१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

अनि म सत्यमोहन भएँ...

नागरिक नायक सत्यमोहन जोशीलाई साक्षात्कारका लागि पाटन दरबार क्षेत्रको मञ्चमा लैजाँदै नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल। तस्बिर: नागरिक।

उनको छेउमा उभिन्छु। उनी कुर्सीबाट उठ्छन्। महसुस गर्दैछु विस्तारै एउटा हार्दिकताले छोपिएको सूर्योदय भइरहेको छ। अत्यन्तै न्यानो र प्रिय।

‘नागरिक नायक’ सत्यमोहन जोशीलाई उनी बसेको कुर्सीबाट बिस्तारै मञ्चतर्फ डो-याउँदै गर्दाको सुखद् अनुभूतिको कुनै सीमा रहँदैन। एउटा सिंगो शताब्दीसँगै म पाइला चाल्न थाल्छु। घडीको टिक–टिक–टिकजस्तै। ‘म समय हुँ,’ मनमा यस्तै तरंग छन्। म समयसँगै हिँडिरहेको छु।

महिनाका हिसाबले शतायुमा प्रवेश गरेका छन् सत्यमोहन। यही वैशाख ३० गतेदेखि उनको परिचय फेरिने छ। यथार्थमै शताब्दी पुरुष। हामीले लेख्न थाल्ने छौं– सत्यमोहन जोशी, १००।

कुर्सीबाट उनी उठेपछि हात दिन्छु। त्यसपछि उनको पाखुरामा बिस्तारै आफ्नो हात राखेर अघि बढ्न थाल्छु। अहो, कस्तो सुखद् अनुभूति ! फूलजस्तै नरम। आशीर्वादले भरिएको छ त्यो क्षण।

उनलाई मञ्चमा पु-याउँदानपु-याउँदै पाटन कृष्ण मन्दिरको डबलीमा भेला भएका पाहुनाहरू एकैसाथ उभिन्छन्। एउटा समर्पणका निम्ति त्यहाँ सम्मान भइरहेको छ। एउटा सिंगो युग अभिनन्दित भइरहेको छ। मन्दिरमा आरति चलिरहेको छ। सफा र स्निग्ध साँझ। रंगीविरंगी उज्यालोले पाटन दरबार स्क्वायर छपक्क भएको छ।  एउटा मीठो सपनाजस्तो त्यो क्षण मनमा आइरहेको छ।

माइक उनको हातमा राख्छु। अर्को आफूले लिएर भन्छु– सय वर्ष पुगेपछि मानिस देवता हुन्छ। हामीकहाँ मानिसहरू यसै भन्छन्।

उनी मुस्कुराउँछन्। एउटा स्रष्टा सगरमाथा मेरो छेउमा मुस्कुराउँछ। मानिसहरू तालीले उनलाई स्वागत गर्छन्। यस्तो सुखद् क्षण जीवनमा विरलै अनुभव गर्न पाइन्छ। भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा अविराम सेवा गरेका सत्यमोहनले एउटै जिन्दगीमा नेपालको नोबेल पुरस्कार ठानिने मदन पुरस्कार पाएका छन्। दुई पटक एक्लै र एक पटक सामूहिक रूपमा।

पाटनमा जहाँ आजभन्दा सय वर्षअघि जन्मिए उनी, त्यही ठाउँमा उनलाई हेर्न मानिस उर्लिएका छन्। उनलाई सुन्न उत्सुक छन्। एउटा उमेरपछि मानिसले होस हराउँछ। क्लान्त देखिन थाल्छ। रोगहरूले डेरा जमाउन थाल्छन्।

तर, उनलाई देखेर मानिसहरू आल्हादित हुन्छन्। कसरी यस्तो आश्चर्य हुन सक्छ। हो, जापान लगायतका मुलुकमा दीर्घजीवन स्वाभाविक जस्तो भएको छ। ७०–८० वर्षको उमेर पुगेकालाई जापानमा अचेल ‘मिडल एज्ड’ भनेर काम पनि दिन थालिएको छ। ६०–६५ वर्षको उमेरमा अवकाश लिएर बस्ने हो भने बाँकी जीवनको कुनै सार्थकता हुँदैन।

सत्यमोहनका निम्ति भने कहिल्यै फुर्सदी भएर बस्नु पर्ने समय आएन। जीवन आफैंमा एउटा संस्था बन्न पुगेको छ। कृष्ण मन्दिरकै पछाडि एउटा साँगुरो गल्लीमा रहेको उनको घरमा जानकारीका निम्ति धाउने व्यक्तिहरूको कमी हुँदैन। यतिका धेरै मानिसलाई समय दिएर, कार्यक्रमहरूमा पुगेर र अरुलाई प्रेरणा दिएर उत्साहका साथ उनको जीवन अघि बढेको छ।

