भावना उपाध्याय
असिना बर्सेझै बर्सिए
शाब्दिक पत्थरहरू
तँ मोरीलाई तीज आको नआको एकै
जा पर, रमा आफूमै।
रोइरह्यो रात
दुखिरह्यो बिहानी
सुम्सुम्याएँ
दैलो पोत्दा
दैलोमै पोखिएका आँसु
राता पोते रातै गुन्यू लगाउँदैमा
कहाँ आउँथ्यो र
मनको तीज।
त्यो सपनी जस्तो
थिएन परिवेश
आएन समाजको पँधेरामा तीज
गरा, कान्ला, दोबाटा, चौतारीतिर
कतै देखिएन तीज
नदीकिनारमा गिट्टी कुट्ने मनभित्र
कहाँबाट आउथ्यो र !
अचेल ठेक्कामा आउँछ तीज
सम्राटका दैलोमा झुल्किन्छ
तिनकै ठेकापट्टा बनिदिन्छन् चाडपर्व
भेटिन्न एक्लो जीवनको लेखाजोखा
बिल भरपाई गर्नेहरू।
वर्णमालाका अक्षरभित्र खोजे
बाआमाले छाडेको गोरेटाभित्र खोजें
स्मृतिको क्यानभासमा खोजें
दाइ–भाउजूको व्यवहारमा खोजें
बुझाउन सकेन मन
भेटाउन सकेन तीज
तर पनि खोजिरहें
एक्लै एक्लै एक्लै
खोजिरहें
सोधिरहें
संघर्षका पाइलासँगै हिँड्ने गोरेटोलाई।
ब्यूँझेझैं सपनाबाट
एकोहोरो हेरिरहँदा
बल्ल पो चाल पाएँ
आखिर मभित्रै थियो तीज
म दगुरिहें
कस्तुरीले सुगन्ध खोज्न हिँडेंझैं
त्यही रातो रंगको पछाडि।
प्रकाशित: १४ भाद्र २०७६ ०३:१८ शनिबार