१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्य

पोखरेली खेलकुदका पायोनियर

‘भूपी शेरचनसँग एक दिन मात्र क्रिकेट खेल्ने अवसर पाए“,’ डा. वीरेन्द्रसिंह गुरुङ आफ्नो विगत सम्झन्छन्, ‘त्यसपछि खेल्ने अवसर नै भएन। एउटा ब्याट थियो। स्टम्प पनि एउटै। एक ठाउँमा गाडेर खेल्थें। अरू भने हेरेर रमाउँथे।’ कवि भूपी शेरचन पुरानो टुँडिखेलमा खेल्थे। भूपीसँग चन्द्र घलेलगायत अन्य केही खेलाडी हुन्थे।

काठमाडौंको नोकरी छोडेर पोखरा आएका गुरुङले आफ्नो खेलकुद चाहनालाई पुरानो टुँडिखेलमा पोखिदिए। त्यतिबेला क्रिकेट भर्खर सुरु भएको थियो। २०२६ सालमा पोखरा आएका उनले सिधै पृथ्वीनारायण क्याम्पसमा पढाउने अवसरसँगै रोजगारी पाए। बिहान दिउँसो पढाउँथे तर पैसा एउटै हुन्थ्यो। सरकारीकरण हुँदै गएपछि मागसमेत बढ्ने प्रचलन थियो। ‘२०२७ सालमा क्याम्पसभित्र छाप्रो बनाई निजी क्ववाटरको रूपमा बस्न थालें,’ उनी पृथ्वीनारायण क्याम्पस पढाउन थालेको इतिहास सम्झिँदै भन्छन्, ‘त्यतिबेला चन्द्र गुरुङ सबैभन्दा मिल्ने साथी थिए। क्याम्पस स्थापनाको एक दशक पुगेको थियो। विद्यार्थीहरू समेत केही गर्नुपर्छ भन्ने भावनाका थिए।’

क्याम्पसको क्षेत्रफल ठूलो थियो। पढाइ निरन्तरतासँगै मनभित्रको खेलकुद इच्छा क्याम्पसमा आएर पोखियो। ‘०३४ सालमा हकी खेल्न थाल्यौं,’ उनले सुनाए, ‘त्यतिबेला मेहन्द्रसिंह थापा, रन्जित गुरुङ, चन्द्र गुरुङ स्पोर्टस् टिचर बन्यौं। सबै हकी खेल्न थालियो। क्याम्पसभित्रै मैदान बनाइयो। क्याम्पस गेट प्रवेश गरेलगत्तै बाटोको उत्तर तर्फ र अहिलेको फुटबल मैदानभन्दा दक्षिणतर्फ मैदान निर्माण गरियो। मैदानमा नियमित प्रशिक्षण हुन्थ्यो। टिचरसँगै विद्यार्थीको उत्सुकता थियो। गोरखपुर पुगेर क्रिकेट र हकीको ब्याट ल्यायौं।’ हकी खेलको विस्तार राम्ररी गरेपछि टेनिसलाई पनि उजागार गरियो। जर्ज जोन र मसँग मात्र -याकेट थियो।’ उनले सम्झिए, ‘कोर्ट बनाइयो। पछि नारायण कार्की, अशोक पालिखे, उमेश शर्मा आदि आकर्षित भए।’
०००
राजधानीपछि हरेक खेलकुद गतिविधि पोखरामा सञ्चालन हुन्छन्। राजधानीमा खेलिँदै आएको खेल अन्य सहरमा भन्दा पहिला पोखरामा भित्रिन्छ। त्यसको प्रवद्र्धन भएपछि मात्र मोफसलका सहरमा प्रवेश हुन्छ।

पोखरामा खेलिने खेलमध्ये हकी पुरानो खेलमा पर्छ। हकीको सुरुवात ०३४/३५ सालमा भएको हो। क्याम्पसमा केही प्राध्यापकले सुरुवात गरेपछि विद्यार्थीमा आकर्षण बढेको थियो। विद्यार्थीलाई समेत प्रशिक्षण दिएपछि ०३७ सालमा क्याम्पसभित्रै वार्षिकोत्सवका अवसरमा अन्तरसदनात्मक हकी, टेनिसलगायतका खेलहरू हुन्थे। फुटबलको क्रेजसँगै हकीको क्रेज पनि निकै थियो।

