७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

अन्त्यहीन अत्याचार

समाजमा राम्रा वा नराम्रा काम गर्नेहरुको केही कमी छैन । एउटा सचेत प्राणी भएका नाताले मानव जातिले आफ्नो विवेक प्रयोग गर्नुपर्छ । आफू पनि बाँच्ने र अरुलाई पनि बाँच्न सक्ने वातावरण मानिसले नै दिनुपर्छ ।
आफ्ना कारणले के गर्दा समाज राम्रो, सुखी र व्यवस्थित हुन्छ भन्ने कुरा हामी हरेकले सोच्नु मात्र होइन, एउटा अभियानकै रुपमा लैजानु पर्छ ।

तिहारको बेला हिन्दुहरुको महान् चाड सबैको घरमा चाडपर्वको खुसी छरिएको थियो । म पनि आफ्नो दैनिकी सिध्याएर सुत्ने तर्खर गर्दा रातिको दुई बजिसकेको थियो । गेटमा घण्टी बज्यो । खोल्दा त अचम्मै लाग्यो !
मेरो घरमा सघाइदिने एक जना बहिनी आफ्ना तीन सन्तान लिएर मेरो सम्मुख उभिएकी थिइन् । उनको मुखभरि नीलो डाम थियो । आँखा सुन्निएको थियो । यस्तो बेलामा छोराछोरीका अगाडि उनका कुरा खुलाउन चाहिनँ । त्यसैले अहिले आराम गरेपछि भोलि कुरा बुझौँला भन्ने लाग्यो ।
तर मलाई त्यो बेला राम्रोसँग निद्रा पनि लागेन ।

भोलिपल्ट बिहान काठमाडौँकै एउटा साम्भ्रान्त परिवारकी सदस्य विभा राणाबारे खबर पढ्दा म त आश्चर्यमा नै परेँ । उमेरले साठी नाघेकी विभाको वैवाहिक सम्बन्ध नै चालीस वर्ष पूरा भइसकेको रहेछ । एउटी शिक्षित महिला भएका नाताले उनले नेपालकै पुरानोमध्येको किन्डर गार्डेन स्कुल चलाइराखेकी रहिछन् ।

एउटी पढेलेखेकी, कामकाजी उनलाई मैले पनि कतिपय कार्यक्रम र पार्टीहरुमा भेटेकी थिएँ । जहिले पनि उनीसँगको सम्बन्ध एउटा भद्र र शालिन देखिन्थ्यो । तर त्यो बिहान उनको बारेमा छापिएको समाचार पढ्दा भने आङ सिरिङ्ग भएर आयो । मेरो शरीरका रौँ ठाडा भए । समाचार पढ्दै जाँदा आँशु रोक्न सकिनँ ।

हुन त यो समाचार कतिको सत्य थियो, थाहा छैन किनभने समाचारमा दुवै पक्षको कुरा आए पनि एउटा ग्रे लाइन सधैँ रहिरहन्छ । तापनि यदि यो समाचार छापिएझैँ सत्य हो भने विभा राणाले कति व्यथा लुकाएर बसेकी रहिछन् ।
मलाई उनका बारेमा यति जिज्ञासा पलायो कि मैले केही साथीहरुलाई तत्का फोन गरेर समाचारका बारेमा पुष्टि गर्न खोजेँ । केहीले विभालाई सरासर पागल करार गरिदिए । उनीहरु भन्थे, ‘उनका कारण सन्तानहरु पनि दिक्क भइसके । आफ्नै सन्तानमाथि सम्पत्तिको मुद्दा हालेकी छन् ।’

फेरि सोचेँ, स–साना नानीहरुको स्कुल चलाउनु ठूलो कुरा हो । यसका लागि धेरै नै धैर्यता चाहिन्छ । ल मानौं, उनको मानसिक स्थिति बिग्रियो रे, तर त्यसको जिम्मेवारी पनि परिवारले लिनुपर्‍यो । उनको मानसिक अवस्था यस्तोसम्म हुन कसको दोष छ त ? यो अवस्थामा उनलाई किन पुर्‍याइयो ?

