९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

तीज विशेषः व्रतको काइदा, ज्यानलाई फाइदा

विशेषगरी हिन्दू नेपाली महिलाले पानीसम्म नपिई निराहार रुपमा तीजको व्रत बस्ने धार्मिक परम्परा छ । चिकित्सकीय दृष्टिकोणबाट हेर्दा जो व्यक्ति व्रत बस्यो उसैको आयु बढ्ने चिकित्सक बताउँछन् ।
समय–समयमा व्रत बस्दा व्यक्तिलाई शारीरिक रुपमा फाइदा पुग्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार पूर्वीय दर्शन मात्रै नभई आधुनिक चिकित्सा विज्ञानमा समेत व्रतका फाइदाका बारेमा अध्ययन भएको छ ।

सामान्यतः व्रतलाई तीन चरणमा विभाजन गरिएको पाइन्छ । व्रतालुले पानीसम्म नपिई बस्ने व्रतलाई निराहार व्रत भनिन्छ । आंशिक निराहार व्रतमा भने पानी पिइन्छ ।  आंशिक निराहारमा फलफूल, जुस खाइन्छ । एक दिन बिराएर, हप्तामा एक दिन, पन्ध्र दिन, एक महिना, छ महिना वा वर्षमा एक एक दिन पिरियोडिक व्रत बसिन्छ । चिकित्सकीय दृष्टिकोणले सामान्यतः हप्तामा एक पटक निराहार व्रत बस्नु उचित हुने वीर अस्पतालका डा. सुशील मोहन भट्टराईको सुझाव छ ।

हप्तामा एक पटक निराहार व्रत बस्ने व्यक्तिको करिब ४० प्रतिशत मुटुको समस्या, रक्तचाप, सुगरलजस्ता समस्याको जोखिम घटेको पाइएको डा. भट्टराई बताउँछन् । मोटोपना घटाउन त व्रत उपयोगी नै हुन्छ ।
शरीरको अवस्थाअनुसार निराहार, आंशिक वा अन्य व्रत बस्न सकिन्छ ।  शारीरिक तथा मानसिक अवस्था कमजोर भएको अवस्थामा निराहार व्रत बस्दा व्यक्तिलाई फाइदा भन्दा बेफाइदा पुग्नेतर्फ चिकित्सक सजग गराउँछन् । यस्तो अवस्थामा फलफूल, जुसलगायत फलाहार खाएर आंशिक व्रत बस्न सकिन्छ ।

मजबुत पाचन प्रणाली
डा. भट्टराई समय–समयमा व्रत बस्नाले खाना पच्न सहयोग पुग्ने बताउँछन् । समय–समयमा व्रत बस्नाले पाचन प्रणलीमा सकारात्मक प्रभाव पर्ने हुँदा खाना पच्न सहज हुन्छ । केही दिनको अन्तरालमा पेट खाली राख्दा पेट र आन्द्रामा भार कम हुने चिकित्सक बताउँछन् । यसरी पेट खाली राख्दा पेट र आन्द्रामा आवश्यक पर्ने ऊर्जा शरीरका अन्य अंगमा खर्च गर्न गर्न सकिन्छ ।

‘खाना पचाउने प्रणाली ग्यास्ट्रोइन्टेश्टिनल सिस्टम हो,’ डा. भट्टराईले भने,‘ पेट खाली राख्दा ग्यास्ट्रोइन्टेश्टिनल सिस्टमले आराम गर्ने अवसर पाउँछ ।’ पेट खाली रहेको अवस्थामा जुन आराम गर्ने समयमा ग्यास्ट्रोइन्टेश्टिनल प्रणालीले पेटमा समस्या भएका संरचना बनाउने अवसर पाउँदा खाना पचाउने संरचना मजबुत हुन सहयोग पुग्ने चिकित्सक बताउँछन् ।
डा. दिनेश बाँस्तोला पनि व्रतमा के खाने के नखाने र कसरी व्रत बस्ने भन्ने विषयमा विधि पुर्‍याएर व्रत बस्दा व्रतालुलाई फाइदा पुग्ने बताउँछन् ।

