१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

यार्सा टिप्न गुर्जावासी हिमालतिर

म्याग्दीको हिमाली क्षेत्रमा पर्नेगुर्जा गाउँ। तस्बिरः नागरिक

म्याग्दी– जिल्लाको धवलागिरी गाउँपालिका–१ गुर्जाका स्थानीय आकर्षक आम्दानीको रूपमा चिनिएको यार्सा टिप्न लेकतिर लागेका छन्। आधा जीव र आधा वनस्पतिको रुपमा परिचित शक्तिवर्धक जडीबुटी यार्सागुम्बा खोज्न गुर्जावासी समूह बनाएर गुर्जा हिमालको आसपासको क्षेत्रतर्फ लागेका हुन्।

गुर्जाको पुरानबुकी,नाउरे, थारखोला, बौरबास, दोथेबासलगायतका क्षेत्रमा यार्सा टिप्न जाने क्रम सुरु भएको स्थानीय युवा गोर्खा छन्त्यालले बताए। ‘पछिल्लो केही वर्षयता यार्सा संकलनमा कमी आएको छ,गाउँमै बिक्री हुने भएकाले पनि स्थानीय जोखिम मोलेर संकलन गर्छन्,’ उनले भने।

आधा जीव र आधा वनस्पतिको रुपमा परिचित शक्तिवर्धक जडीबुटी यार्सागुम्बा खोज्न गुर्जावासी समूह बनाएर गुर्जा हिमालको आसपासको क्षेत्रतर्फ लागेका हुन्।

गर्मी मौसमसँगै हिमाली क्षेत्रमा बाक्लो हिउँ पग्लिँदै जाने र जमिनबाट झुसिलकीराजस्तै यार्सा उम्रिने गरेपछि गाउँले त्यसतर्फ जाने गरेका छन्। स्वदेश तथा विदेशमा राम्रो बजार रहेको यार्सा संकलनमा पछिल्ला केही वर्षयता विद्यार्थीलाई रोक लगाइएको छ।गाउँमा रहेको सामुदायिक विद्यालयमा विद्यार्थी समेत अभिभावकसँगै जाँदा करिब एक महिना पठनपाठन प्रभावित हुने भएकाले बालबालिकालाई यार्सा संकलनमा जान नपाउने व्यवस्था गरिएको छ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण अपेक्षा गरेअनुसार यार्सा संकलनमा समस्या हुने गरेको स्थानीयले बताए। गत वर्ष यार्सा पाइने क्षेत्र हुँदै ७ हजार १ सय ९३ मिटर अग्लो गुर्जा हिमालको आरोहणमा निस्किएका पाँचजना कोरियाली आरोही र उनीहरुका चारजना नेपाली सहयोगीको हिमआँधीका कारण ज्यान गएको थियो। बेसक्याम्पनजिक टेन्टमा बसेका आरोहीसहितको ज्यान गएको क्षेत्र आसपासमै स्थानीयले यार्सा संकलन गर्ने गरेको वडा अध्यक्ष झकप्रसाद छन्त्यालले बताए।

गुर्जाबाट करिबचार केजीसम्म यार्सा संकलनको अनुमान गरिएको छ। उपल्लो भेगमा पाइने एक किलो यार्साबाट ३५ सयदेखि ४ हजार बुटी हुने गरेको डिभिजन वन कार्यालयका प्रमुख हरिशचन्द्र सापकोटाले बताए।

हिमाली क्षेत्रका बासिन्दाको जडीबुटी प्रमुख आयस्रोत मानिन्छ। गुर्जाबाहेक मुदी, चिमखोला, कुइनेमंगले, नारच्याङ, शिखलगायत उच्च हिमाली क्षेत्रमा यार्सा पाइन्छ। जिल्लामा करिब २५ केजी यार्सा संकलन हुने अनुमान गरिए पनि अवैध निकासी तथा जलवायु परिवर्तनका कारण संकलनमा कमी आएको जनाइएको छ।

प्रकाशित: २७ वैशाख २०७६ ०७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App