प्रियंका झा, नाट्यकर्मी
बुबा रमेश रञ्जन झा मिनापमा हुनुहुन्थ्यो। घरमा मिथिला नाटक परिषद्का कलाकारको जमघट भइरहन्थ्यो। उहाँहरूको कुराकानी सुन्थेँ, अभिनय हेर्थें। म बिस्तारै उहाँहरूबाट प्रभावित हुँदै गएकी थिएँ। बुबा पनि नाटक निर्देशन गर्नुहुन्थ्यो। गाउँघरमा चाडपर्वमा नाटक मञ्चन हुन्थ्यो। म सबैभन्दा अगाडि बसेर नाटक हेर्थें। बाल्यकालदेखि नै म नाट्य क्षेत्रप्रति आकर्षित भइसकेकी थिएँ।
हामी शिक्षादीक्षाका लागि जनकपुर बसाइँ स¥यौँ। सानैदेखि म नृत्यमा रुचि राख्थेँ। नृत्यबाटै ‘मिनाप’मा प्रवेश गरँे र त्यहाँ दुई वर्ष नृत्य गरेँ। हामी महेन्द्र मलंगियालाई मैथिली रंगमञ्चका सेक्सपियर भन्छौँ। मेरो घर आउँदा उहाँले भन्नुभएको थियो, ‘अब तिमीले नाटक गर्नुपर्छ।’ मैले भनेँ, ‘त्यति धेरै ‘डायलग’ याद गर्न सक्छु र !’ उहाँले ढाडस दिँदै भन्नुभएको थियो, ‘तिमीले संवाद याद गर्न सक्छ्यौ।’
नाट्ययात्रा
मैले २०५५ सालदेखि बुबाकै प्रेरणा र सहयोगमा नाट्ययात्रा सुरु गरेँ। मैले अभिनय गरेको पहिलो नाटक हो, ‘ओखाली मुँ देखइ छेँ’, जसमा महेन्द्र मलंगियाको लेखन र निर्देशन थियो। यसमा दहेज (दाइजो)का कारण नारीले ज्यान गुमाउनुपरेको विषय उठाइएको छ। मैले यसमा छोरी (सीता)को मुख्य भूमिका निभाएकी थिएँ। सीता पढेकी छोरी हुन्छे, तर दाइजोका कारण उसको विवाह भएको हुँदैन। यही बीचमा सीतालाई सर्पले टोकेको हुन्छ, तर बुवालाई थाहा भएर पनि वास्ता गर्दैनन् र मृत्यु हुन्छ।
उतिबेला नाट्य क्षेत्रलाई तुच्छ ठानिन्थ्यो। मञ्चमा १५ पुरुषको बीचमा नाच्नु राम्रो मानिँदैनथ्यो, त्यसकारण महिलाको खिल्ली उडाइन्थ्यो, अनेक लाञ्छना लगाइन्थ्यो। मैथिली समाजमा नाट्य क्षेत्रमा महिला सहभागिता राम्रो मानिँदैनथ्यो। यसकारण, नाटक खेल्न र नृत्य गर्न निकै गाह्रो थियो। विद्यालयमा साथी बनाउन पनि निकै गाह्रो हुन्थ्यो। छिमेकीहरूले भन्थे, ‘यिनीहरूसँग नबोल, पढाइ बिग्रिन्छ।’ एकाध महिला नाटकमा सहभागी हुन्थे। त्यतिबेला मधेसमा नाट्य क्षेत्रमा रेखा कर्ण सक्रिय हुनुहुन्थ्यो। त्यसपछि म र रञ्जु झा (जो मधेस आन्दोलनका बेल बमकाण्डमा परेर सहिद हुनुभयो) नाटकमा आयौँ।
अहिले पनि महिला नाट्यकर्मीलाई ‘नचनिया’ भन्छन्। गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा ‘कति जना हो नचनिया’ भन्छन्। नाटकमा कति मिहिनेत गर्नुपर्छ ? यसको महत्व कति छ ? केही थाहा छैन।
परिवारमा नाटकको राम्रो माहोल थियो, तैपनि गाह्रो हुन्थ्यो। नाटक र नृत्यको तयारीमा रातको ९ बज्थ्यो। राति–राति को को केटासँग बाइकमा हिँड्छे भनेर मानिसहरू कुरा काट्थे, चित्त दुख्थ्यो, हतोत्साही हुन्थेँ। छिमेकीले पनि आमालाई मेरो बारेमा भए–नभएका अनेक कुरा सुनाइदिन्थे। राम्रो र कुल घरानामा बिहे हुँदैन भनेर तर्साइदिन्थे। यसकारण आमालाई सम्झाउन गाह्रो हुन्थ्यो। तर, बुबा मलाई उत्साह दिनुहुन्थ्यो। उहाँले धेरै सहयोग गर्नुभयो र नाट्य यात्रा सहज हुँदै गयो।
गाउँमा अशिक्षित मानिस धेरै छन्। यसकारण, नाटकको मर्म बुझिँदैन। यस क्षेत्रमा लागेका मानिसलाई पनि राम्रो ठान्दैनन्। अहिले पनि महिला नाट्यकर्मीलाई ‘नचनिया’ भन्छन्। गाउँमा दसैँ, तिहार र छठमा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। यस्ता कार्यक्रममा सहभागी हुँदा ‘कति जना हो नचनिया’ भन्छन्।
रंगमञ्चमा कति मिहिनेत गर्नुपर्छ ? यसको महŒव कति छ ? उनीहरूलाई केही थाहा हुँदैन। थाहा नभएपछि मान्छेले जे पनि बोल्छ। यस्तै सोच र व्यवहारका कारण गाउँघरमा प्रतिभा प्रस्फुटन हुन पाएको छैन। सधैँजसो चरित्रमाथि प्रश्न उठाइन्छ।