सत्यमोहनका निम्ति भने कहिल्यै फुर्सदी भएर बस्नु पर्ने समय आएन। जीवन आफैंमा एउटा संस्था बन्न पुगेको छ। कृष्ण मन्दिरकै पछाडि एउटा साँगुरो गल्लीमा रहेको उनको घरमा जानकारीका निम्ति धाउने व्यक्तिहरूको कमी हुँदैन। यतिका धेरै मानिसलाई समय दिएर, कार्यक्रमहरूमा पुगेर र अरूलाई प्रेरणा दिएर उत्साहका साथ उनको जीवन अघि बढेको छ।

शतायु जिन्दगीका सूत्रबारे उनलाई धेरैले सोधेका छन्। जति सुने पनि पुग्दैन। सम्भवतः उनलाई सबैभन्दा बढी सोधिएको प्रश्न यही हुन सक्छ। एउटा बालगीतको प्रसंग  सुनाउँछन्– जब पुग्यो एक, भुइँमा खुट्टा टेक, जब पुग्यो दुई, आऊ मेरा बुई... आदि।

जब मानिस ५० वर्ष पुग्छ आयुसँगै समस्या देखिन थाल्छन्। जोशी रमाइलो पाराले भन्न थाल्छन्– जब पुग्यो ५० पेटमा बतास, जब पुग्यो ६० हातमा लाठी, जब पुग्यो ७० हिँड्दाखेरि लत्तरी, जब पुग्यो ८० कुनामा बसी, जब पुग्यो ९० हब्बे न कब्बे, जब पुग्यो सय यमराजको भय।

प्रायः यसै भन्छन् मानिस। तर, सत्यमोहनका हकमा यो लागु हुँदैन। पाँच÷छ वर्षअघि उनी एक पटक बिरामी परेका हुन्। त्यो बेला उनको उपचार वयोधा अस्पताल बल्खुमा भएको हो। संयोगले उनी अस्पतालमा घर फर्कने दिनमा म पनि संयोगले पुग्छु। सायद जीवन यस्तै अनेकन् संयोगहरूको पुलिन्दा हो।

उनी उपचारपछि घर फर्कने बेलामा अस्पतालमा देखिएको महोत्सवमय वातावरण आँखामा झल्झली छन्। उनी घर फर्केपछि फेरि सुरु भयो उही सक्रियता। सबैका सत्यमोहन। सबैतिर सत्यमोहन। उनी गएका अनेकन् कार्यक्रममा उनलाई सुनेको छु। प्रत्येक पटक उनी यस्ता जानकारी दिन्छन्, जुन धेरैका निम्ति आफ्नो बुता बाहिरका हुन्।

स्मरण शक्ति र प्रस्तुतिका बेजोड शिखर हुन् उनी। प्रत्येक ठाउँमा नयाँ प्रसंग ल्याउन सक्नु आफैंमा ठूलो प्रतिभा हो। अनि ठाउँ र प्रसंगअनुसार आफूलाई प्रस्तुत गर्न सक्नु झनै महत्वपूर्ण पक्ष हो। कार्यक्रममा पुगेका बेला पछाडि फर्केर ब्यानर हेर्दै बोलेका दृश्य देखिरहेका हाम्रा निम्ति सत्यमोहनका अभ्यास कम्ती लोभलाग्दा छैनन्।

मनस्थिति ठीक राख्ने हो भने उमेरसँगै आउने सबै समस्या हल भएर जान्छन्। अनि सुरु हुन्छ मानिसको सत्यमोहन जस्तो जिन्दगी। अचेल उनी आफ्नो जीवन दर्शनलाई ‘जुरेली चरी’सँग दाँज्छन्। ‘के खायो होला, के लायो होला वनको चरीले’ उनी प्रसंग  कोट्याउँछन्। भरेको चिन्ता नगरेकै कारण उनको जीवन सहज भएको हो। कस्तो सहज ‘जुरेली दर्शन’।

दुई–चार कृति लेखिसकेपछि, एक–दुई काम गरिसकेपछि धेरैले भन्ने गरेको सुनिन्छ– मलाई देशले केही दिएन। सत्यमोहनले कहिल्यै भनेको सुनेको छैन– मैले यो पाइन, त्यो पाइन। धन्य ललितपुर महानगरपालिका जसले उनको महत्तालाई बुझ्यो। वर्तमान मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्याल निर्वाचित भएर आउनासाथ सत्यमोहनलाई एउटा गाडी र सुरक्षा गार्ड दिइएको छ। नगरपालिकाले गरेको यो सत्कार्यको सबैले प्रशंसा गरेका छन्।

