३ मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

शिक्षकको कुटाइबाट तीन छात्रा घाइते

शिक्षकको कुटाइले घाइते भएका छात्रा। तस्बिरः नागरिक

धनकुटा– छथरजोरपाटी गाउँपालिका वडा नं.२ जोरपाटीस्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक यशुन ओझाको कुटपिटबाट तीन छात्रा घाइते भएका छन्।

प्लाष्टिकको पाइपले शिक्षक ओझाले कुटपिट गर्दा कक्षा–१० मा अध्ययनरत चन्द्रकला मगर, विभूति सुब्बा र अस्मिता मगर घाइते भएका हुन्। कक्षाकोठमा विज्ञान विषयको प्रश्न सोध्ने क्रममा उत्तर नदिएपछि ३ छात्रालाई शिक्षक ओझाले शरीरको विभिन्न भागमा जथाभावी कुटपिट गरेको पीडित छात्राहरूले बताएका छन्। कुटपिटबाट छात्राहरूको पिडुला, हात र पिठ्यूँमा नीलडाम रहेको छ।

प्लाष्टिकको पाइपले कुटपिट गर्न थालेपछि आफूलाई उत्तर आए पनि त्रासले बिर्सिएको घाइते छात्रा विभूतिले बताइन्। ओझाले विगतदेखि नै छात्र–छात्राहरूलाई कुटपिट गर्ने गरेको पीडित विद्यार्थीहरूले बताएका छन्।

शिक्षक ओझाको कुटाइको कारण दुखाइले गर्दा राति निधाउन पनि नसकेको एक अभिभावकले बताइन्। उनले भनिन्, ‘सुरुमा अप्ठेरो गरेर हिँडेको देखेपछि सोधपुछ गर्दा अन्यत्र पनि नीलडाम देखें’, उनले भनिन्, ‘छोरीलाई शिक्षक ओझाले गोरु चुटाइ चुटेछन्।’ घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी दुखाइ कम हुने औषधि सेवनपछि हिँड्डुलमा सहज भएको घाइते छात्राहरूले बताए।

घाइते छात्राका अभिभावकले कुटपिटमा संलग्न शिक्षक ओझालाई लिखित रुपमा कारबाहीको माग गरेका छन्।

घटनाबारे विद्यालयका प्रिन्सिपल साधना भुजेलले पढ्न कमजोर विद्यार्थीलाई निजी स्कुलले डरत्रास देखाउनुलाई सामान्य रहेको बताइन् तर, शिक्षक ओझाले गर्नै नहुने गल्ती गरेकोले अभिभावकको सामु क्षमायाचना दिन लगाइएको भुजेलले बताइन्।
 

प्रकाशित: १४ असार २०७६ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App