२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्य

सागका सान

सम्पन्न सबै संस्करणमध्ये नेपालमा सम्पन्न १३ औं  दक्षिण एसियाली खेलकुद (साग) पदकको हिसाबले सफल भयो । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घोष गरेको स्वर्ण पदकको संख्या पनि पूरा भयो ।

न्यून पूर्वाधार तर कठोर संकल्प लिएर चुनौती मोलेका रमेशकुमार सिलवालले सम्पन्न गरे, पदकका हिसाबले सफल पनि भयो । तर आलोचनाका विषय भने थुप्रै रहे । व्यवस्थापनदेखि सुरक्षासम्मका विषयले सबैको ध्यानाकर्षण गर्‍यो । हर्षोल्लासका साथ उद्घाटन भए पनि समापन समारोह भने सोचेजस्तो भएन । समापनको दिन फुटबलको फाइनल हुँदा साथ दिएका दर्शकले समापन समारोहमा साथ पाएनन् । ९० मिनेटको खेलमा १६ हजारभन्दा बढी दर्शकले तताएको रंगशाला समापन कार्यक्रममा भने चिसियो । पट्यारलाग्दो विभिन्न अतिथिको भाषण अझ दर्शकका लागि आलोचनाको खुराक बन्यो ।

महिला भलिबल
पदक प्राप्त हिसाबले सफल मानिएको खेल मेलामा केही खेलले स्वर्ण पदक नजिते पनि अन्य पदकका लागि गरेको संघर्ष सबै तारिफ बन्यो । त्यसको उदाहारण महिला भलिबल । पुरुष भलिबल समूह चरणबाटै बाहिरिएसँगै निराश बनाए तर समर्थकलाई महिला भलिबलले भने सान्त्वना दियो । महिला भलिबलमा स्वर्ण पदकका लागि खेलाडीले गरेको संघर्षलाई सबैले तारिफ गरे । समूह चरणको खेलमा भारतसँग सोझो सेटमा पराजित भएको नेपालले स्वर्ण पदकका लागि संघर्ष गर्दा निकै प्रतिस्पर्धात्मक बन्यो । पहिलो सेट गुमाए पनि त्यसपछिका दुई सेटमा उत्कृष्ट खेल्दै पुनरागमन गरेको नेपालले चौथो सेटमा भने लयलाई निरन्तरता दिन सकेन । भारतसँग ३–२ को सेटमा पराजित हुँदै रजत  पदकमा खुम्चिनु पर्‍यो ।

गौरिका सिंह (पौडी)
रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रुपमा चिनिएकी गौरिकाले एकै संस्करणमा चार स्वर्ण जितेर नेपालीको शिर उँचो बनाइन् । प्रतिस्पर्धा गरेका ९ स्पर्धामध्ये चारमा स्वर्ण, २ खेलमा रजत र ९ टिम स्पर्धामा कास्य पदक दिलाइन् । यसअघि चार संस्करणमा ४ स्वर्ण पदक जित्दै इतिहास बनाएका तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरिन् पनि । १७ वर्षको कलिलो उमेरमा उदाएकी उनी गोल्डेन गर्लको उपनाम हासिल गर्न सफल पनि भइन् ।

आयशा शाक्य (तेक्वान्दो)
दुई सन्तानकी आमाले सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा प्राप्त गरेका दुई स्वर्ण लगनशीलता र मिहिनेतको उदाहरण बन्यो । पति (दीपक बिष्ट)लाई नै आफ्नो प्रशिक्षक रोजेकी आयशाले दीपकको प्रशिक्षणलाई न्याय गरिन् । स्वर्ण जितेकी आयशाको कमब्याकले असम्भव केही छैन भन्ने उदाहरणसमेत दिएको छ । आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । स्वर्ण जितेको क्षण मैदानमै आयशाले आफ्ना पति दीपक बिष्टलाई अँगालो हालेर रोएको दृश्यले सबैको मन छोयो । दीपक पनि भावुक बने । उनीहरूका दुई सन्तान सो दृश्यको साक्षी बनिरहेका थिए ।  