महानगरपालिकाले गाडी दिनुअघि पनि उनको गति कम रहेन। जहाँसुकै उनी हिँडेरै पुगे। जहाँसुकै हिँडेर पुग्नु। जे मिलेको आनन्दसँग खानु उनको जीवनको सबैभन्दा सुखद् पक्ष हो। साँझ घरमा स्थानीय ऐला अर्थात् रक्सीको थोरै चुस्की लिनु पनि उनको जीवनसँगै जोडिएको छ। उनको यस्तै सादा जीवनले यहाँसम्म यात्रालाई ल्याइपु-याएको छ।

‘नागरिक नायक’ को सम्मान प्रदान गरेपछि मेयर चिरिबाबुले गरेको घोषणाले सत्यमोहनलाई एउटा जीवित सम्पदाका रूपमा ग्रहण गरेको देखिन्छ। उनी एक सय वर्ष प्रवेश गरेको वैशाख ३० गतेदेखि वर्र्षैभरि उनको जन्मोत्सव मनाउन कार्यक्रम तयार पारिएको छ। उनले सबैलाई जन्मोत्सवमा आउन त्यही मञ्चबाट निमन्त्रणा पनि दिएका छन्।

कुनै पनि मानिस मरेपछि यति महान् हुनुन्थ्यो र उति योग्य हुनुहुन्थ्यो भन्ने कुराको के अर्थ रहन्छ र ! चिरिबाबुले सत्यमोहनजस्ता महान् व्यक्तिलाई जिउँदो हुँदै सम्मान गर्नुपर्ने धारणा राख्दा करतल ध्वनिका साथ उपस्थित व्यक्तिहरूले समर्थन गरेका छन्।

चिरिबाबुले जीवितैमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गरिरहँदा अमेरिकी लेखक मिच ओल्बमको ‘ट्युस्डेज विथ मोरी’ नामक पुस्तकको सम्झना हुन्छ। केही वर्षअघि पढेको उक्त पुस्तकबारे नागरिकमै लेखेको पनि हुँ। मिचले आफ्ना समाजशास्त्रका प्राध्यापक मोरी स्वार्जले बिस्तारै आफ्नो शरीरका अंगले काम छाडेपछि पटकपटक भेटेका आधारमा लेखेको पुस्तकमा जीवनको सार्थकता पुष्टि गर्न खोजिएको छ। प्राध्यापक  मोरीले आफैं आफ्नो अन्तिम संस्कारका लागि साथीहरू समेत बोलाउँछन्, तिनले आफू मरेपछि उल्लेख गर्ने प्रसंग र सम्झना त्यही सुन्छन्।

सत्यमोहनको जन्मोत्सव वर्षैभरि मनाउने योजनाले उनलाई थप ऊर्जा दिनेछ। संयोगले त्यो कार्यक्रमको थालनीभन्दा केहीअघि हामीले उनलाई ‘नागरिक नायक’को सम्मान अर्पण गर्न पाउँदा अत्यन्तै खुसी भएका छौं। समारोहमा सत्यमोहनले हामीलाई दिएका आशीर्वचनले पनि थप ऊर्जा र हौसला दिएका छन्।

सत्यमोहन सामाजिक सद्भाव र भाषिक समन्वयका सेतु पनि हुन्। नेवार समुदायका जोशीले बाल्यकालमा नेपाली भाषामा पकड नभएका कारण पटकपटक स्कुलमा कुटाइ खाएको प्रसंग उल्लेख गर्छन्। उनी कालान्तरमा नेपाली भाषाको उद्गमथलो जुम्लाको सिँजा उपत्यकामा अध्ययनका निम्ति पुग्छन्।

२०२७ सालमा जुम्लामा गएर सत्यमोहनले गरेको अध्ययनको सिलसिला त्यहीँ टुक्रिएको छ। अरू कसैले त्यसमा इँटा थप्नुपर्ने आवश्यकता महसुस गरेका छैनन्। उनी त्यस्तो बेलामा जुम्लामा पुगेका थिए, जतिबेला यातायातको कठिनाइ भोग्नु पर्छ। अध्ययनको जुन विषय तय गरिएको छ, त्यसका निम्ति सहयोगभन्दा निरुत्साही पार्नेको भीड छ। तत्कालीन कर्णाली अञ्चलाधीश बद्रीविक्रम थापाले त उनलाई केही दिन बसेर फर्कन पनि सुझाउँछन्। केही राम्रो गर्ने चस्का जीवनमा परेपछि फर्किन कहाँ सकिन्छ र ?