हकीलाई अझ विकास र विस्तार गर्न डा. गुरुङको नेतृत्वमा राष्ट्रिय प्रतियोगितामा गण्डकी अञ्चलको प्रतिनिधित्व भयो। पहिलो राष्ट्रिय खेल २०४० काठमाडौं, दोस्रो २०४२ पोखरा, तेस्रो वीरगन्ज र चौथो २०४४ हेटौंडामा भयो। उनको नेतृत्वमा गण्डकीले यी प्रतियोगितामा प्रतिनिधित्व गरेको थियो।

पोखरामा हकीको सुरुवात डा. वीरेन्द्रसिंह गुरुङले गरेका हुन्। उनले हकीको जग बसाल्न क्याम्पसभित्रै मैदानसमेत निर्माण गरे। ‘क्याम्पसभित्र बनाइएको मैदान नै एक मात्र हकी मैदान हो,’ उनी सम्झन्छन्, ‘त्योबाहेक पोखरामा अन्यत्र हकीका लागि मैदान छुट्ट्याइएको छैन।’ पोखरा रंगशालामा भौतिक पूर्वाधार तयार पार्न गुरुयोजना बनाइए पनि हकीका लागि भने मैदान छुट्ट्याइएको छैन। हकीको इतिहास जति गर्बिलो छ अहिले त्यो केवल मानसपटलमा मात्र। अहिले नियमित प्रशिक्षणसमेत हुँदैन।
०००
ठाउँले पाकिस्तान, जन्मले भारत र कर्मले नेपाली हुन् गुरुङ। डा. गुरुङको जन्म भारतको हिमाञ्चल प्रदेशको भाक्सु भन्ने ठाउँमा भएको थियो। सन् १९४१ मा जन्मिएका गुरुङका पुर्खा इन्डियन ब्रिटिस हुन्। कुमाउ गढवाल जित्दै अगाडि बढेको गोर्खाली फौज युद्धसँगै बस्ती बसाउँदै अगाडि बढ्यो। उनी जन्मिएको भाक्सु अहिले पाकिस्तानको अबटावादमा पर्छ। सन् १९४७ मा भारत स्वतन्त्र हुने क्रममा भाक्सु पाकिस्तानमा परेपछि गुरुङका अभिभावकहरू फेरि हिन्दुस्तान फर्किएका थिए। उनीसँगै चारभाइको जन्म भाक्सुमै भएको थियो। उनको परिवार हिमाञ्चल प्रदेशको भने कागँडा जिल्लामा बस्दै आएको छ। जहाँ १२ वटा गाउँ छन्। बाबाको पल्टन अझै पनि छ।

सात कक्षासम्मको अध्ययन उनको जन्मस्थान भाक्सुमै भयो। उच्च शिक्षा र कलेजको अध्ययन झारखण्डको राँचीमा पूरा गरे। कलेज अध्ययनको क्रममा उनी पनि भारतीय सेनामा भर्ती हुने प्रयासमा जुटे। सेनामा सबै परीक्षा सकेर आँखाको परीक्षणको क्रममा फालिए। त्यसपछि उनको आर्मी बन्ने सपना तुहियो। आखाँमा ‘कलर ब्लाइन्ट’ देखियो अर्थात रंग छुट्ट्याउन नसक्ने।

उनी भारतमै रहँदा माइली बहिनी विश्वविद्यालयमा पढाउँथिन्। उनकै बोलावटमा नेपाल प्रवेश गरे। नेपाल प्रवेश गर्दा उनको उमेर केवल २३ वर्षको मात्र थियो। युवावस्था र शिक्षित पनि। केही गर्ने मनभित्र थियो। अंग्रेजीसमेत बोल्न र लेख्न जान्ने भएपछि रोजगारीका लागि खासै समस्या भने उनमा थिएन। २०२१ सालमा नेपाल प्रवेश गरेपछि काठमाडौंको सिदार्थ वनस्थलीमा सहायक प्राध्यापक रहे। केही महिनापछि उनी विद्यालय प्रधनाध्यापकसमेत बने।