लक्ष्मी मगर (साइक्लिङ)
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) साइक्लिङअन्तर्गत महिला क्रसकन्ट्री ओलम्पिकमा नेपालले स्वर्ण जित्दा लक्ष्मी मगर स्वर्णको योग्य बनिन् । गोकर्णेश्वरको सहिद पार्कमा लक्ष्मी मगरले स्वर्ण भित्र्याएकी हुन् । सोही स्पर्धामा मगरले नेपालकै उषा खनाललाई पछि पारेकी थिइन् । उषाले रजत पदक जितिन् । कास्य पदक भने भारतले जित्यो । पुरुष साइक्लिङमा पनि नेपालले दुई वटा स्वर्ण जितेको थियो ।

सुवास तामाङ (गल्फ)
क्यारी ब्वाई एका एक गल्फरमा चम्किए । धनाढ्यहरुको खेलको रुपमा चिनिएको गल्फमा काभ्रेका १७ वर्षीय सुवास तामाङले सागमा दोहोरो स्वर्ण नेपाललाई दिलाए । पहिलो पटक सागमा समावेश गरिएको गल्फमा नेपालसहित, बाङ्लादेश, श्रीलंका र भुटान सहभागी भएका थिए । सुवास रोयल नेपाल गल्फ क्लबमा बलर ब्वाईको रुपमा काम गर्दागर्दै गल्फलाई नै सारथि बनाएका थिए । साथीको काममा साथ दिँदै गल्फरको बल टिप्ने सुवास बलब्वाईबाट क्याडी भए । गल्फरहरूले प्रयोग गर्ने क्याडी झोला बोक्न थालेका सुवासले गल्फरहरुको संगतमै गल्फ सिकेका थिए।

सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)
सन्तोषी श्रेष्ठ अन्तर्राष्ट्रिय प्रतियोगितमा एथ्लेटिक्सतर्फ स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन् । उनले भारतकी कविता यादवलाई ०.०१ सेकेण्डले पछि पार्र्दै स्वर्ण जितिन् । जारी १३ औं सागअन्तर्गत सन्तोषीलाई एथ्लेटिक्सतर्फ स्वर्णपदक जित्ने पहिलो नेपाली महिला खेलाडीको इतिहास रच्न समयले साथ दियो । उनले कवितालाई ०.०१ सेकेन्डले पछि पार्दै महिला १० हजार मिटर दौडमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितिन्।

सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ७.९४ सेकेन्डमा पूरा गर्दा कविताले ३५ मिनेट ७.९५ सेकेन्ड दूरी पूरा गर्दै रजतमा चित्त बुझाइन् । श्रीलंकाकी निलान्थी लंकाले निर्धारित ३५ मिनेट ५९.०२ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जितिन् । सोही विधामा नेपालकी विश्वरुपा बुढा ३८ मिनेट २४.०३ सेकेन्डमा दौड पूरा गर्दै छैटौं स्थानमा रहिन् ।

सञ्जु चौधरी, भारोत्तोलन
पोखरामा भएको महिला भारोत्तोलनमा सञ्जु चौधरीले ५९ केजी तौल समूहमा ऐतिहासिक स्वर्ण पदक जितिन् । चौधरीले सागमा महिला भारोत्तोलनमा नेपाललाई पहिलो पटक स्वर्ण दिलाएकी हुन् ।

चौधरीले स्न्याचमा ७४ र क्लिन एन्ड जर्कमा ९७ गरी कुल एक सय ७१ केजी तौल उठाइन् । यो समूहमा श्रीलंकाकी एमएनएस राजापाक्षेले रजत र बंगलादेशकी फायमा अख्तरले कास्य पदक जिते । राजापाक्षेले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९१ गरी एक सय ६१ केजी भार उठाइन् । अख्तरले स्न्याचमा  ७० र क्लिन एन्ड जर्कमा ९०  गरी एक सय ६० केजी भार उठाएकी थिइन् ।

