१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

मनसुन क्विन

तारानाथ पहारी

गायक प्रेमप्रकाश मल्लले गाएकै छन्–पोखरा त साँच्चिकै पोखरा नै रैछ।  प्रकृतिको अतुलनिय उपहार मानिन्छ पोखरा। कुमारी माछापुच्छ्रे, धौलागिरी,  अन्नपूर्णा जस्ता दर्जनौं हिमालले शुसोभित सहर। तालैताल, गुफा, छाँगा र चराको चिरबिर। कतै स्वर्ग छ भने त्यो पोखरा नै भन्नेमा शंका छैन।

नेपालको पर्यटकीय राजधानी पोखरा विभिन्न जातजातिको साझा फूलबारी हो। जहाँ पर्यटकीय सुविधाका सयौं होटल तथा रेष्टुराँ छन्। विभिन्न साहसिक गतिविधिमा रम्ने अबसर यहीँ छ।   

अब कुरा गरौं मनसुनको, नेपालमा सबैभन्दा धेरै पानी पर्ने ठाउँ पोखरा। दिउँसोतिर हपक्कै गर्मी हुन्छ, तर छिनमै पर्ने पानीले शितलता दिन्छ। विचित्रको साह्रै मिठो मौसम।

प्राकृतिक, सांस्कृतिक, साहित्यिक एवं ऐतिहासिक सम्पदाले भरिपूर्ण पोखरामा वर्षैभरि पर्यटकको घुइँचो लाग्छ। मनसुनमा पर्यटक कम हुन्छन्। तर मनसुनको सौन्दर्य अलग्गै हुन्छ। वरपरका हरिया डाँडाकाँडबाट बग्ने कञ्चन पानी, छाँगाहरूको दृश्यले आँखा रमाउँछन्। मन छमछमी नाच्छ। 

झमझम पानी। ताल किनारका रेष्टुराँ। साथमा प्रिय मान्छे। मनसुनले माया बढाउँछ। ऊर्जा बढाउँछ। आत्मीयता बढाउँछ।

सिमसिमे पानी छल्दै उत्तरी डाँडो सराङ्कोटबाट रंगिबिरंगी प्याराग्लाइदिङ उडेको देख्दा मन रंगीन बन्छ। रोमाञ्चक बन्छ। त्यतिबेला फेवामा नौका बिहार गर्नुको मज्जा शब्दमा कसरी उतारुँ ? हरिया पहाडसँग लुकामारी खेलिरहेका बादललाई के उपमा दिउँ ? साँच्चै कुशल चित्रकारको चित्र जस्तै देखिन्छ।

मनसुनमा आक्कलझुक्कल हिमाल खुल्छन्। जतिबेला खुल्छन्, त्यति सुन्दर दूधे हिमाल अरु मौसममा कहाँ देख्न पाइन्छ र ? जब कुमारी माछापुच्छ्रे मुस्कुराउँछिन् तब मनमा तुलबुल हुन थाल्छ। 

मनसुनमा फुस्रे खोलामा राफ्टिङ गराइन्छ। डेभिज फल्समा पानी भरिन्छ। पानी बिदो हुनेवित्तिकै नीलो आकाश मुन्तिर हरिया डाँडाको पृष्ठभूमिमा फेवाताल झनै सुकुमारी देखिन्छिन्। त्यतिबेला प्रकृतिको बरदान पोखरालाई ‘मनसुन क्विन’ उपमा दिन मन लाग्छ। 

झमझम पानी। ताल किनारका रेष्टुराँ। साथमा प्रिय मान्छे। माया साट्ने, माया बाँड्ने सुन्दर अबसर। मनसुनले माया बढाउँछ। ऊर्जा बढाउँछ। आत्मीयता बढाउँछ।

हामी पर्यटन व्यवसायीहरू ‘पोखरा फर अल सिजन’ भनिरहेका छौं। पोखरा पर्यटन परिषद यसको अगुवाई गर्दैछ। तपाइँ पनि मनसुनमै आउनुस् है !

प्रकाशित: १४ भाद्र २०७६ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App