गाउँमा हुर्किएको रामु (प्रज्ञान बुढाथोकी) घरमा पालिएको बोका (विगिन बन्जाडे)लाई निकै प्रेम गर्छ। बोकासँगै खेल्छ र रमाउँछ। यो देखेर घरमा पालिएको भैंसी (सचित कार्की)लाई डाह हुन्छ। उसलाई लाग्छ– बोकाका कारण आफूले रामुको माया नपाएको हो। ऊ बोकालाई रामुबाट टाढा पार्ने प्रयास गर्छ। तर, ऊ सफल हुँदैन।
यहीबीच रामुको घरमा बोका किन्न बिचौलिया (सुशील बिक) आउँछन्। उनले आमा (जस्लिना क्षेत्री)लाई भेटेर बोका बिक्री गर्न प्र्रस्ताव राख्छन्। तर, रामुले बोकालाई बेच्न दिँदैन। उसले बिचौलियालाई पिटेर लखेट्छ। यहीबीच कडा स्वभावका मामा (सिद्धार्थ भुसाल) घरमा आउँछन्। र, रामुलाई पढ्नका लागि सहर लैजान्छन्। यो निर्णयले दुवै (रामु र बोका)लाई पिरोल्छ। तर, मामाको प्रस्तावसामु रामुको केही चल्दैन। र, ऊ सहर जान बाध्य हुन्छ।
उता गाउँमा रामुसँग छुट्टिएपछि बोकाले एक महिनासम्म केही खाँदैन। त्यो देखेर आमालाई पनि बोकाको माया लाग्छ। र, आमाले उसलाई दसैंमा रामुसँग भेटाउने आश्वासन दिन्छिन्। यो सुनेपछि बोका खुसी हुन्छ। केही दिनपछि बोकालाई आमाले सहर पु¥याउँछिन्। तर, सहरमा उसले सोचेकोभन्दा विपरित दृश्य देखिन्छ। बोकाले सोचेको हुन्छ– रामुले उसलाई बसपार्कमै लिन आउँछ र गर्लम्म अँगालो हाल्छ। तर, रामु न उसलाई लिन बसपार्क आउँछ न त पहिलाजस्तो व्यवहार देखाउँछ। रामुले सहरमा पनि बोकाप्रति राम्रो व्यवहार गर्दैन। उल्टै ‘भित्र बस्दा फोहोर हुन्छ’ भन्दै बोकाप्रति दुव्र्यवहार गर्छ। यसले बोकाको मन दुख्छ। र, उसलाई सहर छोडेर गाउँ फर्कन मन लाग्छ।
दसैं (अष्टमी)मा बलिका लागि रामुका मामा बोका किन्न बजार धाउँछन्। तर, कहीँ पनि पाउँदैनन्। र, निरास भएर फर्कन्छन्। माइजु (गीता मल्ल)ले त्यही बोकालाई बलि दिन सुझाउँछिन्। र, सबैले यसमा सहमति जनाउँछन्। यसमा रामुले पनि प्रतिवाद गर्दैन। अष्टमीको दिन त्यही बोका काट्ने तयारी गरिन्छ। बोकाले आफूलाई बलि दिने थाहा पाएर त्यहाँबाट भाग्छ।
यो दृश्य हो, थिएटर मल, कीर्तिपुरमा मञ्चन भइरहेको नाटक ‘बोकाको आत्मकथा’को। नाटकमा मानव–जनावर सम्बन्धको चित्रण गरिएको छ। नाटकले मानव–जनावर सम्बन्ध मात्र होइन, बाल मनोविज्ञानबारे पनि बताएको छ। पुष्पराज अवस्थीले निर्देशन गरेको नाटक साहित्यकार विनय कसजूले लेखेका हुन्। ‘नाटक बालबालिकाको जनावरसँग रहने आत्मियतामा केन्द्रीत छ,’ निर्देशक अवस्थीले भने। नाटकमा शुभकामना एकडेमीका विद्यार्थीले अभिनय गरेका छन्।
नाटकमा स्वीकार नेपाल, आरोग्य नेपाल, अंशु कार्की, सुबोध रम्तेल, पुष्पा बिसी, जेनिश महर्जन, रश्मी गिरी, कलशा बिक, सन्देश खड्की, एलिसा पुरी, कीर्तिका अधिकारी, निर्भिक थापा, सुप्रभा थापामगर, दिप्सना महर्जन लगायतले अभिनय गरेका छन्।
नाटकमा मञ्च परिकल्पना विपुल थापा, मञ्च निर्माण मिलन गुरुङ र ईश्वरदत्त अवस्थी छन्। नाटकमा रंगकर्मी रामबाबु रेग्मीले प्रकाश परिकल्पना गरेका थिए। नाटक संयोजन बाल साहित्यकार एवम् शुभकामना एकेडेमीका प्राचार्य विजयराज आचार्यले गरेका थिए। नाटक गत सोमबारदेखि दैनिक मञ्चन भइरहेको छ। नाटक शनिबारसम्म चल्ने निर्देशक अवस्थीले बताए।
प्रकाशित: ११ श्रावण २०७६ ०५:०२ शनिबार