किरण सिंह बोगटी, एथ्लेटिक्स
अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएका किरण सिंह बोगटी १३ औं सागमा स्वर्ण जितेर राष्ट्रिय टोलीमा छनोट गरिनुलाई प्रमाणित मात्र गरेनन्, नेपाली म्याराथनमा आफूलाई एक अब्बल खेलाडीका रूपमा समेत उभ्याए । सन् १९९५ मा मद्रासमा भएको साफपछि नेपालले म्याराथनमा भित्र्याएको यो पहिलो स्वर्ण हो । सो समयमा टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । म्याराथनमा होमिएको तीन वर्ष नबित्दै एपिएफका सहायक हवल्दार किरणले नेपाललाई म्याराथनमा स्वर्ण जिताएका हुन् ।

काठमाडौंमा जारी १३ औं सागअन्तर्गत अन्तिम दिन शनिबारको पहिलो स्पर्धाका रूपमा रहेको म्याराथनमा किरणले भारतका जसपाल सिंहलाई पछि पारेका हुन् । किरणले निर्धारित दुरी दुई घण्टा २१ मिनेट १७ सकेन्डमा पूरा गर्दै स्वर्ण जितेका थिए । साग म्याराथनमा नेपालका बैकुण्ठ मानन्धरका नाममा दुई घन्टा १५ मिनेट तीन सकेन्डको कीर्तिमान छ । रजत विजेता भारतका जसपाल सिंहले निर्धारित दुरी पूरा गर्न दुई घन्टा २१ मिनेट ५७ सेकेन्डमा पूरा गर्दा भारतकै श्री सिंहले दुई घन्टा २२ मिनेट शून्य सात सेकेन्डमा दौड पूरा गर्दैै कांस्य जिते । नेपालका होमलाल श्रेष्ठले दुई घन्टा २४ मिनेट ३१ सेकेन्डमा दुरी पूरा गरे ।

मिनु गुरुङ, बक्सिङ
मिनु गुरुङ नेपाललाई स्वर्ण पदक दिलाउने पहिलो महिला बक्सर बनेको दिन नेपालले सागको बक्सिङ इतिहासमा दुई दशकपछि स्वर्ण खडेरीसमेत तोड्यो । मिनुले स्वर्ण जित्दा पुरुषतर्फ भूपेन श्रेष्ठले पनि सोही किसिमको सफलता दोहो¥याएसँगै नेपाली बक्सिङले आठौं सागको स्मरणसमेत गरायो । यसअघि १९९९ मा नेपालमै सम्पन्न आठौं सागमा दाजुभाइ प्रकाश र रामचन्द्र थापामगरले  स्वर्ण जितेपछि नेपालले साग बक्सिङमा स्वर्ण जित्न सकेको थिएन ।

मिनुले महिला ५४ केजी तौलसमूहमा भारतकी शिक्षालाई युनानोमस डिसिजनको आधारमा हराएकी हुन् । भारतमा २०१६ मा सम्पन्न १२औं सागको सेमिफाइनलमा श्रीलंकाकी खेलाडीसँग ५१ केजी तौल समूहमा पराजित भएसँगै कास्य पदकमा चित्त बुझाएकी मिनुले यस पटक भने स्वर्ण चुम्न सफल भइन् ।

पुरुष फुटबलमा स्वर्ण
नेपालले पुरुष फुटबल फाइनलमा भुटानमाथि २–१ को जितका साथ सागको १३ औं संस्करणको सुखद् अन्त्य गरेको छ । यसअघि नेपालले भारतमा सम्पन्न १२ औं सागमा पनि पुरुष फुटबलतर्फ स्वर्ण पदक जितेको थियो । भारतले १९८५ र १९८७, पाकिस्तानले १९८९ र १९९१ तथा २००४ र २००६ मा साग फुटबलमा स्वर्ण पदक जितेका थिए ।

प्रकाशित: १३ पुस २०७६ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App