कलेजस्तरमै सिकेका थिए हकी, टेनिस। सिके पनि खेल्ने अवसर भने पाएका थिएनन्। मनभित्र मात्र कुण्ठित थियो। प्रधानाध्यापक हुँदैको अवस्थामा विद्यालयले विद्यार्थी र शिक्षकसहित पिकनिक जाने निधो भयो। पिकनिकको खर्च विद्यालयले व्यहो-यो शिक्षकहरूले पछि तिर्ने सहमतिमा। पिकनिक सकिएको केही समयपछि शिक्षकसँग पैसा मागियो। तर दिएनन्। नजिकका साथीभाइले मात्र दिए।

विद्यालयको पैसा असुल गर्न उनले शिक्षकको तलब कट्टा गरिदिए। असन्तुष्ट शिक्षकहरूले तलब कट्टा गरेको उजुरी दिए। ‘उजुरी दिएपछि दुईवटा घोडामा आएका सेनाले खामबन्दी चिठी थमाए। भित्र पढें, दरबारबाट पठाइएको रैछ,’ उनले विगत सम्झिँदै भने, ‘तत्कालीन विद्यालय व्यवस्थापक डा. त्रैलोक्यनाथ उप्रेतीसित छलफल गरें। उप्रेतीले राजीनामा दिन लगाए मैले दिएँ।’ सामान्य विषयलाई दरबारबाटै चिठी आएपछि एकपटक झसंग झस्किए उनी। ‘त्यतिबेला तलबसमेत किस्ताबन्दीमा दिन्थे,’ उनले भने।
०००
स्कुल पढाउँदा समेत नागरिकता थिएन। सबैभन्दा पीडाको क्षण थियो। नेपाली नागरिकताको अभावले पिल्सिँदै रहे। नागरिकताकै अभावमा विद्यालय छोड्नुप-यो। विद्यालय छाडेपछि उप्रेतीकै मातहतमा रहेर त्रिभुवन विश्वविद्यालयमा काम गरे। उप्रेती त्यतिबेला रजिस्ट्रार थिए। त्यतिबेलै नागरिकताका लागि फाराम भरे। उप्रेतीले भनिदिएपछि नागरिकता पाए। चार वर्ष काम गरेपछि नोकरी छोडिदिए। नोकरी छोडेकै साल २०२६ मा पोखरा आए।

हकीलाई अझ विकास र विस्तार गर्न डा. गुरुङको नेतृत्वमा राष्ट्रिय प्रतियोगितामा गण्डकी अञ्चलको प्रतिनिधित्व भयो। पहिलो राष्ट्रिय खेल २०४० काठमाडौं, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२ पोखरा, तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्ज र चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४४ हेटौंडामा उनको नेतृत्वमा गण्डकीले प्रतिनिधित्व गरेको थियो। २०५२ सालदेखि २०५६ सम्म क्याम्पस प्रमुख बनेपछि हकीको विकास र विस्तार बिस्तारै घट्दै गयो। पोखराको पृथ्वीनारायण क्याम्पसबाट सुरुवात भएको हकीले काठमाडौंमा भएको राष्ट्रिय हकी प्रतियोगितामा दोस्रो स्थानमा चित्त बुझाएको थियो।
०००
उमेर ढल्किएपछि रिटायरमेन्ट स्वाभाविकै हो। उनी अहिले खेल जीवन र प्राध्यापन जीवनबाट रिटायर्ड भइसकेको पनि दशक पुग्यो। जतिबेला सक्रिय थिए, त्यतिबेलासम्म पृथ्वीनारायण क्याम्पसमा पढाइ रहे। पढाइ रहँदा खेलकुदलाई पनि उचाइमा पु-याउने ध्येयलाई पूरा गरे। उनको रुचि पनि त्यस्तै थियो। पढाइसँगै खेलुकद। खेलकुदमा पनि विशेषगरी हकी, क्रिकेट, टेनिस र स्विमिङ। त्यसो त उनी १५ सय मिटर दौडका धावकको परिचयसमेत नभएको होइन। टेनिस खेल्न आफ्नै मामाले सिकाए। कलेज जीवनमा हकी र क्रिकेट जम्यो।