तर, अहिले नाट्यकर्मीलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आउँदै छ। मेरो सफलताले छरछिमेकको सोच र व्यवहार बदलिँदै गएको छ। छिमेकी भन्छन्, ‘मेरो नानीबाबुलाई पनि नाटक सिकाइदेऊ न।’ २५ वटाभन्दा बढी सडक नाटक खेलेकी छु, जसमा एउटै नाटक धेरैपटक मञ्चन हुन्थ्यो। २०–२२ वटा स्टेज नाटक गरेकी छु। यी नाटकमध्ये सखी (बुवाको लेखन र घिमिरे युवराजको निर्देशन) को मञ्चन सयभन्दा बढीपटक गरेकी छु। त्यस्तै, चारवटा नाटकको निर्देशन गरेकी छु। यीमध्ये मेरै लेखन, निर्देशन र अभिनय भएका दुई नाटक छन्। महेन्द्र मलंगियाकै ‘छुतहा घैल’ र बुवाको लेखन निर्देशनमा ‘बगिया’ लगायत धेरै नाटकमा अभिनय गरेकी छु। म सामाजिक विषयवस्तु रुचाउँछु, यस्तै नाटकमा अभिनय पनि गर्दै आएकी छु।
‘बगिया’ले मलाई नाट्य यात्राको एउटा सिँढी चढाइदियो। यो लोककथामा आधारित नाटक हो। एकदमै राम्रो थियो। यही नाटकमा अभिनय गरेपछि मैले दुई चलचित्रमा अवसर पाएकी थिएँ। मैथिली नाटक कुनै ‘इस्यु’ र तराई क्षेत्रकै सामाजिक संरचनामा आधारित हुन्छन्। मैथिली समाज संस्कार, संस्कृति र कलामा धनी छ, धेरै पर्व मनाइन्छ। मधेसमा ‘इस्यु’ पनि धेरै छन्। चलचित्रमा झैँ लभ स्टोरी र कमेडी पनि नाटकमा राखिएकै हुन्छ। कथावस्तु र निर्देशन शैली नै नाटकका मुख्य पक्ष हुन्। सबै पक्षको समिश्रण र सन्तुलनले नै नाटक राम्रो हुने हो।
पहिले मैथिली नाटकमा रञ्जु र रेखा दिदी मात्र हुनुहुन्थ्यो, म थपिएँ। पछिल्लो समय अनिता रानी मण्डल र सरिता शाह सक्रिय हुनुहुन्छ। जनकपुरमा मैथिली नाटक धेरै ठाउँमा मञ्चन गरिन्छ। १४औँ शताब्दीदेखि नै मैथिली रंगमञ्च सुरु भएको इतिहास छ। अहिले महिलालाई रंगमञ्चमा लाग्न सहज भए पनि यसमा कलाकार मधेसी महिला थोरै छन्, दुई–तीनजना मात्रै।
सामाजिक परिवेशका कारण रंगमञ्चमा महिला सहभागिता कम भएको हो। एउटा मिनाप संस्था छ, अहिलेसम्म हल बनेको छैन। एउटा राम्रो थिएटर छैन। अहिले पनि नाटक गर्न धेरै गाह्रो छ। कलाकार गुजाराका लागि अन्य पेसामा आबद्ध छन्। यसकारण यसमा सहभागिता घटेको हो।
अडिन गाह्रो
विराटनगरमा नाट्य क्षेत्र खुब फस्टाएको छ। तर, नाटकको खानी जनकपुरमा कलाकारलाई टिक्न गाह्रो छ। वर्षमा चाडपर्वका बेला मात्रै नाटक गरेर बाँकी समय के गर्ने ? नाटकको व्यवसायीकरणका लागि जनकपुर नै उपयुक्त छ। यहाँ पहाडी मूलका महिलाको नृत्यमा उल्लेखनीय सहभागिता छ। मैथिलीभाषी महिला निकै कम छन्। न्यून पारिश्रमिकले दैनिकी चलाउन गाह्रो भएकाले पनि महिलाको सहभागितामा कमी आएको हो। रहरमै प्रवेश गर्नेहरू यस क्षेत्रमा लामो समयसम्म रहँदैनन्। रंगमञ्चलाई जीवन सम्झनेहरू मात्र लामो समयसम्म टिक्न सक्छन्।
बिहेपछि
मेरो बिहे २०६६ वैशाखमा भयो। बिहे हुनुभन्दा १५ दिनअघि नाटक गरेँ। बिहेपछि १० दिन ससुराल (श्रीमान्को घर) बसेँ। त्यसपछि नाटकमै लागिरहेँ। श्रीमान् (रविन्द्र झा) कलाकारितामै हुनुहुन्छ। यसकारण बिहेपछि कलाकारितालाई निरन्तरता दिन सजिलो भयो। परिवारको राम्रो सहयोग मिलेको छ। तर भन्नेहरूले बाँकी केही राखेनन् । समाज यस्तै छ !
नानी पेटमै हुँदा कतार र दुबई गएर नाटक खेलेकी थिएँ। त्यही समय टिभी सिरियलमा पनि काम गरेँ। नानी जन्मिएपछि नाटकमा समय दिन गाह्रो भयो। एक–दुई वर्ष नाटक खेलिनँ। कथा र कविता पनि लेख्छु। तर, रंगमञ्चमै आनन्द आउँछ। यसबाटै खुसी बटुलेकी छु। नाटक लेखन र निर्देशनबाट मैथिली नाटकको शिर झन् उचो बनाउने धोको छ।
(नागरिककर्मी ज्योति श्रेष्ठसँगको कुराकानीमा आधारित।)
प्रकाशित: १९ पुस २०७६ ०५:०५ शनिबार