सहज पाचन प्रक्रियाका लागि शक्ति आवश्यक हुन्छ । पेटै खाली हुनेगरी व्रत बस्दा खाना पचाउने शक्ति आवश्यकता पर्दैन । यसरी शक्ति आवश्यक नहुँदा व्रत बसेको अवस्थामा खाना पचाउने शक्ति शरीरको अन्य अंगको काममा सक्रिय हुन पुग्छन् । श्वास प्रणाली, स्नायु प्रणाली, मुटुको मजबुती लगायतका लागि शक्ति आवश्यक हुने चिकित्सक बताउँछन् ।

त्यसो त डा. दिनेश बाँस्तोला पनि व्रत बस्नुलाई सकारात्मक रुपमा लिन्छन् । व्रतबस्दा व्रतालुलाई नै शारीरिक तथा मानसिक रुपमा पनि फाइदा पुग्ने डा. बाँस्तोलाले बताए । व्रतालुले व्रतको अर्थ नबुझी कसैको देखासिकी र लहैलहैमा व्रत बस्दा भने त्यस्तो व्रतको नकारात्मक असरसमेत पर्न सक्नेतर्फ उनी सजग गराउँछन् । ‘व्रत बस्ने विधि तथा तरिका थाहा नपाउँदा व्यक्ति शारीरिक तथा मानसिक रुपमा दबाब र तनावमा परी कमजोर भएर जीवनलीला समाप्त हुन सक्छ’, डा. बाँस्तोलाले भने, ‘त्यसैले व्रतालुले आफ्नो शारीरिक तथा मानसिक अवस्था हेरेर व्रत बस्नु उपयुक्त हुन्छ ।’ व्रत बस्ने क्रममा विहोस भएको अवस्थामा भने तुरुन्त उपचार गर्न चिकित्सकको सल्लाह लिनु पर्छ । लहैलहैमा लागेर अन्धभक्त भएर व्रत बस्दा शारीरिक तथा मानसिक रुपमा पनि फाइदा नपुग्न सक्छ । सोच विचार गरेर व्रत लिनु उचित हुन्छ ।

व्रतमा बोसोको काम
व्यक्तिले खाने खानामा सामान्यतः कार्बोहाइड्रेट, फ्याट र प्रोटिनको मात्रा हुन्छ । यस्ता खानपान तथा पौष्टिकताले नै शरीरमा आवश्यक ऊर्जा पाउन सकिन्छ । व्यक्तिले खाएको खाद्य तत्व शरीरलाई आवश्यकभन्दा बढी भएको अवस्थामा शरीरका प्रणालीले त्यस्तो खाद्य तत्व बोसोको रुपमा संरचित गरेर राखेको हुन्छ ।
डा. बाँस्तोलाका अनुसार समय–समयमा व्रत बस्दा पेट त खाली हुन्छ । तर शरीरमा शारीरिक प्रणाली सञ्चालनका लागि भने ऊर्जाको आवश्यकता भइरहन्छ । व्रत बसेर पेट खाली भएको अवस्थामा संरचित भएर रहेको बोसो  पग्लेर शरीरको विभिन्न अंग तथा प्रणालीमा पुग्छ । यसरी भण्डारण भएर रहेका बोसोलगायतका पोषक तत्व शरीरको एक अंग तथा प्रणालीबाट अर्को अंग तथा प्रणालीमा पुग्दा शरीर रिफ्रेस हुन्छ ।

समय–समयमा व्रत बस्नाले कोलेस्टेरोलजस्तो समस्या भई मुटुको धमनी नै बन्द भएर हृदयाघात हुने तथा शरीरलाई हानि गर्ने किसिमको बोसो घटेको पाइएको डा. भट्टराईले बताए ।
नियमित व्रत बस्नाले पेट खाली रहने भएकाले बोसो बढ्ने हाइपरलिपिडेमिया रोगको जोखिम कम हुने चिकित्सक बताउँछन् । डा. बाँस्तोला पनि व्रतको समयमा व्यक्तिको शरीरका हरेक कोष, अंग, प्रणालीका साथै पूर्ण शरीरले आराम र शान्ति पाउने बताउँछन् ।

