साँखु नगरपालिका बनेको केही वर्ष भयो। सरकारले साविकका पुखुलाछि, नाङलेभारे, लप्सेफेदी, बज्रयोगिनी, सुनटोल र इन्द्रायणी गाविस मिलाएर शंखरापुर नगरपालिका बनाएको थियो। नगरपालिकामा धार्मिक र कृषि पर्यटनको प्रचुर सम्भावना छ।
साँखुको सेरोफेरोमा जहरसिंह पौवा, बज्रयोगिनी, मणिचुड, पञ्चमहालक्ष्मीस्थान, भोटेचौर, कात्तिके भञ्ज्याङ, चाँगुनारायण, सुन्दरीजल लगायत आकर्षक ठाउँ छन्।
वर्षैभरि साँखु घुम्न सकिन्छ। बजारमा सामान्य होटल र रेष्टुराँ छन्। साँखुलाई केन्द्र मानेर धेरैतिर हाइकिङ, बाइकिङ र साइक्लिङ गर्न सकिन्छ। स्वस्थानी मेला चलिरहेका बेला प्रकृति र संस्कृतिको स्वाद चाख्दै सेरोफेरोमा पदयात्रा गर्नु बेस हुन्छ। यतिबेला पहारिलो घाममा रसिला सुन्तला खाँदै यात्रा गर्न पाइन्छ। त्यहाँबाट फर्कंदा गेडागुडी, तरकारी परम्परागत भाँडावर्तन र खुवा कोसेली ल्याउन बिर्सनु हुँदैन है !
साली नदी
साँखु बजार मुन्तिर साली नदी बग्छिन्। नदी किनारमा महादेव, स्वस्थानी, गणेश, नागनागिनी, हनुमान, बद्रीनाथ, वासुकी आदिका मूर्ति छन्। यही नदीमा स्वस्थानी मेला लाग्छ। हिन्दू शास्त्रअनुसार विष्णुले पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधि सिकाए। पार्वतीले नदी किनारमा व्रत बसेर स्वामी स्वरूप महादेव पाइन्। त्यसैले शाली नदी क्षेत्रमा माधवनारायणको प्रतिमा साक्षी राखी व्रत बस्ने चलन छ। ब्रत महिना दिनसम्म चल्छ। धर्म, इश प्राप्ति, सुस्वास्थ्य र पारिवारिक सुख एवं शान्तिका लागि व्रत बस्ने चलन छ।
स्वस्थानी व्रतकथा अनुसार उहिल्यै चन्द्रावती खसेको नदी नै साली नदी हो। नेपाल भाषामा ‘ना’को अर्थ ‘पानी’ र ‘दि’को अर्थ ‘रोकिएको ठाउँ’ हो। संस्कृतिविद् सक्वका अनुसार चन्द्रावती खस्दा नदी रोकिएको थियो।
लाखौंले स्वस्थानी मेला भर्छन्। महिला र पुरुष महिना दिन लामो उपवासमा बसेका छन्। उनीहरू एक छाक मात्र खान्छन्। बिहान नुहाउने, गणेश पूजा गर्ने, दिउँसो नित्य पूजा सकेर साँखुका १०८ ठाउँमा जल चढाउँछन्। अनि साँझमा शाकाहारी भोजन गर्छन्।
बज्रयोगिनी
बज्रयोगिनी साँखुबासीका इष्ट देवता हुन्। साँखु बजारबाट दुई किमिमा बज्रयोगिनी मन्दिर छ। हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थ। १६ औं शताब्दीमा राजा प्रताप मल्लले बनाएको मन्दिरमा तीन तला छ।