दुई–चार कृति लेखिसकेपछि, एक–दुई काम गरिसकेपछि धेरैले भन्ने गरेको सुनिन्छ– मलाई देशले केही दिएन। सत्यमोहनले कहिल्यै भनेको सुनेको छैन– मैले यो पाइन, त्यो पाइन।

सत्यमोहनले साथमा लिएर गएका बिहारीकृष्ण श्रेष्ठ, चूडामणि बन्धुसहित पाँच जना भएर पाँच ठेली कृति सिर्जना गरेका भए पनि यो अध्ययन परम्पराले निरन्तरता पाउन सकेको छैन। संस्कृति, इतिहासजस्ता विषयमा विद्यार्थीको आकर्षण बढेको छैन। जसले संस्कृतिको कुनै औपचारिक अध्ययन नगरे पनि त्यसमा निरन्तर लागेका कारण संस्कृतिविद्को उपमा पाएका छन्। काठमाडौं विश्वविद्यालयले त उनलाई यसमा ‘महाविद्यावारिधि’ नै दिएको छ।

स्मृतिलाई ताजा राख्न म सत्यमोहन बन्न चाहन्छु। तिथिमिति र घटनालाई कस्तो मजाले सम्झन सकेका ? २०७२ वैशाख १२ को भूकम्प लगत्तै पनि मैले उनलाई भेटेको छु। किशोरवयमा रहेका उनले १९९० सालको भूकम्प पनि अनुभव गरेका छन्। भूकम्प गएका बेला उनले रुखहरू नाचेको देखेर रमाइलो मानेको र पछि मात्र भूकम्प भन्ने थाहा पाउँछन्। पछि आफ्नो घरमा आउँदा सबै घर भत्केका दृश्य उनका आँखामा ताजै छन्।

दीर्घ जीवन अनेकन् घटनाक्रमको साक्षी बन्ने अवसर हो। जसले ठूला भूकम्प मात्र देखेका छैनन्। त्योभन्दा ठूल्ठूला राजनीतिक परिवर्तनका भूकम्पको पनि साक्षी बसेका छन्। राणाकाल, प्रजातन्त्रकाल, पञ्चायतकाल, पुनः प्रजातन्त्रकाल, फेरि सक्रिय राजतन्त्र र गणतन्त्रसमेतका जीवित दस्तावेज हुन् उनी।

अनुभवको आलोकमा उनका कृति प्रकाशित छन्। ५० भन्दा बढी कृति समय सदुपयोगबाट मात्र निस्किन सक्छन्। धैर्य कति भने हामीसँग कार्यक्रममा तीन घन्टाभन्दा बढी चुपचाप बस्न सकेका छन्। न उनलाई पटकपटक उठ्नु परेको छ। सबै गतिविधिलाई उत्सुकतापूर्वक अवलोकन पनि गरेका छन्।

यसपटक ‘नागरिक नायक’ चयनको सिलसिलामा हामी धेरै पटक उनलाई भेट्छौं। कहिल्यै उनमा निराशा छैन। जहिल्यै उत्साह छ। केही दिनअघि उनलाई भेट्न फोनमा समय माग्छौं। रुघाले सताए पनि उनी तरोताजा भएर बसिरहेका छन्। एक जना चिनियाँ पत्रकारलाई संस्कृतिबारे जानकारी गराइरहेका छन्।

फेरि अर्को दिन त्यहाँ पुग्दा पनि उसै गरी जिज्ञासुबाट घेरिएका छन्। उनी उत्सुकता। उनी  सहयोगी भावना। एउटा समुद्र। जसले जत्रो भाँडो लिएर गए पनि हुन्छ, त्यही भाँडो अनुसारको ज्ञान मिल्छ।

फेरि फर्कन चाहन्छु त्यही समयमा जहाँ सत्यमोहन मेरा प्रश्नको जवाफ दिन तयार छन्। सबै प्रश्नमा सहज जवाफ छ। एउटा सय वर्षको मानिसले त्यसरी बोलिरहँदा यथार्थमै जीवनको सार्थकता पुष्टि हुन्छ। जीवन कति सुन्दर छ भन्ने बुझ्न सत्यमोहन बुझे हुन्छ। ‘खै यो जिन्दगी के जिन्दगी ?’ भन्नुभन्दा यो जिन्दगी सत्यमोहन जिन्दगी बन्नुमा सार्थकता छ।
उनीसँगको अन्तक्रिया सकिएपछि ढिलो गरी घर पुग्छु। मनमा उनीसँगको त्यो सान्निध्यले मन पुलकित छ। आँखा बन्द गर्छु। जीवन सत्यमोहनमय बन्छ। जीवनमा सत्य साक्षात्कार हुन्छ।

प्रकाशित: १४ वैशाख २०७६ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App