सुगरलाई काइदा मुटुलाई फाइदा
व्रत बस्नाले सुगर, प्रेसर कोलेस्टेरोेल नियन्त्रण हुन मद्दत पुग्ने चिकित्सक बताउँछन् । जसले मुटुलाई फाइदा पुर्‍याउँछ । निराहार व्रत बस्नाले मुटुको कामको भार पनि पनि कम हुने चिकित्सक बताउँछन् । यसरी मुटुले आराम गर्न पाउँदा मुटुसमेत मजबुत हुन पुग्छ ।

समय–समयमा व्रत बस्नाले सुगरको समस्याबाट बच्न सकिन्छ । इन्सुलिन हर्मनको समस्याले सुगरको समस्या हुने चिकित्सक बताउँछन् । इन्सुलिनले ग्लुकोज व्यवस्थापन गर्छ । ग्लुकोज व्यवस्थापनमा समस्या हुँदा सुगरको जोखिम हुन्छ ।
समय–समयमा व्रत बस्नाले इन्सुलिन हर्मन र ग्लोकुजको मात्रा सन्तुलित हुने डा. भट्टराई बताउँछन् । शरीरमा ग्लोकुज र इन्सुलिनको सन्तुलनका लागि व्रत बस्नु आवश्यक हुन्छ ।  

अधिकांश रोग पेटबाट सुरु हुने भएकाले व्रत बस्नाले पेट सफा भएर शारीरिक रोगका समस्या कम हुने चिकित्सक बताउँछन् ।

व्रत लिने र खाने तरिका
तीजको व्रत बस्नुअघि खानपानमा निक्कै ध्यान पुर्‍याउनुपर्ने चिकित्सकको सुझाव छ । व्रतको अघिल्लो दिन पेटभरि दर खाएर भोलिपल्ट पानी पनि नखाई स्वास्थ्यमा नकारात्मक असर पुग्नेतर्फ डा. भट्टराई सजग गराउँछन् ।
विशेषगरी व्रतालुमा शारीरिक वा मानसिक समस्या भएको अवस्थामा चिकित्सकको सल्लाह बमोजिम व्रत बस्नु उचित हुन्छ ।
रक्तचाप, सुगर, धेरै मोटो–पातलोपना, क्यान्सरजस्ता रोगको समस्या भएका व्यक्तिले व्रत बस्नुपूर्व चिकित्सकको सल्लाह लिनु उचित हुन्छ ।

चिकित्सा विज्ञानको अभ्यासमा अप्रेसन गर्नु पूर्व निश्चित समय खाना खान हुँदैन । जुन अभ्यासलाई ‘निलपर ओरल’ भनिन्छ । सामान्यतः अप्रेसन गर्नुपूर्व आठ घण्टा बिरामीलाई खाना खान दिइन्न । अप्रेसन गरिसकेपछि पनि अवस्था अनुसार मुखबाट केही समय खाद्यपदार्थ खान दिइँदैन ।
अप्रेसन तथा उपचार गरिसकेपछि बिरामीलाई पानी, जुसजस्ता पारदर्शी तरलपदार्थ खान दिइन्छ । उपचार तथा अप्रेसन गर्नेबित्तिकै सुरुमै कडा किसिमको खाद्यपदार्थ खान दिन नमिल्ने चिकित्सक बताउँछन् ।
यसरी उपचारपश्चात् सुरुमा पेटलाई कम भार पर्ने तरल पदार्थ खुवाइने डा.भट्टराई बताउँछन् । बिरामीको अवस्थाअनुसार बिस्तारै कडा खानेकुरा खान दिइन्छ ।