पहिलो कुरा त जब सम्बन्धमा सम्पत्ति छिर्न थाल्छ, त्यहाँ सुमधुरताको अपेक्षा, सरसहयोग, मानसिक सहयोगको आशा बेकार नै हुन्छ । कसैले मुद्दा नै हाल्नुपर्ने स्थिति आउनु भनेको सानो कुरा पक्कै हुँदैन । विभाको मुद्दा अदालतमा पुगिसकेको छ भने जे गर्ला अदालतले नै गर्ला ।

समाचार पढ्दा विभाले मुद्दा सम्पत्तिका लागि भन्दा पनि आत्मसम्मानका लागि हालेजस्तो देखिन्छ । दह्रो मन भएकाहरुले आत्मसम्मानका लागि लड्छन् तर अरु ? अरु भने सधैँ पिल्सिरहन्छन् ।

जो शक्तिमा छैन, जोसँग पैसा छैन, सहयोग गर्ने कुनै आफन्त छैनन्, उनीहरु भने सधैँ घरेलु हिंसा सहेर बस्नुपर्ने अवस्था छ ।

अघिल्लो रात आफ्नो लोग्नेको पिटाईले रक्ताम्य भएकी बहिनी मेरो घरमा आउनु र विभा राणाको समाचार पढ्नु एउटा संयोग मात्र भए पनि यो हाम्रो मुलुकको सबैभन्दा तीतो अवस्था हो ।

मेरो घरमा शरण लिन आएकी बहिनी आफू केही काम गर्न चाहन्थिन् । आफ्नो सीप बेच्न चाहन्छिन् तर उसको लोग्नेले बाहिर काम गरेको देखिसहँदैन । कहीँकतै गएर घर फर्कन ढिला भयो भने कहाँ गएकी थिइस् ? कोसँग डुल्न गएकी थिइस् ? जस्ता लाञ्छनाका कारण उनको जीवन त्यसै पनि नर्क त भइरहेकै थियो, त्यसमाथि घरको निम्न आर्थिक अवस्थाका कारण छोराछोरीको भविष्य बर्बाद हुँदै थियो । फेरि लोग्ने भनेको रक्सीबाट दायाँबायाँ हलचल नगर्ने र परिश्रमको मीठो स्वाद चाख्न नमान्ने !

ती बहिनी आधा रातमा घरबाट निस्केर जब मकहाँ छिरिन्, अनि मात्र उनको परिवारको कथा थाहा भयो । नत्र त्यसअघि उनीमाथि भएका अत्याचारका अनेकन घटना उनले चुपचाप सहिरहेकी थिइन् ।

एउटा आमाले आफ्ना सन्तान र घरलाई गर्नुपर्ने दैनिक सहयोगका कारण यत्तिका लाञ्छना ? के महिला भएबापत पिटाई, लाञ्छना र बेइज्जती दिनरात सहनुपर्ने ? छोराछोरीले यस्तो घटना देख्दा उनीहरुको मनस्थिति कस्तो हुन्छ ?
महिला हिंसाको अवस्था कस्तोसम्म छ भन्ने कुरा पूर्व सभामुख कृष्णबहादुर महराले रोशनी शाहीमाथि गरेको आक्रमणबाट पनि प्रस्ट हुन्छ । यसरी पुरुषले महिलामाथि हात उठाइहाल्ने, मनमा लागेको प्याच्च जे पनि बोलिदिइहाल्ने, जे पनि गरिदिइहाल्ने यस्ता दृश्य हिजोआज आम हुन थालेका छन् ।

त्यसो त पहिला पनि यस्ता घटना नहुने होइनन् । पहिला चुपचाप घरैमा सही बस्नेहरु हिजोआज आवाज बुलन्द पार्न थालेका छन् । र, यो सकारात्मक पक्ष पनि हो । यस्तै हिंसा घरघरमा छ भनेर सरकारले कडा कानुन बनाउन थालेको हो । सोही कानुन र संरक्षणका कारण हिजो बन्द बोली आज बुलन्द हुँदै गएको हो । संसारभर जतिसुकै कडा कानुन बने पनि अन्याय र अत्याचार रोकिने भने होइन । मानिसमा पशु गुण अझै हराइसकेको छैन । त्यसैले उसलाई नत्थी लगाउनका लागि कानुन चाहिएको हो ।

अहिलेको अवस्थामा आफूमाथि अन्याय भयो भने चुप लाग्नु हुँदैन । यही एउटा आवाजले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ । चाहे त्यो विभा राणाको केसमा होस् या मकहाँ आएकी बहिनी वा रोशनी शाही नै किन नहोस् ।
भो, पुग्यो, इनफ इज इनफ भन्न थालेपछि मात्र बल्ल आफूमाथि भएको अत्याचार कम हुन्छ ।

प्रकाशित: ६ मंसिर २०७६ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App