उमेर अहिले ७८ वर्ष पुग्यो। ६३ वर्षको उमेरसम्म उनले पृथ्वीनारायण क्याम्पसमा पढाइराखे। त्यसपछि निवृत्तिभरण हुँदै शैक्षिक क्षेत्रको पाइलालाई रोके। त्यसपछि पाइला बढ्यो खेलकुदतर्फ। उनी पोखरेली खेलकुदका पायोनियर हुन्। उनलाई सम्झनेहरू भन्छन्, ‘गुरुङ सरले खेलकुदमा गरेको योगदानले पोखरा रंगशाला कायापलट भएको छ।’ २०२६ सालमा पोखरा आइपुगेका गुरुङको पहिलो रोजाइ नै पृथ्वीनारायण क्याम्पस थियो। पढाउने नोकरीसँगै उनको पोखराको दैनिकी शुभारम्भ हुन पुग्यो।

भारतबाट आएका जर्ज जोनबाट २०१७ सालमा स्थापित पृथ्वीनारायण क्याम्पसको प्रमुखत्वको जिम्मेवारीसमेत डा. गुरुङले सम्हाले। उनी नारायणदत्त नेपालपछि क्याम्पसमा क्याम्पस प्रमुख बन्दै चार वर्ष बिताए। क्याम्पस प्रमुखको जिम्मेवारी टुंग्याएपछि उनले केही वर्ष क्याम्पसमै अध्ययापन गराउँदै उमेरको हदबन्दीसँगै बिदा लिए। उनी पढाउने गुरु मात्र भएनन्। क्याम्पसमा खेलकुदको पूर्वाधार अभियानकर्ताकै रूपमा परिचित भए। फुटबल मैदान, बास्केटबल कोर्ट, टेनिस कोर्टलगायतका पूर्वाधार निर्माण गरिदिए।

क्याम्पसकै दौरानमा उनले गौचरनको परिचय बनाइराखेको पोखरा रंगशालालाई पर्खाल घेराबन्दी गर्ने अभियानलाई सार्थकता दिए। उनकै अगुवाइमा २०६१ सालमा पोखरा रंगशाला पर्खालले घेरियो। सबै तह र तप्कासँगै स्वदेश र विदेशबाट आर्थिक सहयोग जुट्यो। जुटेको सहयोगबाट पूर्व र दक्षिणतर्फ ८ फिट अग्लो पर्खाल लगाइयो। जसले पोखरा रंगशाला गौचरनसँगै अतिक्रमणको चपेटाबाट जोगियो। पर्खाल घेराबन्दी पनि डा. गुरुङले पोखरा रंगशालाभित्रै आफूलाई मन पर्ने खेल क्रिकेटको मैदान निर्माण अभियानलाई पूरा गरेर छाडे।

अहिले जुन पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा पोखरा प्रिमियर लिग क्रिकेटको प्रादूर्भाव हुन पुग्यो। जसले पोखरालाई स्पोर्टस् टुरिजम सिटीको रूपमा विकास गर्ने महत्वपूर्ण टेवा दियो। अहिले खेलकुद र शैक्षिक क्षेत्र दुवैबाट उनले रिटायर्ड लिएका छन्। ‘डा. वीरेन्द्रसिंह गुरुङ जस्तो निस्वार्थ, स्वभिमानी, लाभपद नहेर्ने र कामप्रतिको दृढता र निष्ठावान् व्यक्ति कमै मात्र देखेको छु,’ पोखराकै अग्रज खेलकुदकर्मी एवं सहारा क्लब पोखराका संस्थापक अध्यक्ष तथा संगीतकर्मी बसन्त थकाली बताउँछन्।

प्रकाशित: २१ वैशाख २०७६ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App