चिकित्सकका अनुसार व्रतमा पानी पिएर व्रत समापन वैज्ञानिक कारण छ । व्रत समापनपश्चात् सुरुमा पानी, जुसजस्ता पदार्थ पिउनाले पेटलाई बढी भार पर्ने जोखिम कम हुने डा.भट्टराईले बताए । व्रत समापनपछि सुरुमै कडा किसिमका खानपान गर्न नहुने चिकित्सकको सुझाव छ ।
डा. बाँस्तोला पनि व्रतपश्चात् पाचन प्रणालीले आराम गर्ने बताउँछन् । सुरुमै कडा किसिमका खानपान गर्नाले पाचन प्रणालीले नै काम गर्न असहज हुन्छ । जसको नकारात्मक असर स्वरुप झाडा पखाला लाग्नेजस्ता जोखिम हुने डा.भट्टराईले बताए । व्रत समापनपछि एकैचोटि बढी चिसो र बढी तातो खाद्यपदार्थ खान नहुने चिकित्सक सुुझाउँछन् ।

वर्षमा एक दिन शरीरलाई बढी भार पर्ने किसिमले निराहार व्रत बस्नु भन्दा नियमित व्रत बस्नु उचित हुने चिकित्सकको सुझाव छ । एकैचोटि पूर्ण निराहार व्रत बस्नुपूर्व आंशिक बस्नु उचित हुन्छ । आंशिक व्रत बसेपछि निराहार व्रत बस्दा शरीरले व्रत बस्ने बानी पर्ने भएकाले आंशिक व्रत बसेपछि निराहार व्रत बस्नु उचित हुने चिकित्सकको सुझाव छ ।  

तीजको व्रत वर्षमा एक दिन बसिन्छ । वर्षमा एक पटक मात्रै व्रत बस्दा शरीरलाई व्रत बस्ने बानी परेको हुन्न । व्रत बस्ने बानी नपर्दा अचानक ग्लोकुजको मात्रा घटेर व्यक्ति विहोस हुने जोखिम हुन्छ । चर्को घाममा पानीसम्म नपिई मन्दिरमा लाइनमा बस्ने तथा नाचगान गर्नाले शरीरमा पानीको मात्रा कम हुने भएर रक्तचाप कम हुँदा व्रतालुको ज्यानै जान सक्नेतर्फ डा. बाँँस्तोला सचेत गराउँछन् । यसर्थ तीजको व्रत बस्नु केही हप्ताअगाडि नै आंशिक व्रत बस्नु उचित हुन्छ ।

व्रतले आनन्द
मनोविद् गोपाल ढकाल शारीरिक रुपमा मात्रै हैन मानसिक रुपमा पनि व्रतले फाइदा पुर्‍याउने बताउँछन् । व्रतले शारीरिक मात्रै हैन मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने मनोविद् ढकालको तर्क छ । व्रत बस्नाले व्यक्तिमा सकारात्मक सोच आउने उनी बताउँछन् । मनोचिकित्सकका अनुसार व्रत बस्दा दया, करुणा तथा मानवताको भाव पैदा हुने भएकाले आपराधिक सोच आउन समेत कम हुन्छ । ‘व्रतको समयमा शाकाहारी भोजन गरिने भएकाले मन शान्त हुन्छ,’ ढकालले भने, ‘मनै शान्त भएपछि मन खुसी हुन्छ ।’ मन खुसी हुँदा मानसिक तनावलगायतको समस्याको जोखिम कम हुन्छ । त्यसैले व्रत बस्नुलाई मनोचिकित्सक तथा मनोविज्ञ पनि सकारात्मक रुपमा लिन्छन् ।

बुझेर व्रत लिँदा शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रुपमा व्यक्तिलाई शान्ति मिल्ने चिकित्सक बताउँछन् । व्रत लिनाले शरीरिक अंग तनाव, दबाब तथा अशान्ति र मानसिक भिडन्तबाट मुक्त हुने डा. बाँस्तोला बताउँछन् । तर म व्रत बस्दैछु भनेर शारीरिक तथा मानसिक रुपमा एकाग्रता भने हुन आवश्यक रहेको उनको तर्क छ । व्रतमा शारीरिक तथा मानसिक क्रियाकलाप कम हुने भएकाले शारीरिक अंगले पनि आराम पाउँछन् । शारीरिक तथा मानसिक क्रियाकलाप कम हुनाले व्यक्ति व्रत बस्दा निष्क्रिय नभई सामान्य दैनिक क्रियाकलाप गर्नु नै उचित हुने चिकित्सकको धारणा छ ।