आगोको रश्मिबाट उत्पन्न भएको हुनाले बज्रयोगिनीलाई उग्र ताराको रूपमा पनि पुजिन्छ। मन्दिरको टुप्पामा सानो स्तुप छ। मन्दिर मास्तिर जात्रा हुँदा बज्रयोगिनीलाई राख्ने घर छ। चैत्र पूर्णिमादेखि एक साता बज्रयोगिनी जात्रा मनाइन्छ।
मणिचुड
साँखु बजारबाट ६ किमि दूरीमा पवित्र तीर्थस्थल मणिचुड (२,२३० मिटर) छ। डाँडैडाँडाले घेरिएको खुल्ला आकाशमुनि चिटिक्क दह छ। नजिकै शिव र पार्वतीको मन्दिर र चैत्य छन्।
कमण्डलु आकारको दह आकर्षक छ। उहिल्यै मणिचुड राजाले राज्य चलाएको ठाउँ भएकाले मणिचुड भनिएको। यहाँ जनै पूर्णिमाका दिन ठूलो मेला लाग्छ। डाँडाबाट हिमालको सुन्दर दृश्य पनि देखिन्छ।
मणिचुड भएको ठाउँलाई पौराणिक भाषामा मृगेन्द्र पर्वत भनिन्छ। शंखचुर अर्थात् शिवपुरी डाँडा पनि भनिन्छ। हिन्दूहरूका ६४ शिवलिंगमध्ये कागेश्वर, मणिचुडेश्वर, योगेश्वर र नारायणेश्वर यहीँ डाँडामा बसेका छन्।
धार्मिक विश्वास अनुसार यहाँ बज्रयोगिनी खेल्न आउँथिन्। खेल्दाखेल्दै एक दिन उनको कमण्डलु खस्यो। त्यो ठाउँमा दह उत्पन्न भयो। त्यसैले दह कमण्डलु आकारको भएको भनाइ छ।
कसरी पुग्ने : काठमाडौं–साँखु १८ किमि, गाडीमा एक घन्टा। रत्नपार्कबाट चाबहिल, जोरपाटी हुँदै साँखुसम्म सार्वजनिक गाडी चल्छन्।
सेरोफेरोमा हाइकिङ
मणिचुड–साँखुबाट ६ किमिमा मणिचुड। मणिचुड पुगेर फर्कंदा पदयात्रा दूरी १२ किमि, समय ६ घन्टा।
भोटेचौर–साँखुको उत्तरमा ठूलो चिया बगान छ। साँखुबाट १९ किमि पदयात्रामा भोटेचौर, समय ६ घन्टा।
कात्तिके भञ्ज्याङ– साँखुको पूर्वमा कात्तिके भञ्ज्याङ छ। ओहोरदोहोर गर्न १४ किमि, समय ६ घन्टा।
नगरकोट–साँखुको पूर्वमा नगरकोट। साँखुबाट नगरकोट पुगेर रोहिणी भञ्ज्याङ हुँदै साँखु फर्कन पदयात्रा दूरी १४ किमि, समय ५ घन्टा।
चाँगुनारायण–साँखुको दक्षिणमा अवस्थित चाँगुनारायण विश्व सम्पदा सूचीमा सूचीकृत छ। साँखुबाट काँडाघारी हुँदै चाँगुसम्म पदयात्रा। दूरी ८ किमि, समय ४ घन्टा।
सुन्दरीजल–साँखु–सुन्दरीजल १४ किमि, पदयात्रा समय ६ घण्टा।
ऐतिहासिक शहर
प्रकाशमान सक्व, संस्कृतिविद्
हामी राष्ट्रिय महत्वका साथ नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौं। यसबाट हामी उत्साही छौं। हामी आउँदो फागुन १४ गते सक्व (साँखु) स्थापना दिवस मनाउँदैछौं। साँखु शहर स्थापना भएको ३३२० वर्ष पुग्यो। स्थापना दिवसमा हामी ऐतिहासिक सामाग्रीको प्रदर्शनी, पुराना नाच तथा जात्राको प्रस्तुतिका साथमा परम्परागत नेवारी भोज खुवाउने योजनामा छौं।
प्रकाशित: २६ पुस २०७६ ०४:२४ शनिबार