सन्तुलित रुपमा व्रत बस्नाले मस्तिष्क र स्नायु प्रणालीमा समेत फाइदा पुग्ने चिकित्सक बताउँछन् । निराहार व्रत बस्दा खानाको भोक तथा लोभ प्रवाह गरेको हुन्न । भोकै त्याग्दा सन्तुष्टि तथा आनन्द हुन्छ ।  तनाव कम हुन्छ । निराहार रुपमा व्रत बस्ने व्यक्तिको व्रत नबस्ने व्यक्तिको तुलनामा कम तनावमा पर्ने गरेको अध्ययनमा देखिएको डा. भट्टराईले बताए ।

लौकिक पर्वः तीजको रौनक

आधुनिक कालखण्डसम्म आइपुग्दा तीज परिवर्तित हुँदै गएको छ । आजकाल तीजको रौनक बेग्लै हुँदै गएको छ । तीज भड्किलो तथा देखावटी पर्वका रुपमा विकसित हुँदै गएको भन्दै संस्कृति विद्ले चिन्ता व्यक्त गर्न थालेका छन् । तीज ठाउँअनुसारको चलनले मनाउँदै आएको पाइन्छ । यो पौराणिक चाड भएको धर्मशास्त्रीको तर्क छ ।
वाल्मीकि विद्यापीठकी सह–प्राध्यापक (पुराणाचार्य) प्रियंवदा काफ्ले

पुराणहरुमा  पार्वतीले शिव पति पाऊँ भन्ने कामना गरेर व्रत बसेको कथा उल्लेख भएको बताउँछिन् । पार्वतीले एक दिन मात्रै हैन धेरै दिन व्रत बसेको धर्मशास्त्रीको तर्क छ । जति व्रत बस्यो त्यति नै उनको अनुहारमा चमकता तथा तेज आएको पाइन्छ । तीजमा सामान्यतः निराहार व्रत बसिन्छ ।

वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा.वासुदेव खनाल पनि तीजको व्रत महिला वा पुरुष दुवैले बस्न मिल्ने बताउँछन् । पानी नै नपिई आफ्नो शरीरलाई नकारात्मक असर पुग्ने गरी तीजको व्रत बस्नु नपर्ने उनको तर्क छ । आफ्नो शारीरिक अवस्थाअनुसार व्रत बस्न सकिने उनी बताउँछन् । शास्त्रमा महिलाले मात्रै व्रत बस्ने भन्ने उल्लेख नभएको धर्मशास्त्रीको तर्क छ ।

पुराणमा यही दिन र यही समयमा तीजको व्रत बस्ने भन्ने उल्लेख नभएको सह–प्राध्यापक काफ्ले बताउँछिन् ।
काफ्लेका अनुसार पौराणिक शिव पार्वतीको कथाको आधारमा सुदूर–पश्चिम क्षेत्रमा गौरा पर्व मनाइन्छ । ठाउँअनुसार आ–आफ्नै किसिमले तीज पनि मनाइन्छ । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा भाद्र तृतीयाका दिन तीज मनाइन्छ भने भारतमा श्रावणमा मनाइने उनले बताइन् ।  
यही दिनमै तीजको व्रत बस्ने भन्ने मुख्य–मुख्य पुराणमा उल्लेख  नभएको धर्मशास्त्री बताउँछन् । वार्षिक व्रत रत्नावलीमा भने तीजको विधानका बारेमा उल्लेख भएको काफ्ले बताउँछिन् ।  

रुखबाट खसेको पात पनि टिपेर नखाई पार्वतीले व्रत बसेकी हुनाले पार्वतीलाई अर्पण भनिएको पाइन्छ । त्यसैले पार्वतीलाई लौकिक भाषामा अर्पना पनि भनिन्छ । पार्वतीले पात पनि नखाई निर्जल रुपमा व्रत बसेकाले त्यही परम्परा बसेको पाइन्छ ।
तीज, गणेश चतुर्थी तथा ऋषिपञ्चमी फरक पर्व हुन् । तिथि सँगसँगै पेरेकोले यी एउटै पर्व जस्तो देखिएको डा. खनाल बताउँछन् । तीजमा र ऋषि पञ्चमीमा महिलाले व्रत बस्ने भएकाले एउटै जस्तो देखिन्छ । भाद्र शुक्ल पञ्चमीका दिन ऋषिपञ्चमी व्रत बसिन्छ ।

पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बस्ने परम्परा सुरु भएदेखि नै तीजको व्रत बस्ने परम्परा सुरु भएको खनाल बताउँछन् । तर अन्धभक्त भएर शरीरलाई समेत असर पुग्नेगरी भने व्रत बस्न आवश्यक नरहेको उनको तर्क छ । तर व्रत बस्न सक्नेले भने व्रत बाधा नरहेको डा. खनाल बताउँछन् ।
महादेव खुसी भएर व्रत सफल भएको कथन छ । पार्वतीले कठोर व्रत बसेकैले महादेव स्वामी पाएको धार्मिक मान्यता छ । हिन्दू विवाहिता महिलाले श्रीमान्को दीर्घायु तथा सुस्वास्थ्य लगायतका लागि व्रत बस्छन् भने अविवाहिता किशोरीले असल पतिको कामनाका लागि व्रत बस्छन् ।

दरको तर
पछिल्लो दिन व्रत बस्नु पर्ने भएकाले अघिल्लो दिन दरका रुपमा अडिलो भोजन गर्ने परम्परा रहेको काफ्ले बताउँछिन् । यो लौकिक चलन हो । काफ्लेका अनुसार पार्वतीले दर खाएर व्रत बसेको हैन । शास्त्रमा यसको उल्लेख छैन । तीजको मौकामा छोरी चेलीलाई  माइत बोलाएर मिठो खान दिने चलन हो ।
पूजा गरेपछि पनि मन्दिर तथा पूजास्थलमा पार्वती तथा देवी देवताका गीत गाउने चलन आयो । माइतमा दिदी बहिनीको भेट भएर गीतको माध्यमबाट आफ्नो पीडा पोख्ने क्रममा नाचगानको प्रचलन सुरु भयो ।

व्रतको अघिल्लो दिन पनि दरमा सात्विक भोजन गर्नु पर्ने मान्यता छ । व्रतको अघिल्लो दिन महिलाले घ्यू राखेर पकाएको खाना, फलफूल लगायत भोजन गरिन्छ ।
वास्तवमा माछा, मासु खाइँदैन, यी तामसी भोजन हुन् । व्रतमा माछामासु नखानुको अर्थ शुद्धीकरण हो । सात्विक भोजनले आनन्द ल्याउँछ ।  द्वितीयाका दिन दर खाइन्छ । धर्म शास्त्रमा दर खानेबारेमा उल्लेख छैन ।

श्रद्धा भक्ति
तीजको व्रत भाद्र शुक्ल तृतीयाको दिन महिला हरितालिका व्रत बस्छन् । यस व्रतको विधि विधान वर्तमान कालमा पाइने अठार महापुराणमा नपाइने काफ्ले बताउँछिन् । निर्णयसिन्धु, धर्मसिन्धुलगायतमा भने तीजका बारेमा उल्लेख भएको उनी बताउँछिन् ।
तृतीया अर्थात् व्रतको दिन महिलाले नुहाउने चलन छ । अमला, रिठ्ठा,जपापुष्प, मेथिलगायतका जडिबुटि तथा वनस्पतिको स्याम्पु बनाएर नुहाइन्छ, शुद्ध हुन्छ ।

नुहाएपछि शिव पार्वतीलाई घर वा मन्दिरमा गएर चन्दन,अक्षता, धूप, दीप, नैवेद तथा शौभाग्य द्रव्य लगायत चढाइन्छ । दीप, कलश, गणेश स्थापना गरेर पूजा गरिन्छ । शिव पार्वतीको मुख्य पूजा गरिन्छ ।
पूजा गरेपछि नाचगान तथा भजन कृतन हुन्छ । मन, वचन र कर्म सकारात्मक सोच्नु पर्छ । शास्त्रमा खाँदा रगत बन्ने व्रत सफल नहुने भन्ने उल्लेख नभएको काफ्ले बताउँछिन् ।
शास्त्रअनुसार महिलाले चौथीको दिन बिहान तीजको व्रत समापन गर्छन् । पूर्णपात्र, गोदान गरिन्छ । संकल्प गरिन्छ । पतिको पाउको जल खाने पनि चलन छ । भोलिपल्टसम्म व्रत बस्न नसक्नेले तृतीयाकै दिन व्रत समान गर्ने चलन छ । पतिभक्त महिलाले श्रद्धाका साथ पतिको पाउको जल आफ्नो शिरमा छर्किएर खाने चलन रहेको छ । जल करले नभई श्रद्धाका साथ खाने हो भन्छिन् उनी ।

गणेश चौथीको दिन गणेशको पूजा आराधना गरिन्छ । शास्त्रअनुसार गणेश चौथी तीजसँग सम्बन्धित छैन । यो छुट्टै पर्व हो । पौराणिक कथाअनुसार चौथीमा चोरेको पनि दोष लाग्दैन भन्ने चलन छ ।
पारायण गरेपछि तीजको व्रत समाप्ति हुन्छ । पञ्चमी पनि तीजसँग सम्बन्धित नभएको डा. खनाल बताउँछन् । चौथीको भोलिपल्ट ऋषिपन्चमी पर्छ । भाद्र शुक्ल पञ्चमी ऋषिपञ्चमी हो । वैदिक धर्मशास्त्रअनुसार पञ्चमीमा राजोदर्शन (रजश्वला)  भैसकेका स्त्रीहरुले व्रत बसेर सप्तर्षीको पूजा गर्ने भन्ने मान्यता छ । पद्यमपुराणमा पनि ऋषिपञ्चमीका बारेमा उल्लेख रहेको काफ्ले बताउँछिन् ।  
महिलाले ऋषि पञ्चमीमा अपामार्ग नामक वनस्पतिको दत्तिवन बनाउने भन्ने शास्त्रमा उल्लेख रहेको काफ्ले बताउँछिन् ।  

३६५ वटा दत्तिवनले दाँत माझ्ने भन्ने  परम्परा छ । ऋषि पञ्चमीका दिन नुहाइधुवाइँ गरेर सबैभन्दा पहिले अपामार्ग भाँचिन्छ । महिलाले अपामार्ग टिपेपछि त्यसले दाँत माझिन्छ । पवित्र स्याम्पुले नुहाइन्छ । माटोले नुहाइन्छ । धर्म शास्त्रअनुसार शुद्ध माटोले नुहाउँदा छालालाई स्वस्थ,चम्किलो बनाउनुका साथै एलर्जी हुनबाट पनि बचाउँछ । मन्त्र पढेरै स्नान गरिन्छ ।
पञ्चमीका दिन मुख्यरुपमा सप्तऋषिको पूजा गरिन्छ । ऋषि पूजापछि व्रत समापन हुन्छ । व्रतालुुले एक छाक भोजन गरिन्छ । जुन भविष्य पुराणमा उल्लेख रहेको धर्मशास्त्री बताउँछन् ।

व्रतमा यौन
डा.दिनेश बाँस्तोला
यौनको मामलामा पुरुष सधैँ सक्रिय र महिला निष्क्रिय हुन्छन् । सामान्यतः जबसम्म यौन जोडीसँग सुरक्षित महसुस गर्दैनन् तबसम्म महिला यौनका लागि तयार हुँदैनन् ।
यौन शारीरिक भन्दा मस्तिष्कबाट आउने विषय तथा उत्तेजना हो । मानसिक रुपमा तयारी भएपछि मात्रै व्यक्ति यौनका लागि तयारी हुन सक्छ । व्रतको समयमा यौन चाहना, इच्छा, यौन कर्म गर्छु भनेर संकल्प गरेको अवस्थामा यौन सम्पर्क गर्दै उचित हुन्छ । के–को संकल्पका लागि व्रत बसेको हो भन्ने विषयले व्रतमा यौन सम्पर्क गर्ने वा नगर्ने भन्ने कुरा भर पर्छ । चिकित्सकीय दृष्टिकोणले भने यदि यौन जोडी शारीरिक तथा मानसिक रुपमा तयारी भएको अवस्थामा व्रतमा यौन सम्पर्क गर्न सकिन्छ । यस्तो अवस्थामा यौन सम्पर्क गर्दा समस्या हुन्न ।

व्रत बस्ने यौन जोडीले व्रतको समयमा शारीरिक तथा मानसिक रुपमा यौन प्र्रस्तावलाई स्विकारेको अवस्थामा यौन सम्पर्क गर्दा खास नकारात्मक असर हुन्न । किनकि व्रतको समयमा यौन जोडी संयमित तथा ज्ञानी हुने अवस्था हुन्छ । जसले यौन जोडीबीच शान्तपन ल्याउँछ । यसरी व्रतको समयमा शारीरिक तथा मानसिक रुपमा व्यक्ति शान्त हुने भएकाले यस्तो अवस्थामा सहमतिमा यौन सम्पर्क गर्नु आनन्ददायी हुन्छ ।
यौन जोडीमध्ये एकजना रिसाउने र अर्को सामान्य नै भएको अवस्थामा भने यौन सम्पर्क गर्नु हुन्न । दुवै यौन जोडी यौन सम्पर्कका लागि भावनात्मक रुपमा एक हुनुपर्छ ।
व्रतकै कारण व्यक्ति यौन सम्पर्कका लागि शारीरिक तथा मानसिक रुपमा अक्षम भने हुँदैन । तर अति पाको उमेर तथा शारीरिक रुपमा असक्तता भएका व्यक्तिमा भने धार्मिक आस्था र विश्वासका कारण यौनलाई पर सार्नु उचितै हुन्छ ।

व्रतमा शारीरिक तथा मानसिक रुपमा एकाग्रता हुनुपर्छ ।
व्रत बस्ने व्यक्ति होस वा यौन जोडी नै किन नहोस् व्यक्तिको आस्था, संस्कार र विश्वासमा आँच नपुग्ने गरी यौन सम्पर्क गर्दा शरीर विज्ञानले उचितै ठान्छ । व्रतालु यौन जोडीमा भने सहमति हुनुपर्छ । आस्थामा चोट पु¥याउने किसिमले यौन सम्पर्क गर्नु हुन्न । पुरुषको तुलनामा महिला बढी धार्मिक हुन्छन् । त्यसैले महिलाको समाज र परिवारमा सर्वमान्य भूमिका हुन्छ ।

व्रत दृढ निश्चय हो । व्रत अति गोप्य साधना हो ।
व्रतमा नाचगान गरेर शारीरिक तथा मानसिक रुपमा थकित भएको अवस्थामा भने यौन सम्पर्क नगरेकै उचित । व्रतालु भएको अवस्था र यौन समम्पर्कका लागि तयारी नभएकै अवस्थामा यौन जोडीले यौन सम्पर्कका लागि प्रस्ताव गर्नु भने व्रतालुको आस्था र विश्वासमा सम्मान नगर्नु हो । त्यसो गर्नु हुन्न । आस्था र विश्वासमा चोट पु¥याउनु हुन्न । यौन जोडीबीचको सहमतिमा भने यौन सम्पर्क गर्न सकिन्छ ।

 

प्रकाशित: १८ भाद्र २०७६ ०६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App